मैले जिन्दगीलाई कहाँबाट सुरु गरूँ? जसरी तिम्रो मनले चाहे, त्यहीँबाट म आफ्नो जिन्दगीको पाना पल्टाउँदै छु, जसको हरेक पानामा तिम्रो नाम छ। पाना खोलेर हेर्दा जिन्दगीका हरेक पल तिम्रै यादमा रंगिएका छन्। यो कथा केवल मेरो होइन, तिमी र मसँगै बाँचेको जीवनको कथा हो।
तिम्रो नाम तारा हो। तिम्रो नाम जस्तै तिमी पनि मेरा लागि आकाशका असंख्य तारामध्ये एक अद्वितीय तारा बन्यौ, जसको चमकले मेरो जीवनलाई उज्यालो बनायो। थोरै समय मात्रै हामीसँगै थियौँ तर त्यो थोरै समयले म धेरै गहिराइमा पुगेँ। जब तिमी टाढा छौ अनि तिम्रो याद आउँछ, तब म आकाशको अनन्त ताराहरूलाई हेर्छु र तिम्रो स्मृतिलाई सजीव बनाउँछु।
हाम्रो पहिलो भेट सामाजिक सञ्जालमा भएको थियो। अनलाइनको त्यो काल्पनिक दुनियाँमा एक अर्कालाई भेट्यौँ, सन्देशहरूको त्यो आदानप्रदानमा मैले तिमीलाई हृदयबाट महसुस गरेँ। हाम्रो कुराकानीमा कुनै बनावट थिएन, केवल सरलता थियो जसले मलाई तिमीतिर तान्दै लग्यो। तिम्रा शब्दहरूमा जीवनको गहिरो अर्थ लुकेको थियो जुन मैले बुझ्दै गएँ। तिमीले मेरो मनको कुनामा एक किसिमको अनुराग जगायौ, जसले मलाई तिमीलाई प्रत्यक्ष भेट्न चाहन बाध्य बनायो।
मैले एक दिन अचानक निर्णय गरेँ, तिमीलाई भेट्न जान्छु। २८० किलोमिटरको दूरी र रातभरको मोटरसाइकल यात्रा, केवल तिमीलाई प्रत्यक्ष देख्नका लागि। म रातभरको त्यो यात्रा गरेँ, हावा र थकानलाई बेवास्ता गर्दै, केवल तिमीलाई भेट्नको लागि। बिहानै म तिम्रो सहर पुगेँ। मेरो शरीर थाकेको थियो तर मन उत्साहित थियो।
त्यो क्षण जब तिमीलाई प्रत्यक्ष देखेँ, मेरो मनको सपना साकार भएजस्तो लाग्यो। तिम्रो मुस्कानमा एक किसिमको शान्ति थियो जसले मेरो सारा थकान मेटाइदियो। हाम्रो पहिलो भेटमा नै तिमीले मलाई धेरै कुरामा परिवर्तन गरिदियौ। तिम्रा आँखामा देखिएको गहिराइमा एउटा दर्द लुकेको थियो तर त्यो दर्दलाई मुस्कानले ढाकेर तिमीले जिन्दगीलाई जसरी सामना गर्दै थियौँ त्यसले मलाई प्रभावित बनायो।
हाम्रो भेटको त्यही दिन तिमीले मलाई धेरै कुरा सिकायौँ। जिन्दगीको तितो सत्यलाई स्विकार्दै पनि कसरी मुस्कुराउने, दुःखमा कसरी अडिन सिक्ने र असफलतासँग लडेर अगाडि बढ्ने कुरा तिम्रै शब्दहरूबाट मैले बुझेँ। तिमी मेरो हृदयमा बस्यौ, एक अमिट छाप छोडेर। म तिम्रा हरेक शब्दमा डुबिरहेको थिएँ, एक किसिमको मिठास थियो तिम्रो स्वरमा जसले मलाई अझै तिमीतिर आकर्षित गर्यो।
समय बित्दै जाँदा हाम्रो सम्बन्धमा गहिराइ थपिँदै गयो। हामीले एक अर्कालाई बुझ्न थाल्यौँ, हामी बिचको भावना थप बलियो बन्दै गयो। तर हाम्रो यो सम्बन्ध लामो समयसम्म टिक्न सकेन। जिन्दगीको यो यात्रा केवल संयोग मात्र साबित भयो जुन त्यहीँ टुङ्गियो। तिमी मेरो जीवनमा आएर गयौ तर तिम्रो सम्झनाहरू हरेक दिन मेरा लागि जिन्दगीको पानामा लेखिएजस्तै बने।
अहिले पनि रातको समय म आकाशतिर हेर्छु। अनगिन्ती ताराहरूले तिम्रो झझल्को दिलाउँछन्। मानौँ ती ताराहरूमा तिम्रो उपस्थिति छ। आकाशमा तारा चम्किँदा मेरो मन तिमीलाई सम्झेर चम्किन्छ। तिम्रो झझल्कोले मेरो हृदयको कुनामा एक अमिट छाप छोडेर गएको छ।
हाम्रो दोस्रो भेट पनि मलाई अझ बढी तिमीतिर तान्ने भयो। म फेरि एकपल्ट तिम्रो सहर पुगेँ, तिमीलाई भेट्न। त्यहाँ प्रिय दाइको घरमा मोटरसाइकल राख्ने क्रममा मेरो मोटरसाइकल एउटा ढकमक्क फूलले भरिएको गमलामा ठोक्कियो। गमला फुट्यो र त्यो फुटेको गमलासँगै मेरो मन पनि चर्कियो। मलाई यति अपराध बोध भयो कि त्यो फूलहरूलाई दुखाएजस्तो लाग्यो।
दाइले मलाई सम्झाउँदै भन्नु भएको थियो- ‘जसरी यो गमला फुट्यो, उसको मन यसरी नफुटोस्। सम्हाल्नू नानीलाई।’ तर म जान्दिन थिएँ, यो फुटेको गमलाजस्तै मेरो मन पनि चिराचिरा भएर बाँच्नुपर्छ भन्ने कुरा।
जीवनको कथा यसरी नै अगाडि बढ्दै गयो तर तिमी टाढा भएकी थियौ। तिमीले टाढाबाटै मलाई जीवनमा एक अमिट याद छोडेर गयौ। मैले बुझ्नै भ्याइनँ, तिम्रै शब्दहरूमा जीवनका अर्थहरू समेटिरहँदा मेरो मनको दुखाइ कसरी बिर्सिकने होला भन्ने कुरा। तिमीले मलाई जिन्दगीमा धेरै कुरा सिकायौ तर टुक्रिएको यो मन कसरी सम्हाल्ने कुरा भने सिक्न दिन भ्याइनौ।
समय बित्दै गयो तर तिमीले छोडेका ती यादहरू हर रात मेरो जीवनको पानामा पुनः खोलिँदै जान थाले। जिन्दगीका हरेक पानामा तिम्रै नाम छ। चाहे कुनै पानामा खुसीका यादहरू भेटूँ, चाहे दुःखका पाना पल्टाऊँ, सबै ठाउँमा तिम्रै सम्झना, तिम्रै छाया। यो जिन्दगीको किताब जसको हरेक पानामा केवल तिम्रो नाम लेखिएको छ, हरेक सम्झना केवल तिम्रो साथमा बिताएका ती क्षणहरू।
हिजोआज तिम्रो झझल्को दिलाउने आकाशका ताराहरूलाई हेरिरहन्छु। तिनै ताराहरूमा तिम्रो उज्यालो मुस्कान देख्छु, मानौँ तिमी मेरो नजिकै हौ। त्यो मुस्कानमा मेरो सारा दुःख पनि कतै हराउँछ। तिमी टाढा भए पनि मेरो हृदयमा तिमी सधैँको लागि बसेकी छौ।
यो कथा हाम्रो अद्भुत भेट र अपरिहार्य बिछोडको हो, एक अमिट सम्बन्धको हो। म हरेक दिन तिमीलाई सम्झन्छु, हरेक रात तिमीलाई याद गर्दै ताराहरूलाई हेरिरहन्छु। जिन्दगीको पानामा केवल तिमी छौ जसले हरेक पानामा आफ्नो छाप छोडेकी छौ। चाहे हाम्रो साथमा बिताएको समय छोटो किन नहोस्, तिम्रो याद मेरा लागि सधैँको लागि अमर बनेको छ।