के भनेर लेखौँ? के भनेर बोलौँ? अनि के सोचेर सम्झिऊँ? किनकि समयभन्दा पनि शक्तिशाली बनेर आयौ तिमी। अनि समय जस्तै शक्तिशाली भएर हरायौ पनि।
साँच्चिकै मलाई तिम्रो याद खुब आउँछ। साँझ नपर्दिए जस्तै हुन्छ। मन आकुल व्याकुल हुन्छ। हुनै नसक्ने गरी मुटुमा केही कुराले थिचेको जस्तो हुन्छ। स्वर सम्राट स्व. नारायण गोपालले ‘छाती माथि ढुंगा राखी हाँस्नु पर्या छ’ भन्ने गीत त्यसै गाएका त होइनन्। साँच्चिकै सारै गाह्रो हुन्छ। छिनछिनमा बोल्न अनि देख्न मन हुने यो मन खै कसरी सम्हालिएको छ मै अचम्म पर्छु।
तिम्रा बातहरू सुनेर निदाउने बानी पारेकी थिएँ। त्यसैले होला आजभोलि निद्रा पनि पर–पर भाग्छ मदेखि। बेलाबेला एक्लै पर्छु, निकै आत्तिन्छु। सम्हाल्ने तिमी भएर होला सायद। अनि फेरि आफैलाई सम्झिन्छु र सम्हालिन्छु।
कहिलेकाहीँ अचम्म लाग्छ, तिमीलाई मैले गरेको प्रेमदेखि। अथाह प्रेम गरेकी थिएँ भनौँ या गर्छु भनौँ तर तिमीलाई जसरी चाहेको छु, सायद यसरी कसैले कसैलाई चाहन्न होला। हुन त आफूले गरेको माया सधैँ आफूलाई खास नै लाग्छ।
तिमीलाई म कति माया गर्छु भनेर कसरी भनौँ या कुन शब्दमा भनौँ? तिमीलाई मैले यसरी चाहेकी थिएँ कि तिमीसँगको मनमुटाबपछि फेरि त्यो प्रेमका गल्लीहरूमा कदम राख्ने हिम्मत जुटाउन सकेकी छैन। तिमीसँग भिज्दै हिँडेका बाटोहरूलाई नकार्न सक्ने हिम्मत जुटाउन सकेकी छैन। ल आफै सोच। म त आफूलाई भुलाएर तिमीमा हराएकी मान्छे हुँ। तिमी अन्दाज पनि लाउन सक्दैनौ तिमीसँगको मनमुटाबपछि मेरो हाल कति बेहाल भएको छ!
मलाई थाहा छ तिमी फर्केर आउने छैनौ र मलाई यो पनि थाहा छ, म पर्खेर बस्ने छैन। मबाट हामी हुने आस न तिमीलाई छ न मलाई नै। तैपनि अझै तिमीप्रतिको प्रेम उस्तै छ, त्यस्तै आकाशको आकार हिजो र आज छ। तिमी मबाट किन टाढा भयौ? मेरो मायामा के कमी थियो? या ममा के कर्मी थियो? कि म तिम्रो सामीप्यमा उम्रिन योग्य थिइनँ? मलाई थाहा छैन।
टाढिनुको कारण के थियो? तिम्रो मन भरियो या समय फेरियो या समय सँगसँगै तिमी फेरियौ? तिमी बद्लिए जस्तै म किन बद्लिन सकिनँ? एउटै समय र परिस्थितिबाट गुज्रिएका हैनौँ र हामी? तिम्रो मप्रतिको प्रेम मर्यो त? मेरो तिमीप्रतिको प्रेम किन बेहद बढ्यो? प्रेम त उस्तै हुन्छ, हैन र? यस्ता अनगिन्ती सवालहरू छन् जसको मलाई कुनै जवाफ चाहिँदैन। किनकि म यो प्रश्नहरूमा आनन्द भेट्छु, सुकुन् महसुस गर्छु। किनकि सवाल जवाफहरूमा तिमी छौ, तिमी जोडिएका हौ, तिमी र हामी हुँदाहरूका पल मिसिएका छन्।
कहिलेकाहीँ छुट्टाउन नै सक्दिनँ, तिमीसँग बिताएका यादहरू सम्झेर खुसी हुँ या तिमीसँगको बिछोड पछिको आफ्नो हाल सम्झेर दुखी हुँ? तिमीसँग एक पटक बोल्न र सोध्न मन छ। तिमीसँग टाढिँदा जति मलाई कठिन छ, के त्यति नै तिमीलाई छ? बस् यसको जवाफ मलाई पाउनु छ।
मनभरि हजारौँ कुराहरूले मलाई अल्झाइरहेको छ। बेलाबेला सबै ठिकै जस्तो लाग्छ, फेरि छिन भरमै मुटु काम्न थाल्छ। तिमीसँग नबोले नि तिमीलाई सोच्न कत्ति कम भएको छैन। कति तिमीसँग झर्की बसेँ, घुर्क्याउन तिमीसँग तर्की बसेँ तर पनि यादहरू निकै नजिक भए। जति नै टाढा जाऊ, यादहरू टाढा नहुने रहेछ। दूरी बढे पनि मन निकै नजिक भयो। अझै भनौँ त थप माया बढेर आयो।
म तिमीलाई नसम्झिऊँ कसरी, जब–जब सास फेर्छु तिमीलाई सम्झिन्छु। मुटु चलेको महसुस गर्छु, तिमीलाई सम्झिन्छु। आकाशमा हेर्छु लाखौँ तारा देखिन्छन् अनि म तिमीलाई सम्झिन्छु। खुसी होस् या दुःख, म तिमीलाई सम्झिन्छु। सायद मलाई तिम्रो लत लागेछ क्यारे! लत पनि किन नलागोस्; केही समयको लागि सही तिम्रो छेउ बसेको थिएँ, भारी मेरो शिर तिम्रो काँधमा बिसाएको थिएँ। अनि मेरो लागि समय दिएको जहाँ म खुलेर बात गर्न सकेकी थिएँ। मनका कुण्ठाहरू पोख्न सकेकी थिए। भावनाहरू पोख्न सकेकी थिएँ।
मेरो आत्तिएको मनलाई नअत्त्याउन कोसिस गरेका थियौ। मेरो नजिक बसी उपहार स्वरूप मेरा तारिफ गरेका थियौ। मलाई प्रेमले बोलाएका थियौ। ल तिमी आफैले जवाफ देऊ, म कसरी बिर्सिऊँ? मेरा रातका ती रंगिन सपनाहरू तिम्रै हुन जस्तो लाग्थ्यो। म कसरी टाढा हुन दिऊँ ती संगीत जसले मलाई पलपल तिम्रो आभास गराइरहन्छ। कसरी बिर्सूँ ती स्पर्श साँच्चै अद्भुत र संसार बिर्साउने थिएँ।
मलाई म हुनुको खुसी यसरी मिल्छ सोचेको पनि थिइनँ। मायाको सागर यति धेरै गहिरो हुन्छ, मैले कल्पना पनि गरेकी थिइनँ। माया साँच्चै संसार बिर्साउने हुने रहेछ, ल म कसरी बिर्सूँ तिम्रो त्यो निधार चुमेको अनि करिबदेखि तिमीलाई महसुस गरेको? कसरी बिर्सूँ तिम्रो त्यो स्पर्श?
मलाई थाहा नै थिएन बिछोडका पलहरू यति नमिठा हुन्छन् भनेर। मैले सोचेकी पनि थिइनँ कि वियोगमा मन यति रुन्छ भनेर। के तिमीलाई मेरो कमीको महसुस हुन्न होला र अब? के तिमीलाई सम्बन्ध जोगाउने ख्याल एक पटक पनि आएन? सायद तिमीमा यति साहस छ कि तिमीलाई मलाई भुल्न कुनै कठिन नै लागेन! तर म तिमीलाई यतिकै पनि सम्झिन्छु, यत्तिकै माया गर्छु पनि।
सुन, यदि कुनै दिन तिमीलाई फुर्सद मिल्यो भने आँसु झार्दै तिम्रा लागि लेखिएका मेरा यी एक–एक शब्दहरू पढ्नू, तिमीलाई आफैसँग प्रेम हुनेछ। तिमी आफ्नो सुन्दर र फरक कहानी भेट्ने छौ, मेरा यी लेखहरूमा।
म पूरै आत्मविश्वासका साथ भन्न सक्छु कि तिमीलाई मैले जति माया अरू कसैले गर्न सक्दैन। मेरो जस्तो प्रेम अन्त तिमीले कतै पाउने छैनौ।
कुनै दिन मलाई जस्तै तिमीलाई पनि मेरो खुब न्यास्रो लाग्नेछ। मजस्तै तिमीलाई पनि बोल्न मन लाग्नेछ। कुनै दिन जब मलाई महसुस गर्ने छौ, त्यो दिन सोच्ने छौ- के तिम्रो लागि बिछोड त्यति सहज थियो र? कुनै दिन तिमीलाई पनि मेरो एक झलक हेर्न नपाएर उदासीने छन् तिम्रा आँखाहरू तर म तिम्रो साथ हुने छैन अनि आफैले आफैलाई सम्हाल्ने छौ जसरी मैले आफूलाई समालेकी छु।
अब तिमी मेरो जिन्दगीबाट ढुक्कले जाऊ। जानेलाई जान दिनु पर्छ, यो मैले तिमीबाट नै सिकेकी हुँ। अब फर्केर आऊ भन्दिनँ किनकि म चाहन्नँ मैले बोलाएपछि मात्र तिमी आऊ। यदि फर्किएर आउने कुनै सम्भावना छ भने अलि छिटो आउनू किनकि यदि तिमी फर्किँदा म नै रहिनँ भने तिमीलाई आफ्नो सुस्तताप्रति खुबै गुनासो हुनेछ। तिमीले मलाई पटक–पटक दिएको विश्वासघातप्रति दुःख लाग्नेछ अनि तिमीलाई सायद आफूप्रति नै गुनासो रहिरहनेछ। मलाई माफ गरिदेऊ।
अहँ! फर्केर आउन सम्भव नै छैन। किनकि तिमी अरूको नासो हौ।
रुनलाई त धेरै कारणहरू छन्, मसँग तर पनि मन भक्कानिएको छ त केबल तिम्रो बेवास्ताले। सायद यही बेवास्ताले मलाई कतै न कतै तिमीलाई भुल्न सहज बनाएको छ। भगवान् भेट्ने बित्तिकै तिम्रो खुसी माग्ने म आजभोलि तिनै भगवान्सँग तिमीलाई भुल्न सकूँ भनेर ढोग्ने गरेकी छु। सायद यी सबै तिम्रो बेवास्ताले गर्दा नै होला।
केही न केही त परिवर्तन भेटेकी छु आफूमा, हेर न दिन प्रतिदिन म तिम्रो अनुपस्थितिमा पनि निको हुँदै छु। मैले संगालेका तिम्रा यादहरूलाई अब साँच्चै बिदा दिने दिन आए। म तिमीलाई पर्खेर बस्न सक्छु त्यो ठिक हो, तर जो फर्केर आउँदैन उसैलाई पर्खिरहनु भनेको त जानी जानी आफैले आफैलाई खाडलमा धकेल्नु हो। तर तिमी यति जान्नू, तिम्रो अनुपस्थितिबाट म निको भएकी छु। महसुस गर्दै छु, म तिम्रो स्वरूप भएकी छु।
तिमीलाई म नदेखिएको जस्तै मैले भने तिमी बाहेक अरू कोही देखिनँ। मैले भुलेकी रहेछु, तिमी बाहेक पनि संसार छ भनेर जहाँ मेरा आफ्ना छन्। त्यसैले मैले अब तिम्रो यादहरूबाट आफैलाई मुक्ति दिनु पर्छ र अपनाउनु पर्छ ती सहारालाई जो मेरा हुन्। जो मलाई निस्वार्थ प्रेम गर्छन्। तिमीलाई प्रेम त म जीवन्त गर्छु तर अब तिम्रो सामीप्यताले मेरो नयनमा थोरै पनि चमकता ल्याउने छैन।
पख न एक दिन अभाव त तिमीलाई पनि हुनेछ, जसलाई आफूभन्दा बढी प्रेम गर्यो ऊ कतै लापता बनिदिँदा। पख न मन त तिम्रो पनि दुख्ने छ मैले गरेको प्रेम सम्झिँदा। म त तिम्रो मौनता पढ्ने मान्छे हुँ। त्यसैले पख न झुक्किएर पनि मेरो अनुहार देख्दा तिम्रो आँखा रसाउने छन्।
खैर छोड दुखिरहने तिम्रो मनलाई, म मेरा शब्दहरूले झन् भारी बनाउन चाहँदिनँ। सत्यता यही हो हामी छुट्टिएका हौँ। तिमीले पक्कै महसुस गर्यौ होला, माया दिनेहरू सबै अमूल्य नै हुन्छन्। त्यसैले अब तिमी हरेस नखानू। आफ्ना हिम्मतहरूलाई उही पहिलेको जस्तै मजबुत बनाएर सपना पूरा गर्नू। म तिम्रो साथमा नभएर के भो त, भगवान् साथमा छन्।
अचम्म लाग्दै होला है तिमीलाई, किन अझै राम्रो नै सोच्दै छे भनेर। कसरी नराम्रो सोच्न अनि लेख्न सक्छु, किनकि तिमीमा मेरो प्राण बसेको थियो। हरेक पल्ट शब्द जोडिनभन्दा अगाडि टुट्नु पर्छ तर म टुटिसकेर पनि जोडिएकी छु। मलाई दुख्छ तर म चिच्च्याउन छोडिसकेकी छु। म सहनशील बनेकी छु।
तिमीलाई प्रेम गर्नु मात्र कुनै संयोग हुन सक्दैन तर छुट्टिनु नै हाम्रो प्रेमको गन्तव्य रहेछ। यो सत्यलाई स्विकार्नु नै हामी दुवैको लागि उत्तम हुनेछ। विगतलाई भुलिदिनू, झुक्किएर पनि मेरो याद आयो भने मेरा यादहरूलाई आजाद गरिदिनू। तिमी खुला स्वतन्त्र प्रेमको आकाशमा आजाद बनी उड्नू। तिमीलाई तिम्रो नयाँ जीवनको शुभकामना।