कविता
नेपालीहरूको महान चाड रे तिहार,
किन आउँछ यो चाड बारबार?
प्रत्येक वर्ष लगातार,
पात्रोमा यी दिनहरू किन मेटिएनन्
साँच्चै, इतिहासको कालखण्डमा यो चाड सुरू गर्ने मानिसको मष्तिष्कबाट यो भद्दा सोच किन स्खलित भएन?
किन पतन भएन?
वा यी दिनहरूमा म किन शालिक हुन सक्दिनँ?
किन कठोर हुन सक्दिनँ,
चट्टान जस्तो?
यी प्रश्नहरूको सिलसिलाको क्रम अनि,
झिलिमिली घरमा नटाँगेको क्रम पनि ठ्याक्कै ८ वर्ष पुगेछ,
झिलिमिली बत्ती हालेपछि,
घरभन्दा तिम्रो मुस्कानको चमक ज्यादा लाग्थ्यो,
तब तिहार आएझैं लाग्थ्यो,
रङ्गोली बनाइसकेपछि,
छिमेकीको घरघरै पुगेर,
घर फर्केर भन्ने गर्थ्यौं,
सबैभन्दा हाम्रो रङ्गोली राम्रो भएछ,
तब तिम्रो मुहारमा आएको सन्तुष्टिको रङ्ग रङ्गोलीको रङ्ग भन्दा ज्याद सुन्दर लाग्थ्यो,
अनि तिहार आएझैं हुन्थ्यो,
कुकुर तिहारमा म जति मायामा, समर्पणमा वफादारिता निभाउने कोही छैन मेरो पूजा गर भन्थ्यौ,
तब तिहार आएझैं लाग्थ्यो,
काग तिहारमा ठट्टा गर्दै,
तँ जन्मेसी मेरो माया आमाबुवाबाट खोसियो
जसरी कागले कोइलीको गुण खोस्छ,
भनेर काग तिहारको शुभकामना दिन्थेँ,
तब तिहार आएझैं लाग्थ्यो,
गोवर्द्धन पूजामा बाहुनको नाकको पूजा गरिनुपर्ने दिन भन्दै रमाइलो गर्थ्यौं,
लक्ष्मी पूजामा आजको दिन लक्ष्मीको अगाडि पैसा चढाउने भनेर मलाई पैसा दिन्थ्यौ,
अनि भोलि दिन्नँ म भन्दै धम्की दिन्थें
तब तिहार आउँथ्यो,
भाइटीकामा तिमीले लगाएको टीका सधैं सिधा हुन्थ्यो,
तर कसरी कसरी मैले लगाइदिएको टीका बाङ्गो हुन्थ्यो,
तिमी रिसाउँथ्यौ,
अनि बाङ्गो टीका हुनेको भाग्य बलियो हुन्छ भन्दै मान्यता र कथनको आडमा तिम्रो चित्त बुझाउँथें,
तब तिहार आउँथ्यो,
साँच्चै भाग्य बलियो रहेछ, तर भगवानको,
यति छिट्टै तिमी जस्तो मान्छे कमाए,
अचेल मलाई तिहार आउँदा
आँखै दुख्ने, बहुलठ्ठी चमक
छालै पोल्ने, टन्टलापुर दिन,
कानै बहिरो हुने, विरूप आवाज,
टड्कारो वेदनाको चिच्याहटको दिवस आउँछ
दोहोरिएर, प्रत्येक वर्ष
अचेल तिहार मलाई, घिन लाग्ने रङ्गहरूको सम्मिश्रण बोकेर आएको जस्तो लाग्छ,
साँच्चै यी कहालीलाग्दा दिनहरूमा मलाई बाँच्नै कस्तो लाग्छ!