‘खाना खान मन नलाग्नु, राति निद्रा नलाग्नु जस्ता लक्षण मायामा परेर हैन; ग्यास्ट्रिक भएमा पनि हुने गर्छन्। चिया कम खाने गर न।’
छेउमै बसेको साथीले बिल्ला गर्न कुनै ठाउँ बाँकी राख्ने वाला थिएन। चियाको चुस्कीसँगै साथीहरूसँग दिनभरको थकान मेटिने ठाउँ हो चिया पसल।
चिया घरघरमा पाइने, पाहुनालाई फ्रीमा तर ग्राहकले पैसा तिर्नु पर्ने, सबै तहबाट लाइसेन्स पाए जस्तो बिहान, बेलुका होस् या दिउँसो, खाजा खाँदा होस् या अल्छी लाग्दा, मलाई त यो चिया ‘ड्रग’भन्दा कम लाग्दैन। बरु मन पर्ने मान्छेको एसएमएस समयमा नआओस् केही लाग्दैन तर समयमा चिया आएन भने शरीर काम्न थाल्छ, दिमागले काम गर्दैन अनि मन त बेचैनीमा कहाँ हो कहाँ एक्लै पर धेरै पर।
चिया थोरै पानीमा औसत दूध बढी हालेको, चिनी त्योभन्दा नि बढी अनि चियापत्ति हालेको हो भन्ने थाहा हुनु पर्यो। सायद अमृतभन्दा लामो लागेर हुनुपर्छ चिया भन्न थालेको। सायद सन्तुष्टिको पर्यायवाची शब्द चिया भन्दा फरक नपर्ला। किन किन मेरो त मन मस्तिष्क अनि शरीरका नसा नसामा चिया अनि चिया नै छ, रगत त साइन्सलाई सत्य प्रमाणित गर्न मात्र बने जस्तो।
‘कालो चियालाई नि कसैले पैसा तिर्छ?’
साथीहरूको बहसको विषय बन्न पनि पुग्छ चिया, एक पटक हैन पटक-पटक, धेरै पटक। कुनै समय हेल्लो, स्टोप र ट्याक्सी सबैभन्दा बढी प्रयोग हुने शब्दहरूमा पर्थे। अब त चियालाई जित्ने कुनै शब्द छन् जस्तो लाग्दैन।
‘चिया खान जाम्’ भन्ने मान्छे भगवान् हुन् भन्दा फरक लाग्दैन अनि चिया पसल मन्दिर। चियाको पैसा आफैँ तिर्नु पर्दा भेटी चढाए जस्तो लाग्छ अनि साथीले तिर्दा आशीर्वाद।
जिन्दगीलाई चियाको कपसँग तुलना गर्दा केही फरक पर्दैन जस्तो लाग्छ। जस्तो कि चियामा पत्तिको तितोपन, चिनीको मिठास र ताजगी मिसिएको हुन्छ। जिन्दगीमा पनि सुख, दुःख र उत्साहको मिश्रण हुन्छ। चिया बनाउन समय लाग्छ, त्यसै गरी जीवनमा सम्बन्धहरूले पनि धैर्य, समय र माया माग्छन्।
मायामा पनि चियाको स्वादजस्तै गहिरो अर्थ हुन्छ। कसै कसैको बिहानको एसएमएस पनि चियाभन्दा फरक त हुँदैन तर चियामा हालेको चिनी जस्तै मायामा पनि थोरै मिठासको आवश्यकता हुन्छ। खासमा चिया होइन त्यो ‘माया’ नै जीवनको मिठास हो। तर कहिलेकाहीँ जति चिनी थपे पनि जिन्दगी तितो नै रहन्छ।
चिया चाहे बिहानको होस् वा साँझको, एक अर्कासँग बिताउने समय, साना कुराहरूको आदानप्रदान, अनि भित्रभित्रै समझदारीको स्वाद दिन्छ। एक कप चिया हातमा लिएर बसेको क्षणमा जुन आराम र अपनत्व महसुस हुन्छ, त्यसै गरी मायामा पनि गहिरो शान्ति र न्यानोपन भेटिन्छ।
जिन्दगीमा थुप्रै पल हुन्छन् जहाँ एक कप चिया र माया, दुवैको सहारा चाहिन्छ। ती घुट्कामा लुकेको मिठास र तितोपनसँगै मायाको स्पर्शले जिन्दगीलाई अझ सुन्दर बनाउँछ।
जिन्दगीमा एक्लोपनको पलहरू चियाको एक कपले भरिन्छन्। कस्तो अचम्म! अरू कोही नभए पनि चियाले हामीलाई बुझेजस्तो लाग्छ, मानौँ यो आफ्नै जिन्दगीका कथा सुन्दै छ।
ब्रेकअपमा त चिया झनै काम आउँछ। दुई जना बिचको दूरीले दिल दुखेको बेला त्यो चियाले दिललाई शान्त पार्छ। हराएका माया सम्झेर, ब्रेकअपपछि बिस्तारै चियामा मात्र सन्तोष मान्न सिक्छौँ। सायद चियाले हाम्रो दुःख पीडा सोसिदिन्छ कि क्या हो!
सफलता र चियाको नाता पनि गज्जबको छ। कतिपयको लागि चिया त्यो 'काम गर्ने इन्धन' हो। चियाको घुट्कासँगै मानिस आफ्नो सपना र लक्ष्यमा ऊर्जावान् भएर जुट्छ। सफलताको शिखर चुम्न, थुप्रै दिन अनि रातमा चियाको साथ नै चाहिन्छ। हैन र?
पढाइमा त चिया नै जिन्दगीको आधार हो। परीक्षा आउने बेला कति रातहरू चियाको कपको साथमा बिताएको याद छ। कोही भन्छन्, ‘चिया भनेको पढ्नको लागि प्रेरणा हो।’ सायद यो ऊर्जाको स्रोत नै होला। त्यसैले त धेरैले चिया ‘पढाइको पार्टनर’ मान्छन्।
थकानको कुरा गर्दा चियाको सच्चा अर्थ थाहा पाइन्छ। दिनभरको तनाव र थकान मेटाउन चियाको घुट्काले कस्तो आनन्द दिन्छ। चिया त जिन्दगीको साथी हो जसले हँसाउँछ, सम्झाउँछ, र आँसुमा मुस्कान ल्याउँछ।
अन्त्यमा, अब यो रहर छ कि बाँकी जिन्दगी त चिया प्रेमी सँगिनीसँग बिताउन पाए कस्तो राम्रो हुन्थ्यो! बिहानको पहिलो कपदेखि साँझको सूर्यास्तमा पनि सँगै बसेर हातमा चिया लिएर एक अर्कासँग कुरा गर्न, जीवनका सबै तिता मिठा पलहरू साझा गर्न, सायद यो नै साँचो प्रेमको परिभाषा हुन्थ्यो। त्यो सँगिनीसँग सानो-सानो कुरामा हाँसो, दुःखमा साथ र चियाको कपमा जिन्दगीका रहर मिसिएर हरेक घुट्कासँग प्रेम झनै घनीभूत बनाउँदै जाने सपना पनि छ।