छोरा कौशल कुदेर पल्लो घरतिर गयो। मैले सोधिनँ 'कहाँ जाँदैछौ' भनेर।
सायद ऊ मलाई सम्झिँदै गयो होला। बाले कतै बोलाई पो हाल्छन् कि! भनेर।
मैले बोलाइनँ उसलाई। जान दिएँ।
एकछिनपछि छोरोको जस्तै आवाज सुनेँ पल्लो घरतिर। पल्लो घरमा कोको बस्छन् थाहा छैन। तर एउटा सुँगा र एउटी महिला अवश्य छन् त्यो घरमा। सुँगालाई महिलाले खुबै माया गरेको देख्छु समय समयमा। सायद त्यो घरमा बस्नेमध्ये ऊ एक हुँदी हो।
कल्पना (कौशलकी आमा) आइन कोठामा।
भनिन् - 'छोराले भैलो भट्याएको सुन्नु त!'
मैले अघि सुनेको आवाज छोराको नि रहेछ भन्ने कुरामा म विश्वस्त भएँ।
'जाऊँ बाहिर गएर सुनौं,' कल्पनाले आग्रह गरिन्।
मैले भनेँ- 'हुन्छ'।
बाहिर आँगनमा गएर पल्लो घरतिर नजर लगाएँ। छोरासहित उसका साथी रहेछन् ७-८ जना। त्यसमा हाम्रै घरमा बस्ने मुन्ना र मुन्नी पनि थिए। उनीहरूमध्ये मुन्नीको नाम 'सल्मा' र मुन्नाको नाम 'स्माइल' थियो। उनी मुस्लिम समुदायका भए पनि मज्जाले रमाइलो मान्दै भैलो भट्टारहेका थिए। मेरो मन खुसीले भरियो।
केही छिनपछि छोरा सहितको भैलो टोली अन्य घरहरूतिर लाग्यो। हामी दुई जनाभित्र कोठामा आयौं। एकैछिनपछि बाहिर अँध्यारो हुँदै गयो।
'छोरा कता पो गयो?,' कल्पनाले चिन्ता व्यक्त गरिन्।
'उतापट्टि मुन्नाको कोठामा छ कि!' मैले भनेँ।
दुईचोटि बोलाउँदा पनि नबोलेपछि चिन्ता लागेर होला कल्पनाले दुई तीन पल्ट भित्र-बाहिर गरिन्। मैले बुझिहालेँ उनको मनको कुरा र भनेँ- 'चिन्ता नगर आइहाल्छ।'
नभन्दै टुप्लुक्क आइपुग्यो कौशल। गोजीमा हात हालेर के भन्न खोज्दै थियो कल्पनाले भनी हालिन् 'जाऊ हातमुख धोएर आऊ'।
'हस' भन्दै बाख्राको पाठोझैं बुरूक्क बुरूक्क उफ्रँदै ऊ बाथरूम गयो।
एकैछिनमा ऊ कुदेर आयो कोठामा।
दाहिने हातले गोजीबाट केही नोट निकाल्दै भन्यो- 'मम्मु मैले चार सय पचास कमाएँ।'
'के गरेर कमायौ?' - मैले थाहा पाएरै सोधेँ।
'भैलो खेलेर' उसले जबाफ फर्कायो।
'त्यसो भए ठिक छ,' मैले भनेँ।
एकछिनपछि खाना खायौं हामी सबैले। जब हामी सुत्नै आँटेका थियौं छोराले भन्यो- 'बाबा तपाईं सानो छँदा भैलो कसरी खेल्नुहुन्थ्यो?'
'राम्ररी खेल्थे छोरा,' मैले भनेँ।
छोरालाई जिज्ञासा लागेर होला अनेक थरी प्रश्न गर्न थाल्यो। उसले मेरो बाल्यकालको भैली सुन्ने खुबै मन गरेपछि म मेरो विगतमा फर्किएँ र सम्झन थालेँ पुराना यादहरू। अनि छोरा कौशललाई सुनाउन थाले मेरो बाल्यकालको भैलीः-
***
सानै छँदा गाउँमा अनेक चाडबाड आउँथे। चाडबाड आउने बेला बा विदेशिएका हुन्थे। मेरा बाजस्तै सबैका बाहरू विदेशिएका हुन्थे पिथौरागढतिर। कुनै पर्वमा भने बा घर आउनुहुन्थ्यो। बा घर फर्किंदा बाको झोलामा पुराना कपडा, सिमेन्टका बोरी, प्लाष्टिकका टुक्राहरू हुन्थे। ती टुक्राटाक्रीका बीचमा कतै भित्रपट्टि जुलाघाटबाट किनेर ल्याएको मिस्रीको पोका हुन्थ्यो। आमाले बिस्तारै झोला खोल्नुहुन्थ्यो। हामीलाई एक-एक कुजो (पिस) मिश्री बाँड्नु हुन्थ्यो।
मिस्रीको कुजो चपाउँदै जेठी बहिनी सुशिला र म खुसीले नाँच्दै पल्लो घरतिर दौडिन्थ्यौं। अरू भाइ कोमल र बहिनी हिमा सानै थिए। पल्ला घरका राम, चनी, तुले, बिरे, भीम, दुरा, बिसन र हामी मिलेर भैलो माग्ने निर्णय गर्थ्यौं। हामी भैलो खेल्ने होइन भैलो माग्थ्यौं। किनकि हाम्रो चलन नै त्यही थियो। हामी हाम्रो गाउँ मल्ली डौरमबाहेक तल्ली डौरम, आड, बामुनी माडौं जाने योजना बनाउँथ्यौं।
अघिपछि रिसाएको भए पनि यो बेला हामी एकअर्कासँग बोली हाल्थ्यौं। रिसाउनुअघिको मायाभन्दा रिसाएर फेरि मिलेर गरेको माया दोब्बर बढी हुन्थ्यो। त्यसैले होला हामी कुनै पर्व आउनुभन्दा अघि रिसाएका भए पनि पर्व आउँदा मिली हाल्थ्यौं। अघिपछि खेल्ने टिपो, कबड्डी, एक खुट्टे, लोडी हामी केही दिनका लागि थाती राख्थ्यौं। किनकि हामीलाई भैलो माग्नु थियो।
उज्यालिँदै गरेका पहाडका टुप्पाका सल्लाका रूखमा जब घाम लाग्थ्यो र हामी जत्रै अर्को गाउँका बच्चाहरू भैलो माग्न भनेर हाम्रो गाउँ प्रवेश गर्थे हामी आफ्ना लागि भैलो माग्न उनीहरूको गाउँतिर लाग्थ्यौं।
टाढाको गाउँमा पहिले भैलो माग्ने योजना बनाएर हामी टाढाको गाउँ 'बामुन माण' जान्थ्यौं। जहाँ श्राद्धमा मिठो खिर पकाउने बामुन बाजे बस्नुहुन्थ्यो। त्यहाँ ८-१० वटा घरहरू थिए। सुख्दै गरेका खोला तर्दै जब हामी पारीपट्टि लाग्थ्यौं बाटोतिर लत्रिएका ऐँसेलुका झ्याङहरूले अनायासै अल्झ्याइदिन्थे। कसैले पछाडिबाट च्याप्प समातेझैं ऐँसेलुका काँडाहरू लुगामा अड्किएर पछाडि तान्थे।
घरबाट हिँडेको ४५ मिनेट जतिमा हामीहरू त्यहाँ पुगिहाल्थ्यौं। हामी प्रत्येक घरका सिँढी उक्लँदै भैलो माग्थ्यौं। प्रत्येक घरका ढोकामा बुढी आमाहरूले मानोमा धान ल्याएर हामीहरूले थापेको झोलामा खन्याइ दिनुहुन्थ्यो। हामी खुसी हुन्थ्यौं। हाम्रो खुसी प्रत्येक धानका दानामा मिसिएर झोलाभित्र खस्थ्यो। हामी यसरी प्रत्येक घरबाट भैलो माग्दै अर्को गाउँतिर जान्थ्यौं। अर्का दुई गाउँ एकअर्काको नजिकै थिए। हामी दुइटै गाउँमा पालैपालो भैलो माग्थ्यौं। दुई गाउँमा भैलो माग्दा हाम्रो झोला आधीआधी भरिसकेको हुन्थ्यो। तर मन भने खुसीले पूरै भरिएको हुन्थ्यो।
घर फर्किनै लाग्दा घाम घरमाथिको भिरको बीच भागमा पुगिसकेको हुन्थ्यो। पारी डाँडामा झुल्किएको घाम घट्टेगाढ झर्दै घरमाथिको डाँडो उक्लिएर आकाशतिर गायब हुन्थ्यो। त्यो थाहा पाएर हामी हतार हतार घरतिर हिँड्थ्यौं। घर फर्किंदा बाटोमा हामी एकअर्काको भैलो मागेको झोला हेर्थ्यौं। जब घर पुग्थ्यौं रात परिसकेको हुन्थ्यो। आकाशमा उदाएका झिलमिली ताराहरू हेर्दै हामी आ-आफ्नो घरतिर लाग्थ्यौं। घरभित्र छिर्नै लाग्दा कुन्नी किन हो ढोकामा कसैले बाहिर तान्लाझैं गरी डर लागेर आउँथ्यो। भित्र पसेपछि भने खुसी। भैलो मागेको झोला जात्रामाथि राखेर हातमुख धोएर मकैको रोटी र फर्सीको तरकारी खाएर सुत्थ्यौं।
दोस्रो दिन आमाले बहिनी र भैले मागेर ल्याएको भैलीको धान घाममा सुकाउनु हुन्थ्यो। दिनभरि सुकाएर घाम अस्ताउनै लाग्दा म र बहिनी सुशीला धान कुट्न ओखलतिर जान्थ्यौं। धान कुट्ने अरू पनि हुन्थे। यताउती छरिएका धानका दाना कुच्चाले ओखलमा लगाउँदै हामी हतार हतारमा धान कुट्थ्यौं। भुस एकातिर र चामल एकातिर पारी चामल लिएर घरतिर लाग्थ्यौं।
घरमा आमाले जात्रामा चामल पिस्नु हुन्थ्यो। अघिपछि मकै पिस्ने जात्रामा यस्तै पर्वहरूमा मात्र चामल पिसिन्थ्यो। लाग्थ्यो मकै पिस्दा पिस्दा थाकेको जात्रा पनि खुसी भएको होला। हामी पनि त खुसी हुन्थ्यौं। किनकि मकैको रोटी मलाई मन पर्दैनथ्यो।
जात्राको छेउछाउतिर हिमालझैं सेतै भएका पिठोका धारहरू आमाले बडो मेहनतका साथ भाँडोमा बटुल्नु हुन्थ्यो। बहिनी सुशीला चुल्होमा आगो बाल्थिन्। आमाले चुल्होमा तावा राखेर भाँडोमा रहेको पिठोमा पानी हालेर मिच्नु हुन्थ्यो। नजिकै घिउको भाँडो राख्नु हुन्थ्यो। हामी चार जना भाइ बहिनीहरू चुल्होको नजिक आमाको छेउछाउमा बस्थ्यौं। राती चुल्होभित्र गएर सुत्ने बिरालो 'म्याउ' गर्दै हाम्रो अगाडि आएर बस्थ्यो। म बिरालोलाई हातमा लिएर काखमा राख्थेँ र आफ्नो कान बिरालोको पिँठ्युमा लगाएर 'घ्यार-घ्यार' हुँदै गरेको आवाज सुन्थेँ।
तावा तातेपछि आमाले चार कुना पारेको केराको हरियो पातले तावामा घ्यु लगाउनु हुन्थ्यो। बिस्तारै बाँया हातमा समातेको भाँडोबाट तावामा चामलको मुछेको पिठो हाल्नु हुन्थ्यो। खाना पकाउन गाउँमा आमाको खुबै चर्चा हुन्थ्यो। आमाले गाउँमा पाक्ने सबै परिकार मिठो तरिकाले पकाउनु हुन्थ्यो। आमाले पाँच पाँच पाना थप्दै माणो (परिकार) पकाउनु हुन्थ्यो।
एकछिनपछि आमाले पकाएको रोटी छाप्रोमा राख्नुहुन्थ्यो। रोटीको सानो टुक्का भाँचेर आमाले चुलोमा चढाउनु हुन्थ्यो। थोरै बिरालोलाई दिनुहुन्थ्यो। त्यसपछि हामी चारै जना मिलेर रोटी खान्थ्यौं। त्यसपछि बा र आमाले खानुहुन्थ्यो। यसरी रोटी खाएपछि हामी सबै जना सुत्छौं।
'कस्तो लाग्यो छोरा हजुरको बाबाको भैलो?'- मैले छोरालाई सोधेँ।
छोराले कुनै प्रतिक्रिया जनाएन। यसो हेरेको त छोरो सुतिसकेछ। छोरालाई कहानी र सम्झना सुनाउँदा यसरी नै भुसुक्क सुत्छ। छोरो आनन्दसित सुतेको देखेर म पनि सुत्छु।
शुभ-रात्री!!!