दुइटा मुटु हुन्थ्यो भने मैले स्टेसनमै तिमीलाई एउटा मुटु दिइसक्थेँ। झ्यालबाट देखेको तिम्रो याचनारूपी अनुहारले मेरो मन, मस्तिष्क र मुटुलाई यसरी हल्लाइदियो मानौं भूकम्पले घर ढलेजस्तै मभित्रको प्रेम पनि ढलेको भान भयो।
सधैंजसो आज पनि उही बिहान पाँच बजे म डेनमार्कको हर्लेभ स्टेसनमा ट्र्रेन कुरिरहेँ। मेरो ट्र्रेन हरेक दश मिनेटमा आइरहन्छ। म साढे पाँच बजे नै काममा पुगिसक्छु। प्रत्येक दिन समय उही, अनुहार, चिनजान नभए पनि चिनेजस्तो सबै लाग्न थालेको हुन्छ स्टेसनमा। तर आज एक पच्चीस वर्षीया सुन्दरी यसरी रोइरही उसको रुवाइको क्रन्दनले मेरो हृदयलाई छियाछिया पारिदिएको थियो। डेनमार्क यसै पनि चिसो। त्यैमाथि पातलो कपडामा सजिएकी यी युवतीलाई आफ्नो शरीरको कुनै ख्याल थिएन। विक्षिप्त थिई।
म नजिकै गएर बस्न अनुमति मागेँ। उसले इशाराले अनुमति दिई। मैले उसलाई सोधें- तिमी किन रोएको?
उसले मौनरूपले लालयित आँखा बनाएर मलाई एकटक हेरी सायद यसलाई किन चासो होला भन्ने ठानिकी! मेरो मनले सोचिरह्यो।
उसले एउटा सिगरेट सल्काई। मिठो गरी फुरूरूरू हावामा उडाई। कुनैबेला काठमाडौं खाल्डोमा मैले पनि त्यसरी चुरोटको सर्को हावामा उडाउँथेँ, त्यो उमेरै अर्कै थियो। म पनि धेरैपटक यसरी विक्षिप्त भएर सडकमा घुमेको छु। नशाले लठ्ठिएको छु। मैले उसलाई देखेर आफूलाई त्यो पलमा दाँजेँ, एकछिन नोस्टाल्जिक भएँ।
उसको मुखबाट ह्वास्व अल्कोहलको गन्ध आइरहेको थियो। उसले आफ्नो मोबाइलमा एडेलेको ‘सोमवान लाइक यु,’ गीत जोडले बजाई। गीतसँगै ऊ जोडजोडले कराउँदै गई आफ्नो लवजमा अश्लिल अंग्रेजी शब्द बारम्बार।
म उठेर हिँड्न थालेँ। उसले च्याप्प मेरो हात समाई। मेरो हातमा रिंग देखेपछि उसले सोधी— ‘आर यु म्यारिड ’।
मैले 'अँ' को उत्तर दिएँ।
उसलाई सहज भएछ क्यारे। उसले भनी ‘मेरो आज ब्रेकअप भएको छ। यो तेस्रो ब्रेकअप हो।’
दुईपटक भैसकेको ब्रेकअपबारेमा उसले भनी- 'तिनीहरू मेरा लागि मरे, सधैंको लागि।'
'You are not my honey anymore. You are nothing to me. Since you don't care about my happiness, I don't care about you anymore. Please make your own way. I gonna break up with you. We can't be together anymore. I got another one, better than you, I want to wish you all the best for further life. don't disturb me, damn"
उसको मोबाइलमा आफ्नो केटा साथीसँग गरेको अनगिन्ती मेसेजमध्ये उसको यो मेसेज पढेपछि मलाई लाग्यो केटी ब्रेकअपको कारण रोएकी छे।
उसले मेरो हात समाई। मानौं कुनै सहारा खोजेजस्तो। कुनै आलिंगन खोजेजस्तो। उसले कुनै पुरूषसँग आफ्नो सर्वस्व शरीर उसमाथि खन्याएर ऊ चैनको स्वास फेर्न चाहन्छे। निदाउन चाहन्छे। घण्टौ अंगालोमा बाँधिएर ऊ रून चाहन्छे। चुम्न चाहन्छे। आलिंगनमा कस्न चाहन्छे। बाँधिन चाहन्छे। कसिलो हातले छातीमा राखेर उसलाई कसैले बाँधिदेओस्। उसले मेरो औंलाको रिंगलाई चुमी र भनी- मैले पनि यस्तै चाहन्थेँ। तर उसले बुझेन। सायद तिम्री श्रीमती कति भाग्यमानी होली।'
मलाई उसको टुक्रिएको प्रेमले पुरानो याद दिलायो। केही वर्षअघि म बेल्जियमको सेन्टक्याथरिन स्टेसनमा बेलुकीपख निक्लँदै गर्दा यस्तै गरी एउटी गोरी केटी रोइरहेकी थिई। उतापट्टि एक अफ्रिकन केटाले आइडन्ड केयर, आइगट एनोदर भन्दै कुर्लंदै थियो। त्यसको दुई हप्तापछि फेरि मैले उही गोरी केटीलाई कुनै अर्को अफ्रिकनसँग रेष्टुरेन्टमा देखेको थिएँ। दुबै जना चुम्बनमा मस्त थिए।
त्यसको केही वर्षपछि म पोर्चुगल पुगेको थिएँ। त्यहाँ भेरा भन्ने केटीसँग मेरो चिनजान भयो। उसले आफ्नो केटा साथी देखाउँदै गर्वका साथ भनेकी थिई- यो मेरो चौथो हो।
तीन वटामा के कमजोरी थियो र यसमा के उत्तम छ भनेर सोधेको थिएँ उसले यसरी भनेकी थिई- हरेक पुरूष फरक हुन्छन् नै। दाँज्नै नमिल्ने। तर प्रेम चाहिँ समय, अवस्था, उमेर अनुसार फरकफरक हुन्छ। मेरो टिनएजको प्रेम दुई वर्ष टिकेन। मेरो दोस्रो प्रेमी ऊ भन्दा फरक थियो ऊसँग एक वर्ष। यस्तैगरी यो चौथो हो। अरूभन्दा यो फरक छ। सायद फरकको पनि फरक अर्थ होला।
मैले पनि टिनएजमा गरेको प्रेम अहिले सम्झँदा म आफैभित्र हाँस्छु।
सायद भेरोनिकाले पनि केही हप्तापछि फेरि अर्कै भेट्ली मनमा यस्तै खेल्यो। उसलाई सोधें- तिम्रो प्रेम टुट्नुको कारण?
उसले लामो श्वास तानेर भनी- हामी दुबै जना क्याफेमा काम गर्छौं। हिजो हाम्रो दुबैको अफ थियो। हामी बारमा छिर्यौं र बियर पियौं रातको ११ बजेसम्म। मेरो ब्वाइफ्रेण्डले अर्को एक जना केटीसँग बियर अफर गर्यो। उसैसँग नाच्यो। आडमा म थिएँ मेरो वास्ता गरेन। ऊ नाँच्दै गर्दा मैले उसलाई तानेँ। उसले मेरो बियर पोखाइदियो। मैले मेरो गिलासको बियर उसको मुखमा फ्याँकिदिएँ। मलाई सुरक्षागार्डले बाहिर निकालिदियो। त्यसपछि मैले उसलाई मेसेज गरेँ, फोन गरेँ। उसले उत्तर दिएन। अनि उसले यस्तो मेसेज पठायो। हाम्रो पाँच वर्षको रिलेसनसिप उसले यसरी टुंग्यायो।
उसले एकैसासमा सबै भनिदिई।
म सोचमग्न भएँ। संसारभरि सबै नारी उस्तै हुन्छन्। पुरूषको मनग्य प्रेम खोज्छन्। तर प्रेमको स्तर हुन्छ। स्तरअनुसारको प्रेमको अर्थ हुन्छ। महिलाको प्रेम बुझ्नका लागि महिलाका सानासाना कुराहरूलाई ख्याल गरिदिए पुग्छ। यो मैले धेरैपछि सिकेँ। केही दिनपहिले अहिलेकी चर्चित नायिका एलिना चौहानको अन्तर्वार्ता हेरेको थिएँ। उनले प्रेमको उत्कृष्ट अभिव्यक्ति दिएकी थिइन् टेलिभिजन अन्तर्वातर्तामा।
उनले भनेकी थिइन्- श्रीमान भनेको आमाको अर्को रूप हो। सँगसँगै उनले यो पनि भनेकी थिइन्। प्रेममा कुनै बन्देज हुँदैन। प्रेमीसँग वा श्रीमानसँग अन्तरंगमा होस् वा जेमा पनि कुनै संकोच नहोस्।
यो भनाइ सामान्य भए पनि यसमा गहिरो अर्थ छ। उनको प्रेम र सम्बन्धको अर्थ बुझ्नलाई परिपक्व प्रेमी चाहिन्छ। हरेक नारीले आफ्नो आमालाई पहिलो साथी मान्छन् र धेरै कुरा सेयर गर्छन्। जब विवाह हुन्छ, उनीहरूले आमाको ठाउँमा श्रीमानलाई राख्छन् र साना साना कुरा सेयर गर्न, र आमाबाट जस्तो माया श्रीमानबाट चाहन्छन्। हो, यहीँनेर महिलालाई हरेक श्रीमानले बुझ्नुपर्ने रहेछ। चौहानको अभिव्यक्ति प्रेमको उत्कृष्ट स्वरूप हो। उनको प्रेमको गहिरानुभूतिलाई बुझ्न उत्कृष्ट प्रेम बुझेको हुनुपर्दछ।
भेरोनिकाको प्रेम पनि उस्तै हो। सायद उसले पनि किनिदिन चाहन्थी होली। सायद ऊ पनि नाच्न चाहन्थी होली। आफ्नो प्रेमीको काखमा ऊ उन्मुक्त भएर विचरण गर्न चाहन्थी होली। उसलाई उसले बुझिदिएन। उसको दुखाइ यहीँनेर हो। उसको पीडा यहीँनेर हो।
मेरो ट्रेन आउने समय दुई मिनेट बाँकी थियो। म हतारमा थिएँ कुरा छोट्याउन। उसको अस्तब्यस्त कपडा लवाई। टिसर्टमा प्रष्ट देखिन स्तनहरू। बारम्बार चुरोटको सल्काई। ठूलो म्युजिक। उसको र मेरो गफ गराई। वरपरका मानिसहरूले हामीलाई हेरिरहेका थिए। मैले उसलाई मात्र हेरिरहेको थिएँ। म उसलाई लैजान चाहन्थेँ। ऊ मसँग आउन चाहन्थी। तर यो सम्भव थिएन।
मेरो ट्र्रेन आयो। मैले उसलाई सँगै ट्र्रेनमा जाऔं भनेँ उसले मानिन। उसले भनी- यदि उसले मलाई साँच्चै माया गर्छ भने यो स्टेसनमा आउनुपर्छ ऊ मलाई लिन। म उसलाई कुरिरहन्छु।
मैले भनेँ- होप सो बि इट।
जब मैले ट्र्रेनको झ्यालबाट उसलाई देखेँ उसले मैतिर हेर्दैरही। यतिबेला लाग्यो। कसम दुइटा मुटु हुन्थ्यो भने...
प्रिय भेरोनिका एउटा मुटु तिमीलाई नै दिन्थेँ। त्यो मुटुले तिम्रो सदैव ख्याल राखोस् र तिमीलाई रून नपरोस्। जीवन छोटो छ। समय थोरै छ। प्रेम गर्ने इच्छा र प्रेमानुभूतिको चरमोत्कर्ष यस्तै मुटुबाट दिन पाइरहोस् भन्ने भान मनभरि भैरह्यो।
आज दिउँसोभरि उसको अनुहार छाइरह्यो।