अच्छा खासा कमाइ हुने दुबईको पेट्रोल पम्पमा ६ साल काम गरी नेपाल फर्किएको २५ वर्षको मध्यम वर्गीय गोकर्ण प्रसाद सुवेदी उर्फ गोकर्णेलाई घर परिवार अनि आफन्त नातागोताका चिन्नेजान्नेहरूले आएको पहिलो साता त 'कहिले आइस् है गोकर्ने' भन्ने प्रश्नको उत्तर दिनमै बिताए।
बुढा बाआमा त्यसमाथि अझै दमको रोगी, घरको एक्लो सन्तान ३ महिना छुट्टीमा आएको गोकर्णलाई बिहे गरेर मात्र फर्कन सबैले दबाब दिन्छन्।
बा-आमाले पनि 'आफूहरू कुन बेला के हुने हो, केही थाहा छैन। घर सम्हाल्न अनि बिमारी हुँदा तातोपानी तताएर दिने समेत कोही नहुने हुँदा, बाबु जसरी पनि बिहे चाहिँ गरेर मात्र जा है' भनेर बिलौना गर्न थाल्छन्।
सबैतिरबाट दबाब पनि आएको अनि आफ्नो उमेर पनि विवाह गर्ने बेला भैसकेको हुँदा गोकर्ण पनि राजी हुँदै कन्याको लागि आफन्त नातागोता, चिनेजानेकाहरूदेखि साथी भाइहरूका परिवार सबैतिर सहयोग मागी खोजी कार्य तीव्र पारिन्छ। कहीँ आफूलाई चित्त नबुझ्ने, कहीँ उनीहरूलाई आफू चित्त नबुझ्ने, कहीँ दुबै तिरकालाई चित्त बुझे पनि सगोत्री परिने जस्ता यावत कारण भनेको जस्तो कन्या भेटिन नसकेको उसले साढे २ महिना बिताइसकेको हुन्छ।
बल्ल बल्ल फूपूले एक कन्याको कुरा ल्याउँछिन् र हेर्न जाँदा दुबै पट्टिका राजी भई विवाह हुन्छ। बिहेको १० दिनभित्रै गोकर्णको फिर्ती टिकेट भैसकेको हुँदा परदेसिन बाध्य हुन्छ। दुई बीस समेत पूरा नपुगेकी युवती, शिल स्वभाव अनि चालचलन असाध्यै असल उनको श्रीमती कल्पना वास्तवमै गाउँभरिकी नमूना बुहारी थिइन् देख्ने भेट्ने आफन्त नातागोता छरछिमेकी लगायत सबैसँग राम्रो बोली व्यवहार गर्ने, आदर सम्मान गर्ने अनि कुनै लप्पन छप्पन नगर्ने हुँदा उनलाई पति परदेशिएता पनि औंला उठाउने शासन कसैले गर्न सकेनन्।
फोनमा समय मिलाएर दिनहुँ घण्टौं कुराकानी हुन्थ्यो उनीहरूबीच। कल्पना पनि सासूससुरालाई आफ्नै बाआमाझैं मान्थिन्। अनि सासूससुराले पनि उनलाई असाध्यै माया गर्थे। त्यसैगरी अरू ३ साल बित्यो। गोकर्ण केही पैसा बचत गरी स्वदेश फिर्ता भयो भिसा क्यान्सिल नै गरेर। जतिबेला उसको उमेर २८ नाघिसकेको थियो। ग्रामीण परिवेश न हो, उमेर पुगिसकेको दम्पतीलाई सबैले दिने नि:शुल्क सुझाव, चासो, चिन्ता 'बच्चा जन्माउने कहिले हो?' भन्दै करकर गर्न थालिहाल्थे। दिन बित्यो, महिना बित्यो, साल बित्यो तर अहँ कल्पना गर्भवती नै भइनन्। उनीहरूले धामी झाँक्री, डाक्टर वैद्य, गर्न बाँकी केही राखेनन्।
सहर गई दुवै दम्पतीले चेकजाँच गर्दा कुनै न कुनै उपाय निस्कन्छ भनेर घरपरिवारले सल्लाह गरी उनीहरूलाई राजधानी पठाए। त्यहाँ चेकजाँच गर्दा ल्याब रिपोर्टमा कल्पनाको डिम्बासयमा समस्या भएको हुँदा सन्तान हुने सम्भावना नरहेको कुरा रिपोर्टमा देखियो।
डाक्टरको भनाइ सुनेर बिछिप्त भई भक्कानिँदै उनीहरू फर्किए। त्यो कुरा बाआमालाई भने। तर सो कुरा एक कान दुई कान हुँदै गाउँलेहरूले थाहा पाए। उमेरले ३० नाघिसक्यो र पनि बच्चै नबसेपछि छिमेकी अनि आफन्तहरूले यसरी कुरा काट्न थाले कि, मानौं बच्चा नहुँदा उनीहरू दम्पतीलाई भन्दा चिन्ता ती कुरा काट्ने कुरौटेहरूलाई पो छ जसरी। खेत, खलियान, चोक, चौतारो, पानी, पँधेरो, अर्मपर्म, मेलापात जाँदा होस् या जुम्रा हेरिदिँदा उनीहरूकै विषयमा चर्चा परिचर्चा हुन थाल्यो।
बिस्तारै सासूससुराले कल्पनालाई गर्ने व्यवहार परिवर्तन हुन थाल्यो। अत्यन्तै सामान्य भन्दा सामान्य गल्तीमा पनि तिललाई पहाड झैं बनाएर गिजोलिन थालियो। सामान्यभन्दा सामान्य कुरामा पनि झर्की फर्की अनि गालीगलौजको निरन्तरता यसरी बढ्दै गयो कि उनीहरूको छोरोको बर्बादीको लागि नै कल्पनाको जन्म भएको हो। त्यो सब सुनेर उनी कसैलाई जबाफ फर्काउँदैनन् थिई। मात्र आफ्नो स्वास्थ्यको कारण आफ्नो प्राणभन्दा प्यारो गोकर्ण टाढा नभैदियोस् भन्ने उनको एकमात्र ध्यान हुन्थ्यो।
उमेरले ३३ कटिसक्दा पनि कल्पनाबाट बच्चा हुने कुनै सुरसार नभएपछि फूपू र दिदीहरूले अर्को बिहे गर्न केटी हेर्दै गरेको फोनमा कुरा गरेको उनले सुन्थिन्। उनी आग्लो लगाएर कोठामा एक्लै धेरै रून्थिन्। आफ्नै कारण यो सब भएको, कस्तो दिन जन्मेछु, आफ्नो पनि त शरीरका सबै अङ्गहरू अरू महिलाहरूका झैं सद्दे छन् र पनि अरूले चाहिँ बच्चा जन्माउन सक्ने तर आफू नसक्ने हुँदा आफूले आफैलाई कस्तो अभागी रहेछु! भन्दै रूदै बिलौना गर्दै दिन गुजारिरहेको थिइन्।
कहिलेकाहीँ भर्खरै ब्याएको बाख्राको सानो पाठोले च्वाम-च्वाम माउको दुध पिएको देख्दा उनले आफूलाई सम्झन्छिन्। परालको कुन्यौनिर छिमेकीको कुकुरले ७ वटा बच्चा जन्माउँदा उनले आफूलाई सम्झन्छिन्।
छिमेकीको सानी बच्ची खेल्दै आँगनमा उफ्रिएको देख्दा उनले आफूलाई सम्झन्छिन् अनि झन् भक्कानिँदै भित्रभित्र मन रूवाउँदै जसोतसो दिन गुजारिरहेकी छिन्। उनी एक्ली हुँदा सोच्छिन्, हुन पनि हो, बाआमाका एकमात्र सन्तान गोकर्ण, उनको पनि सन्तान भएन भने त यो वंश नै साँच्चिकै सकिन्छ त। यो सब मेरो आफ्नै कारण त भएको हो भन्दै आफूले आफैलाई अपराधी घोषित गरी आत्महत्याको कोसिस पनि गर्छिन्, तर सबै प्रयासहरू असफल हुन्छन्। दिनभरि काममा व्यस्त हुने उनीहरू रात परेपछि एकले अर्कालाई हेरी धेरै रून्छन्। कल्पनाले पतिसँग आफ्नो कारण हजुरको वंशै नाश हुने भो भन्दै माफी माग्दै रून्छिन्।
एकदिन हिम्मत बटुलेर कल्पनाले एक अर्जेण्ट कुरा भन्नु छ हजुरलाई आज भनेर समय मागी राति पतिलाई भन्न थाल्छिन्, 'हेर्नुस् बुढो, घरपरिवार, आफन्त, अनि साथीभाइहरूले भन्नुभएको कुरा सही हो। हाम्रो उमेर पनि बिस्तारै ढल्दै छ। हाम्रो कुनै बच्चा भएन भने त यो घरको के हुन्छ हालत्, मेरो एक रत्ति पनि चिन्ता नगरी हजुरले अर्को बिहे गर्नुस्। बरू हामी मिलेर कुनै दिन पनि कुनै कलह नगरी सँगै बसौंला, केही फरक पर्दैन, मेरो टेन्सन केही गर्नु पर्दैन। बिहे गरी वंश परम्परा अगाडि बढाउनै पर्छ हामीले। अझै कतिन्जेल अपुत्रा, अपुत्रीको दाग लिएर हिँड्नु हुन्छ, आखिर समस्या त ममा न हो। यसमा हजुरको कुनै दोष छैन। त्यही भएर मेरो सुझाव मान्नुस्। अर्को बिहे गर्नुस्। बरू केटी खोज्न म पनि सहयोग गरिदिन्छु व्यावहारिक, कानुनी जे जति अड्चनहरू आइपर्छन् त्यो सबैको गाँठो फुकाउन म सहयोग गर्छु तर तपाईंले मेरो प्रस्तावलाई स्वीकार्नुहोस्' भनेर सम्झाउँछिन्।
यो सुनेर गोकर्ण आँखाभरि आँसु पारि 'के बोलेको तिमीले यस्तो, हेर कल्पना, हाम्रो सन्तान नहुँदा तिमीलाई सारा गाउँले, आफन्त, नातागोता अनि घर भित्रैकाहरूले दिएको छुद्र वचनको बारेमा जानकार छु म। मैले धेरैपटक बाआमाको त्यस्तो बचन सुनेको छु आफ्नै कानले। तर घर परिवारभित्र सम्बन्ध नधम्लियोस् भन्नाको लागि आफूले सहेरै बसेको हुँ। हेर सन्तान त हामीले कुनै अनाथलयबाट बच्चा लिएर वा कुनै पनि दु:ख पाएका परिवारबाट उद्धार गरी ल्याएर धर्म सन्तान बनाएर पनि त पाउन सक्छौं। तर मैले तिमीलाई त पाउन सक्दिनँ नि। तिमी त मेरो जीवन हौ। तिमीलाई गर्ने माया अरूलाई आधा भाग लगाएर कुनै हालतमा दिन सक्दिनँ । तिमीले यो सब आफ्नै कारणले मात्र भएको भनेर नसोच्नु। हाम्रो नशिबमा जे लेखेको थियो त्यही नै पाएका हौं। आइन्दा यस्ता फाल्तु कुरा गर्ने मात्र होइन, सोच्ने समेत पनि गर्यौ भने म रिसाउँछु। मेरो वाचा भयो तिमीलाई, घर परिवार आफन्त, नातागोता, साथीभाइहरूले आइन्दा कुनै किसिमको मानसिक चोट दिने छैनन्। अहिले कुनै पनि कुरा मनमा नखेलाई सुत। मलाई भोलि सहर जानुपर्ने एक अर्जेण्ट काम परेकोले कपडाहरू तयारी गरिदिनु है' भनेर सम्झाउँदै दुबै जना सुत्छन्।
कोल्टे परेर कल्पनाले थाहा नपाउने गरी गोकर्णले आफ्नो आँसु पुस्छ।
भोलिपल्ट एकाबिहानै गोकर्ण काठमाडौं पुगेर पहिलाकै डाक्टरकोमा पुगेर आफ्नो श्रीमतीले बालबच्चा नभएको कारण उनले समाज तथा घर परिवारबाट खेपिरहको पीडा, उनी अहिले लगभग डिप्रेसनको हालतमा पुग्नै लागेको र बारम्बार आफूलाई दोषी किटान गरी आत्महत्याको समेत प्रयास गरेको कुरा, साह्रै अभागी रहेछौं हामी दम्पती डाक्टर साब' भन्दै हात जोडी रूँदै दु:ख बिसाउँछ। र डाक्टरलाई उनलाई थप मानसिक टर्चर नहोस् भन्नाको लागि 'गर्भ नरहनुमा श्रीमतीको कारण नभई आफ्नो कारणले त्यस्तो भएको हो' भन्ने खालको रिपोर्ट बनाइदिन अनुरोध गर्दै बिन्ती गर्छ।
गोकर्णको सबै कुरा ध्यानपूर्वक सुनेपछि आफ्नो ३३ वर्षे डाक्टरी पेसाको कार्यकालमा यो पहिलो अनौठो प्रस्ताव थियो, जसले डाक्टरको मनमा छोयो। डाक्टरले आँखा चिम्म पारे अनि एकछिनसम्म सोचेर मनोवाद गर्छन् कि, उसको कुरा सही भएता पनि मैले आफ्नो पेसागत धर्मले त्यस्तो गर्नु अपराध ठहरिन्छ। तर फेरि अर्को मनले भन्छ कि, कसैलाई कुनै कुरा अत्यन्तै सामान्य लागिरहेको हुन्छ भने त्यही कुराले कसैलाई भित्रभित्रै पीडा दिइरहेको हुन्छ। यो मान्छे पुरूष भएर त यत्ति चिन्तित अनि दुखी छ भने सबै तिरबाट 'बाझी' को उपमाको दुर्बचन सहँदै जीवन काट्दै गरेकी यिनकी श्रीमतीको हालत के होला? एक मान्छेले आफ्नो पत्निलाई दुखी नदेख्न यस्तोसम्म गर्न तयार हुन्छ भने मेरो एक लाइन राइटिङ्ले कुनै दुखी नारीले जीवन पाउँछिन् भने म त्यो अपराधी कहलिन राजी हुनै पर्छ। पेसा भन्दा अगाडि त मेरो पनि परिचय 'मानव' हो नि भन्ने निर्क्यौल निकालेर बुढाबुढीले समेत बुझ्ने स्पष्ट भाषामा उनले भनेको जस्तै गरी रिपोर्ट लेखिदिए, अनि पछाडि फर्किएर आफ्नो चस्माभित्र छचल्किरहेको आँसु रूमालले पुछे।
अनि भने 'म विभिन्न जिल्लाहरूमा पुगेर यही पेसा विगत ३३ वर्षदेखि अपनाउँदै आएको छु। तर मैले तपाईं पहिलो श्रीमान भेटेँ, जो आफ्नो श्रीमतीलाई यत्ति धेरै माया गर्ने। तसर्थ म भन्छु भाइ, तपाईं जस्तो असल श्रीमान पाउने तपाईंकी श्रीमती अभागी होइन संसारकै सबैभन्दा शौभाग्यशाली नारी हुन्। बुहारीलाई मेरो धेरै सम्झना अनि आशीर्वाद सुनाइदिनुस् है' भनी बिदा गर्छन्।'
रिपोर्ट लिएर ढोकानिर पुगिसकेको गोकर्ण फर्किएर डाक्टरको गोडा समातेर धुरु धुरु रुन्छ।
'डाक्टर साब् कुनै पनि जुनिमा हजुरको यो गुन तिर्न सक्दिनँ म, यत्ति भएपछि मेरी श्रीमतीले जीवन पाउँछे पक्कै।'
त्यो सुनेर डाक्टर पनि भक्कानिन्छिन् अनि उसलाई सम्हाल्न लगाउँदै बिदा गर्छन्।
बाहिर काउण्टरमा बस्ने रिसेप्सनिस्टलाई एकछिन चेक गर्न मानिसहरू भित्र नपठाइदिनुस् है भनेर एकछिन सम्हालिन्छन् भने गोकर्ण आँसु पुछ्दै बिदा भई भोलिपल्ट गाउँ फर्कन्छ।
गाउँ पुगेर 'आफ्नै कारणले चाहिँ बच्चा हुन नसकेको' कुरा रिपोर्टमा आएकोले आइन्दा अर्को बिहे गर्ने कुरा नगर्न/नगराउन बाआमालाई सम्झाउँछ। यो जन्ममा मेरो नसिबमा सन्तान लेखेको रहेनछ। अब तपाईंहरूले कुनै चिन्ता नलिनुस्। हामी जे छ, त्यही वर्तमानमा रमाएर जीवन काटौंला भनी परिवारलाई सम्झाउँछ। कल्पना पिँढीमा बसेर यो सब सुनिरहेकी हुन्छिन्। उनको दुख देख्न नसकेर पतिले यो गरेको देख्दा कल्पनाको मन, मुटुमा आँखामा गोकर्ण जत्तिको असल, बुझकी अनि जाति पुरूष सायद यो संसारैमा कोही पनि छैन होला भन्दै पतिप्रतिको श्रद्धा , प्रेम अनि सम्मान झन् यति बढेर जान्छ।
सासूससुराले पनि समस्या बुहारीको त होइन रहेछ, आफ्नै छोरोको पो त कमजोरीले गर्दा त्यस्तो भएको रहेछ भनेर बुहारीलाई क्रमिक रूपमा पहिलाझैं माया गर्न थाल्छन्। अहिले त्यो जोडीको प्रेम वास्तवमै गाउँभरिमै उदाहरणीय देखिन्छ। गोकर्ण पनि अहिले बा,आमा अनि कल्पनासँग हाँसीखुसी जीवन बिताइरहेको छ।