बिहानैदेखि आँखाको नानी दुखिरहेको थियो। अफिसबाट कतिखेर घर गएर आँखा चिम्म गरेर पल्टिन पाइन्छ भनेर सोचिरेहको थिएँ। त्यही भएर घर जानासाथ फोन टेबलमा राखेर निदाउन प्रयास गरेँ। तर मरिगएँ निद्रा लागेन। फोन चलाउन मन थियो तर आँखा खोलेर हेर्न सक्ने आँट आएन। निदाउन प्रयास गर्दै थिएँ मोबाइलमा नोटिफिकेसन बजिरह्यो- टुङ टुङऽऽऽऽ
कसैले ग्रुप म्यासेजमा केही पठायो होला भनेर वास्तै नगरी सुत्न प्रयास गरेँ। तर मरिगए निद्रा परेन। ढिला सुत्ने बानी परेको निदाउन के सकिन्थ्यो र!
ढल्किरहेकै थिएँ फेरि लगातार नोटिफिकेसन बज्यो- टुङ टुङ टुङ टुङ टुङ टुङऽऽऽऽ
लगातारको नोटिफिकेसनको आवाजले म झस्किएँ। किनकी त्यति राति मेरो फोनमा नोटिफिकेसन आउँदैन थियो। निद्राले लठ्ठिन लागेको आँखा खोल्न बाध्य भएँ।
फोन खोलेर नोटिफिकेसन हेरेँ- म्यासेजभन्दा अगाडि नाम देखेर जिल परें।
वर्षौंदेखि नबोली बसेको साथीले लगातार म्यासेज पठाएको रहेछ। के म्यासेज पठाएको रहेछ भनेर हेरेँ। लामो म्यासेजमा मलाई सान्त्वना दिइएको थियो। जीवनमा हुने उतारचढावबारे बुझाइएको थियो। मानसिक स्वास्थ्यबारे जानकारी दिएर सम्झाउने प्रयास भइरहेको थियो। मेरो हालचालबारे सोध्दै, आजभोलि केमा व्यस्त छौ भन्दै सोधिरहेको थियो। सात समुन्द्रपारि बसेर मलाई सम्झाउने, बुझाउने र बुझ्ने प्रयास गर्दै थियो ऊ।
४-५ मिनेट लगाई पूरा म्यासेज पढेपछि झन् चकित भएँ। सुरूमा त नोटिफिकेसनमा उसको नाम देख्दा भएकी थिएँ। पछि उसको म्यासेज पढेपछि रनभुल्लमा परी मनमनै सोचेँ- यतिका वर्षपछि म्यासेज गर्दा पनि किन यस्तो म्यासेज पठायो?
तर त्यसबारे म अनविज्ञ थिएँ। धेरै वर्षपछि कुराकानी भएको सुरूमै प्रश्न तेर्स्याउन उचित लागेन।
‘अल गुड, तिम्रो के छ, के गर्दैछौ’ भनेर म्यासेज पठाएँ।
तुरून्तै जबाफ फर्कायो- मेरो नि ठिक छ। कलेज, काम त्यस्तै त हो नि।
‘विदेशमा त्यस्तै त हो नि’
‘अँ त्यस्तै छ।’
वर्षौंपछि कुरा गरेको भएर होला अहसज महसुस भइरहेको थियो। के कुरा गर्ने भनेर कुरा आएन। त्यो म्यासेजबारे प्रश्न गरूँ कि नगरूँ दोमन भयो। जेसुकै होस् गर्छु भन्ने मनसाय बनाएर कुरा गर्न थालेँ।
‘के हो तिमीले त बरू विदेशमा गएर गाडी लिइसकेछौ। हप्तैपिच्छे मस्त पार्टी, चिल छ नि ब्रोलाई’ भन्दै जिस्काएँ।
‘अँ छ नै भन्नुपर्यो।’
कुरा खोल्न मन लागिहाल्यो।
सोधेँ- अघि तिमीले किन त्यस्तो म्यासेज पठाएको। त्यही पनि एक्कासि?
सिधै फोन गर्न मिल्छ भनेर सोध्यो।
यति राति फोन किन नि? भनेर जिज्ञासा राखेँ।
‘कति बज्यो र?’
‘सवा १२’
‘उठाउन मिल्छ भने गर्छु नि हुन्न र?’
८ वर्षपछि एक्कासि कुराकानी भइरहेको साथीलाई नाइँ भन्न सकिनँ। मैले आफैले फोन गरेँ।
सुरूमा त फर्म्यालिटिका कुराकानी भए। त्यही पढाइ कस्तो हुँदैछ, केमा मास्टर्स गरिरहेको? घरपरिवारमा सबैको खबर के छ। तर बीचमा ठट्टा गर्दै बिहे गर्न नेपाल कहिले फर्किने भनेर पनि सोधेँ।
उसले पनि त्यस्तै कुारहरू गर्यो। र अन्तिममा तिमीले किन पूरै कपाल काटेको? भनेर प्रश्न गर्यो।
‘यत्तिकै काटेको’ भनेर जबाफ दिएँ।
तर उसले पत्याएन। मैले उसलाई विश्वास दिलाउन सकिनँ।
‘अस्ति नै स्न्याप पठाउँदा तक्लु फिल्टर प्रयोग गरेको होला भनेर सोचेँ। तर आज फेसबुकमा बोइज कट कपाल राखेको देखेपछि पो साँच्चै कपाल खौरिएको रहेछ भनेर थाहा पाएँ। के भएर काटेको? घरमा सबै ठिक छ नि?’
‘कपाल काट्न केही हुनै पर्दैन नि। नयाँ स्टाइल हो के स्टाइल। त्यत्रो ठूलो देशमा गएर नि स्टाइल भन्ने कुरा अहिलेसम्म बुझ्न सकेनौ है,’ भन्दै जिस्काएँ।
तर ऊ गम्भीर भयो।
‘अरूले भनेको भए त पत्याउँथेँ। तर तिम्रोमा म पत्याउन्न। तिमीलाई नचिनेको हो र!’
उसले जिद्दी गर्न थाल्यो।
‘तिम्रो जिद्दी गर्ने बानी अहिलेसम्म छुटेनछ है!’
‘कुरा नफेरी भन खुरूक्क। कि त भन्न मिल्दैन भन। म सोध्दिनँ नत्र भने किन हो भन।’
‘तिमीले के सोच्यौ मलाई थाहा छैन। तर यतिकै काट्न मन लागेर काटेको हो।’
‘धेरै नाटक नपार, स्कुलमा हुँदा जहिले पनि लामो कपाल भएको साथी देखाउँदै ‘मेरो कपाल कहिले त्यत्रो होला भन्दै’ पिन्चे मुख बनाउने को थियो कुन्नि? मैले त नामै बिर्सिएँ। तिमीलाई त याद होला नि है! ए अझ किरणको व्रतबन्धको पार्टीमा लामो बनाउन कपाल ड्यामेज हुन्छ भनी डराउँदै कपाल स्ट्रेट त मैले गरेको थिएँ। अनि फोटोमा लामो कपाल देखियो भनेर पनि मै मख्ख परेको थिएँ। हैन त?’
स्कुल पढ्दाका दिनहरू सम्झिँदै उसले पेलिहाल्यो। म उसको कुरा एकोहोरो सुनेर बसेँ।
‘त्यस्तो कारण त केही छैन। तर कपाल काटेको बहानामै सही वर्षौंपछि तिमीले सम्झियौ, खुसी लाग्यो।’
‘त्यस्तै भन्छौ भने त ठिक छ। तिमीलाई बिर्सिनुपर्ने कुरै नै के छ र। त्यो त समय नै त्यस्तै भएर हो। ममीले पनि बेलाबखत सोधिरहनुहुन्छ तिम्रोबारेमा। छोटो कपाल काटेको फोटो देखेसी म्यासेज गर्दा अर्कै सोच्लौ कि भन्ने लागेको थियो। तर नसोधी बस्न सकिनँ। माइन्ड नगर ल। तर तिमीलाई सानो कपालमा कस्तो अजिब देखिँदो रहेछ। सायद कहिल्यै नदेखेको भएर होला।’
‘त्यसमा माइन्ड गर्ने कुरा नै के छ र? आइ टुक इट इजी’
‘यो भन्ने बानी अझै छुटेको रहेनछ है। इजी भन्दै अनेकथरि सोच्दै बस्ने त्यो त तिम्रो आदत नै हो नि उहिलेदेखिको।’
‘भनेसी मैले किन कपाल काटेँ भनेर तिमीलाई खुल्दुली लागेछ त्यही भएर यत्रो वर्षपछि म्यासेज गरेको रहेछौ हैन?,’ मैले जिस्किँदै भनेँ।
‘त्यस्तो नसोच न’
‘ओके केही छैन। साह्रै ढिला भइसक्यो म सुतेँ है, बिहान चाँडै उठ्नु छ। ओके टेक केयर एण्ड ह्याभ फन, बाई।’
त्यसपछि सोचेँ- मेरो छोटो कपाल देखेर म्यासेज र फोन गर्ने पहिलो व्यक्ति ऊ थिएन। यसरी मैले छोटो कपाल काटेको फोटो फेसबुकमा राखेपछि हप्ता दिनसम्म पनि फोन र म्यासेजहरू आएका थिए। के छ हालखबर, सबै ठिक छ नि भनेर वर्षौंसम्म नसोधेका आफन्त, साथीभाइ र चिनजानकाहरूले पनि के भएर कपाल काटेको भनेर जबाफ पाउन म्यासेज र फोन गर्थे।
मेरो एउटै उत्तर हुन्थ्यो- यसै काटेको। तर कसैले पत्याउन्नथे।
एक जना काकीले फोनमा- बाआमा जिउँदै हुँदा पनि पूरै कपाल काटेको छ, छोरीलाई कति छाडा छाडेको समेत भनिन्।
कसैले व्यंग्य गर्दै कलियुगमा छोरी मान्छेले कपाल खुइल्याउने, छोराले पाल्ने रहेछन्। बाँच्न मात्र पर्दो रहेछ अनेकथरी देख्न पाइँदो रहेछ भने। त कसैले के।
अनि कलेज पढ्दाको एउटा घटना याद आयो।
त्यतिबेला कक्षाका दुई जना साथीले कपाल खौरिएका थिए। एक जनाले मेडिकल कारणले खौरिएकी थिइन् भने अर्की एक साथीले अन्य कुनै कारणले।
मेडिकल कारणले कपाल काटेकी साथीलाई कसैले केही भनेन। तर अर्को साथीलाई सबै गुरूहरूले किन कपाल काटेको, छोरी मान्छेले यसरी कपाल काट्न हुन्न भन्दै पुरातनवादी सोच थुपार्दै प्रवचन दिएको उसले सुनाएकी थिई।
त्यसमाथि स्कुलमा गुरू र गुरूआमाहरू दिनहुँ भेटिने हुँदा भेट्दैपिच्छे कपालकै कुरा निकाली उहीँ पुरातनवादी सोच थुपारेर मानसिक तनाव दिने गरेको उसले सुनाउँथी।
कपाल पलाएर अलि लामो नभएसम्म उसले सधैं एउटै गुनासो पोख्दै भन्थी- त्यतिबेला आफ्नो इच्छाले कपाल काटेँ। आफ्नो कपाल काट्दा घरपरिवारमा कसैलाई कुनै समस्या छैन तर गुरूआमाहरूले जहिले भेट्दा पनि उनीहरूको सोच थुपारी प्रवचन दिएर टर्चर नै दिइसके। हामीलाई पढाउने नाम चलेका स्कुलका गुरूहरूको त यस्तो सोच छ भने अरू ठाउँमा के छ होला। के अपेक्षा गर्नू? आजभोलि त कलेज पनि आउन मन लाग्दैन।
त्यतिबेला उसलाई गुरूहरूले गरेको व्यवहार देखेर कक्षामा हामी सबैलाई एकदमै रिस उठ्थ्यो। गुरूहरूको व्यवहार देखेर हामी आफैं मुर्मुराउनु बाहेक कुनै विकल्प थिएन।
आजभोलि त्यतिबेलाको कुरा झलझली याद आउँछ। त्यतिबेला उसले आफूले निर्णय गरी कपाल काट्दा पनि ती गुरूहरूका कारण कति धेरै मानसिक तनाव भोग्न बाध्य भएकी रहिछ।
अनि आज म सोच्न बाध्य भएँ- के एक महिलाले स्वनिर्णय गरी आफ्नो इच्छा अनुरूप कपाल काट्न नपाउने? आफूले काटेको कपालको स्पष्टीकरण दिँदै हिँड्नुपर्ने? कपाल पाल्दा पाइलैपिच्छे पुरूषले स्पष्टीकरण दिन पर्दैन भने किन महिलाले चाहिँ दिँदै हिँड्नुपर्ने बाध्यता! अनि आफ्नो कपाल काट्दा समेत यो समाज, नातागोता र इष्टमित्रले के भन्छन् भनेर कहिलेसम्म सोच्दै हिँड्नुपर्ने?