मौनता मिश्रित त्यो साँझमा
सायद अनजानमै
यो मनलाई
तिम्रो मनसँग जोड्ने चुम्बकीय यन्त्र बोकी आयौ
अग्लो सपनाको पहाडमाथि उभ्याएर
सुस्त-सुस्त
गफिन थाल्यौ-
यता कता
मनदेखि मनसम्म स्पर्श भएको अनुभूति गरायौ
र चाहँदा नचाहँदै -
यो हृदयलाई नै पगाल्यौ
अनि प्रेमरूपी समुद्रमा पौडिन बाध्य पार्यौ!
जब मन र तन पौडिन आतुर भयो
न मैले व्यक्त गर्न सकेँ
न तिम्रा ती नयनहरूले स्पर्श नै गर्न सके
मन-मस्तिष्कमा उत्साहको टुसा त उम्रियो
तर
हुर्किँदै गएको मौनताको पो जित भयो।
जितको फलस्वरूप
अचानक विलीन भयौ तिमी
दूर-दूरसम्म नदेखिने गरी
अनि त
फक्रिँदै नफक्रिएको टुसाले फेरि पनि
अकालमै देहावसान बेहोर्यो!
सायद
मौनताबाट नै जन्मिएको प्रेमको
हत्या पनि त मौनताले नै गरेछ!