शनिबार छुट्टीको दिन। अक्सर शनिबार कसैले घुम्न जाने दिन, कसैले हप्ताभरिका लत्ताकपडा धुने दिन त कसैले घुम्न जाने दिन भनेर परिभाषित गर्ने गर्छन्। तर मेरा लागि भने शनिबारले छुट्टै परिचय लिएर आउने गर्छ। केवल मेरो लागि मात्रै भनेर छुट्टाएको दिन हो-शनिबार। नितान्त मेरै मात्र। आज पनि शनिबार परेको छ। त्यसैले निस्फिक्री संसार नियाल्दै आज बार्दलीमा चिया र मेरा भावना मन्द हावाका साथ दोहोरी खेलिरहेका छन्।
समयले कहिलेकाहीँ कोल्टाे फेर्छ भन्छन् साँच्चै त्यो इन्द्रेणी कहिले छाउँला मेरो जीवनमा रङ्ग भर्न? थोरै आश्वासनको घैलो उघार्दै चिन्ता नगर्नको भाव प्रकट गर्छु। लोक सेवा पास गर्नैपर्छ भन्ने अठोटमा बसेका विद्यार्थीले दिएझैं जिन्दगीको परीक्षा मात्रै पास गर्न भए पनि तुरून्तै जबाफ दिन्छु। आज मेरो जन्मदिन। सादा जीवन र सोचकी मान्छे भएरै होला मेरो जन्मदिन कहिल्यै रंगीन भएन। अलिकति रातो रङ्ग भर्न खै कसको उपस्थितिको पर्खाइमा छ। मनले एकतमासमा प्रश्न र उत्तरको लेनदेन खेलिरहेको बेला फोनको घण्टीले मेरो ध्यान तान्यो।
'हेलो,स्वप्ना! पुकुली सुन्न आज छोरीको बर्थ डे। बेलुका घरमा आइजा है पर्खिरहेकी हुनेछु। अनि शुभ जन्मोत्सव प्यारी आज तेरो पनि त जन्मदिन।'
छर्लङ्ग पारी र फोन राखी। आजको अवस्थामा आइपुग्दा मलाई ५ वर्ष पहिलेको जन्मदिन याद आयो। आउनुहोस् तपाईं पनि मेरो सम्झानामा सामेल हुन।
त्यसदिन ब्रम्हमुर्हुत सँगै फोनमा बजेको अर्लामले मेरा इन्द्रीय छरपष्ट भए। उज्यालो देख्नलाई अलि धेरै कष्ट आँखाले पक्कै गरेकै हुन्। बिहानीको बताससँगै चिया पिउनु मेरो लागि स्वर्ग यही हो लाग्छ। त्यसैमाथि मेरो जन्मदिन। १ वर्ष बढेसँगै थप जिम्मेवारी बढेको महसुस भैरहेको थियो। परिस्थिति र ठाउँ मात्रै फरक थियो तर चिया स्वाद भने यस्तै-थोरै गुलियो। चिया पिउँदै थिएँ। एकैछिनमा 'ह्याप्पी बर्थ डे मेरी पुकुली' शब्दको चरमस्पर्श मेरा कानले गर्न पुगे। स्वप्ना भनेर अनुमान मनले लगाइसकेको मात्रै के थियो छेवैमा पुगी र जोडले अङ्गाल्दै भनि 'ल आखा बन्द गर त।'
'किन?'
'गर्न गर।'
'हवस्'
'ला।'
आँखा खोल्दा हातमा धपक्क बलेको मनबत्ती सँगैको केक राखी र गुनगुनाइ ह्याप्पी बर्थ डेको गीत। मैले धन्यवादको वाणी निकाल्न नपाउँदै स्कुटर घुमाई र पशुपति पुर्याई। जहाँ श्रीकान्त,अभिग्य, तपेन्द्र, कायरा र मिना थिए। कहिल्यै केक नकाटेकी मैले पहिलो पल्ट यसरी मानव सेवा आश्रममा काट्न पाउँदा सुनमा सुगन्ध महसुस गर्नुका साथै धेरै हर्षित थिएँ।
एकदिन आश्रम जान मन छ मात्रै के भनेकी थिएँ स्वप्नाले त यो अवसर नै जुटाइदिई। त्यसैले भन्छन् नि सयौं स्वार्थी भन्दा एक नि:स्वार्थ मित्र कयौं गुणा ठूलो हुन्छ भनेर।
हो त्यस्तै मित्र मेरा लागि स्वप्ना थिई। दिनभरिको थकानले होला बेलुका सुकोमल ओछ्यान पाउनासाथ निन्द्रादेवीले छोइहालिन्। मन भने बेचैन नै थियो।
बिहान आश्रममा भेटेका आमाबुवाका अँखाले शून्यताको भावमा केही त खोजिरहेका थिए। साँच्चै कति निर्दयी हुन्छन् है छोराछोरी। त्यसैले त भनेका रैछन- आमाबुबाको मन छोराछोरी माथि, छोराछोरीको मन ढुङ्गामुढा माथि भनेर।
मन खिन्न भैरह्यो। एकैछिनमा म्यासेज बक्समा कुरेको एसएमएसको सम्झानाले तान्यो जुन बिहान पशुपती जाँदै गर्दा बजेको थियो। म्यासेज बक्स खोल्ने झिनो प्रयास गरिनै हालेँ। लेखिएको थियो-शुभ जन्मोत्सव डा.साहेबा! जिन्दगी रंगीनमय र उल्लासमय बनोस्।'
नम्बर नयाँ थियो। त्यसैले फोन फर्काम् र नफर्कामको दुबिधाले बाँधिरह्यो। भर्खरै प्रेम विछाेडका काँडाहरूले रक्ताम्मे भएकी म कसैले देखाएको आफ्नोपनबाट पनि झस्किन्थेँ। त्यसैले त बेवास्ताका तीरहरू बर्साइदिन्थेँ। मेरा लागि प्रेम देखाउनेहरू रंगशालाका नाटकीय पात्रझैं लाग्न थालेका थिए।
मेरो दैनिकी रत्नपार्क र सुन्धाराको बाटो पर्थ्यो। म जाँदा आउँदा कलेज पढ्दै गरेका विद्यार्थीहरू नगन्य मात्रामा भेटिन्थे। कोही एउटा एयरफोन दुई जनाले लगाएका हुन्थे त कोही एकअर्काको हात समाउँदै हिँडेका पनि देखिन्थे। म भने थोरै इर्ष्यालु भावमा ओठमा मुस्कान ल्याउँदै आकाशतिर आँखा सोझ्याउन्थेँ।
रूखमा पनि जोडी परेवा एकअर्कालाई ठुङ्दै बसेको देख्दा मलाई नै जिस्काको जस्तो आभास हुन्थ्यो। प्रेम गर्नेहरू झुठा हुन्छन् र मायामोह क्षणिक सुख मात्रै हो। पर्खेउ एकदिन तिमीलाई यसको अनुभव तितो हुनेछ भन्दै आफैमा भक्किन्थे र लम्किन्थेँ फेरि आफ्नै गन्तव्यतिर।
थापाथलीको इमर्जेन्सी कक्ष।
बेड न.२ मा बिहान मात्रै भर्ना भएको जोडी थियो। भर्खरै दुर्घटनामा परी श्रीमतीको हात भाँच्चिएको रहेछ। नवविवाहित जोडी जस्तै कति प्रेमिल थियो। आँखा लोभिएर मनलाई भने- हेर त कोही त चाहिन्छ जो दु:खसुखको सहयात्री बनोस्। कहिलेकाहीँ इन्द्रीयको उक्साहाटमा म पनि उक्सिदिन्थेँ। फेरि अपुरो प्रेमका दागहरू आलो बनी आउँदा झस्किन्थेँ र पछि सर्थें।
मलाई किताबसँग अनौठो प्रेम भएको थियो। मेरा सुख दु:खका सहयात्री किताब नै थिए। समय मिलाएर सेन्ट्रल लाइब्रेरी जान्थेँ। कविहरूका वास्तविक र काल्पनिक भावनासँग जोडिन असाध्यै आनन्द लाग्छ। पहिलो टेबल झ्यालसँगै जोडिएको छ। त्यही टेबलको छेवैमा बसी हजारौं सपनासँग भागदौड गरिरहेका विद्यार्थी, थोरै भए पनि जिन्दगी लम्ब्याउन भगवानसामु हात फैलाइरहेका बिरामी नियाल्नु मेरो दैनिकी थियो।
म मंगलबार मन्दिर जाने गर्छु। मंगलबार मन्दिर गएर लाइब्रेरी पसेकी थिएँ। त्यसदिन लाइब्रेरी केही नौलो लागिरहेको थियो। बेलुनले हरेक टेबल सजिएको थियो। पहिलो टेबलको एक कुनामा रातो गुलाफको फूलसहित एक पत्र राखेको देख्दा आँखा नलोभिएका भने पक्कै होइनन्। हेर्दा लाग्थ्यो, सायद कसैले आफ्नी प्रेमिकालाई प्रेम प्रस्तावको तयारी गर्दैछ। आँखालाई चारैतिर घुमाउँदा परपरसम्म पनि कसैलाई नदेखेपछि पहिलो टेबलतिरै खुट्टा लम्काएँ।
गुलाफको सुगन्धले नै मनलाई तानिरहेको बेला पत्र माथिको रातो पानको पातले झन् म लोभिएँ। आँखा भने पत्रमा भएको नाम र ठेगानातिर दौडिए। म अपलक भएँ। उक्त पत्रको नाम/ठेगाना मेरै राखिएको थियो-दिपिका रिजाल। अविश्वासमाथि पल थियो। समातम र नसमातमको दुबिधाले घच्घचाइरहँदा पनि पत्र टिपेर हातमै लिएँ।
हत्तपत्त पत्रको पहिलो पाना खोलेँ।
लेखिएको थियो-तपाईंलाई यसरी सजिएको देख्दा इन्द्रेणीले पनि ईर्ष्या गरिन् होलिन्। साँच्चिकै कति प्यारी देखिनु भएको डा. साहेबा आज। कौतुहलताले अत्याउँदै दोस्रो पाना पल्टाउने दुस्साहस तुरून्तै गरिहालेँ।
कति सुहाएको पहेँलो रङ्ग तिमीलाई
लाग्छ एकोहोरो हेरिरहुँ तिमीलाई
तिम्रै लागि प्रेमको भारी बोकी हिँडिरहेछु
चौतारी बनाउन चाहन्छु अब तिमीलाई।
यसरी सायरी रचिएको देख्दा एकछिन त हाँस नउठेको भने पक्कै हैन। पठाउनेको परिचय खोज्न थालेँ तर पाउन भने म असक्षम नै रहेँ। उक्त घटनापश्चात् मन स्थिर रहनै मानेन। मेरै नाम र ठेगानामा कसले र किन छोड्यो होला? आखिर ऊ को होला? धेरै दिन यही प्रश्नले पछ्याए पनि सलुसन भने भेटाउन सकिनँ।
केही दिनयता काठमाडौंमा डेंगीले सताइरहेको थियो। अस्पतालमा बिरामीको संख्या ह्वात्तै बढेका थिए। एक्कासि ज्वरो आउने, थला पर्ने र रगतमा प्लेटलेट्स कम देखिने लक्षणहरू धेरैमा देखिन्थ्यो।उक्त चपेटामामा म पनि पर्न पुगेँ। काममा जान नसक्ने कुरा वार्ड इन्चार्जलाई भनिसकेकी थिएँ। पाँचौं दिन पुग्दा अलिकति निको भएको अनुभव भयो। बस्दा बस्दा दिक्क लाएर सकिनसकी भए पनि मनले लाइब्रेरीसम्म डोर्याइहाल्यो। जहाँ म निस्फिक्री सास फेर्न सक्थेँ। म चियाकी अम्मली। अक्सर सानो थर्मसमा चिया बोकेरै हिँड्ने गर्छु। कपमा चिया र हातमा सुबिन भट्टराई दाइको इजोरिया राखेँ। उहाँका हरेक शब्दमा प्रेम भेट्न पुग्छु। शब्दहरूको चरमस्पर्शमा चुर्लुम्म डुबिरहेकै बेला कसैको प्रश्नको गुन्जाएमान ध्वनि मेरा कानसम्म परे।
'कता हराउनुभएको थियो डा.साहेबा?' आँखालाई थोरै माथि सोझ्याएकी मात्रै के थिए गहुँगोरो वर्णको, गालामाथि छपक्कै दाह्रीले भरिएको,आकासे रङ्गको सर्ट र फर्मल पाइन्टमा करिब ५.५ फुट अग्लो मान्छे मेरै अघिल्तिर पाए।
आँखा झिमिक्क पार्न नपाउँदै मनले आहा भन्न भ्याइसकेछ। आश्चर्य मान्दै नचिनेको इसारा तेर्साइदिए। एकछिनको सन्नाटालाई तोड्ने जमर्को गर्दै- के म तपाईंसँग केही मिनेटलाई सहयात्रा गर्न सक्छु?
उनको प्रश्न थियो।
मलाई खै के भन्ने थाहा नहुँदा पनि हुन्छ को इसारा उनले बुझेछन् क्यारे हामी रत्नपार्कसम्म सँगै गयौं।
'तपाईं किन यस्ती?'
'किन कस्ती छु र?'
'अरूभन्दा अलि फरक।'
'खै,सायद हेर्ने मान्छेका नजरमा पनि भर पर्न सक्छ। भन्छन नि्- फूलको आँखामा फूलै संसार।'
'हो है, तपाईं जति कसले सकोस्।'
यस्तै-यस्तै भलाकुसारी मै बाटाे काटेको पत्तै भएन। सुकेधारा आउनुहोस्- कन्डक्टर दाइको आवाजलाई पछ्याउँदै सोझिएको मेरो टाउको देख्दा उनले बुझेछन् क्यारे हवस् जानुस् भन्दै उभिए।
हामी छुट्यौं त्यहीँ रत्नपार्कबाट। पछि मात्रै थाहा भयो मैले त नाम नै सोध्न बिर्सेछु। उक्त घटनापश्चात ममा आइरहेका प्रश्नका फाइरिङहरूले सायदै दोस्रो विश्वयुद्ध निम्त्याइरहेका थिए। म नर्स कसरी थाहा भयो? मेरो जन्मदिनको म्यासेज के उनैको थियो? आखिर उनी को हुन्? नाम के होला? रातैभरि आँखा छटपटाइरहेँ र मन त्यो अज्ञात भेटको सम्झनामा अतृप्त रहिरह्यो।
अब लाइब्रेरी सँगको मेरो भेट बाक्लिएको थियो। थाहा थिएन लोभ नयाँ किताब पढ्ने थियो या अपरिचित व्यक्तिको खै। प्रत्येक कुना परिचित रहेको ठाउँ पनि उनको अनुपस्थितिमा बिरानो भैदिन्थ्यो।
पहिलो मेरो टेबल हुन्थ्यो र अन्तिम उनको टेबल। दुरीमा अलि टाढा भए पनि नयन बेलाबेला उनीसँग ठोकिन्थे र मनले सन्चो बिसन्चो सोधि भ्याउन्थे। यसरी नै कयौं दिन अनि महिना बिते। कता कता यो मरूभूमिमा पनि थोरै हरियाली छाएको आभास थियो। सायदै म फेरि प्रेममा पो पर्न थालेकी थिएँ कि! म थोरै भएनि विछोडको पीडा भुल्न थालेकी थिएँ।
शिशिर ऋतुको खडेरीमा पनि आफूमा बसन्तऋतु छाएको महसुस गर्दै थिएँ।
एकदिन बिहीबार मर्निङ ड्युटी निस्किँदै गर्दा फोनमा एसएमएसको नोटिफिकेसन बज्यो। ढिलो भएकाले हेर्नै बिर्सिएछु। दिउँसोको मेडिकेसन सकाएर म्यासेज बक्स हेरेँ- शुभबिहानी डा.साहेबा।कस्तो छ हजुरलाई? शनिबार कफीमा भेटुम्? म बेलुका ५ बजे लिफ क्याफेमा पर्खिरहेको हुनेछु। उही तपाईंको शुभचिन्तक- सहित पछाडि रातो पानको पातमा म्यासेज सकाइएको थियो।
बेवास्ताको ढोङ्ग जति नै रचे पनि यदाकता अशान्ति मनमा छाइरहन्थ्यो। दिउँसो रूम फर्किंदा शंखपार्क पसेँ। ब्यागमा आश्विनी कोइराला जीको जुकरवर्ग क्याफे राखेँ अनि पल्टाएँ पे.न १२०।
एकैछिनमा आफ्नो बैशमा ढकमकिएकी गुलाफमा भुनभुनाइरहेका भमराले मेरो ध्यान खिचे। प्रेमबाट उत्पीडित भएकी म यस्तो दृश्य देख्दा अनायसै प्रश्न गर्थें- प्रेम त नि:स्वार्थ हुन्छ हैन र? अनि फेरि प्रेम शब्ददेखि नै घृणा जाग्थ्यो।
शनिबार बिहान सबै नृत्यकर्म सकाएर बसिरहेकी थिएँ। मलाई आजकै दिन कसैले क्याफेमा कुरिरहने छु भनेको कुरा झल्झल्ती यादमा आइरहे। जाम र नजामको दोसाँधमा फसिरहेँ र करिब ४ घण्टाको स्व:बहसपछि अन्तिममा जान्छुको निचोडमा पुगेँ।
थाहा थिएन यो गलत थियो या सही तर मनले जानुपर्छ भन्यो। कुन लुगा लगाएर जाने अनि कुन रङ्गको? यो सम्भवत: मेरो पहिलो डेट थियो। त्यसैले कुनै मेसो नपाएपछि स्वप्नालाई फोन गर्ने सोचेँ।
करिब १२ बजेतिर स्वप्नालाई फोन गरेँ। रिसिभको संकेत पाउना साथ कानमा सुकसुकको आवाज गुन्जियो। मैले के भयो तँलाईंको वाणी फुत्काउन नभ्याउँदै ऊ नै बोली- हेर्न अभिज्ञले बिहे गरेछ।
'हँ के भन्छे? होसमा त छस्?'
मैले अस्वीकार रूपी प्रश्नहरू तेर्साइरहेँ।
'हो यार म परफेक्ट भइनँ रे उसको परिवारको लागि। फलस्वरूप उसले अन्तै बिहे गर्यो।' फोन काटी।
उसको यो वाक्य मेरो मनासपटलमा यसरी गुन्जिरह्यो कि बारम्बार अल्जाइमरका झट्का ल्याइरह्यो। स्वप्ना र अभिज्ञ वर्षौंदेखिको प्रेम सम्बन्धमा थिए। उनीहरूको प्रेम उदाहरणीय थियो। फेरि जस्तै बिछोड मेरै साथीमाथि दोहोरिन पुग्यो। सम्झिनै नचाहने याद हत्यारा बनिदिँदा रहेछन् जिन्दगीको।
म गलेको महसुस गर्दै थिएँ। आखिर साँचो प्रेम किन सफल हुँदैन? प्रेममा राजनीति किन गरिन्छ? सामजिक कुप्रथाको सिकार प्रेम बन्न पुग्छ किन? यस्ता थुप्रै प्रश्नको जबाफ खोज्न मलाई हम्मेहम्मे परिरहेको बेलामा आफ्नै साथीमाथि परेको बज्रपातले फेरि म टुटेँ।
यदाकता मेरो मरूभूमिमा प्रेमको बिउ जगाउन मात्रै खोज्दा स्वप्नाको बिछोडले फेरि खडेरी ल्याइदियो।
स्वप्नाको हालखबर बुझ्नलाई फोन गरेँ। आन्टीबाट थाहा पाएँ उसलाई त हस्पिटल भर्ना गरिएको रहेछ। थाहा पाउना साथ स्कुटरलाई ७० को स्पिडमा दौडाएँ र पुगेँ टिचिङको इमर्जेन्सी वार्ड। मेरो मुटु भने १०० बि/मिको भन्दा धेरै चालमा दौडिरहेको थियो। ऊ बेडमाथि कक्रक्क परेर जिन्दगीमा सबै रित्तिएको मुद्रामा बसिरहेकी थिई। मेरो पनि अतितको घाउ भर्खरै नुनचुक छर्केझैं गरी पोलिइरह्यो। एकअर्कालाई अगाल्दै रून पुग्यौं। कथा ब्यथा मिल्ने पात्र पाएर होला मन रोकिनै मानेन सँगै आँखाबाट अदृश्य ती व्यथाहरू मोती बनी बगिरहे।
घटना भएको ६ महिनापछि स्वप्नाको इन्जिनियरिङ पढेको केटासँग काठमाडौंमा मागी विवाह भयो।
हिजोआज स्वप्नासँग भेट हुँदा उसको वैवाहिक जीवन सम्बन्धी कुराहरू जोडिन्छन् र सोध्छु- तँलाई फेरि प्रेम भयो स्वप्ना?
भन्छे- सुरूमा त भएन तर विस्तारै उहाँको व्यवहारबाट म प्रभावित भएँ। पहिलो प्रेमको सबै नैरास्यता उहाँसँग कहिले प्रेममा परिणत भयो पत्तै पाइनँ। प्रेम कसरी हुन्छ ठ्याक्कै भन्न नसकिने तर जसरी हुन्छ बस हुन्छ मिठै हुन्छ। सम्झिँदा अनौठो लाग्ने।'
हिजोआज यसरी परिभाषित गर्दिन्छे र त मलाई पनि सादा जीवन रङ्ग्याउन रहर जागिजान्छ। काश मेरो पनि कोही भैदिए। यस्ता कुराहरू मनै हुरीझैं चलिरहन्छन्। आजभोलि म पनि काल्पनिक नै सही प्रेम सजाउन थालेकी छु। यस्तो सम्बन्ध जहाँ इज्जत, विश्वास र प्रेम मात्रैले भरिएको हुनेछ। हामी एकअर्काको अनुपस्थितिमा अपूरा /शून्यतामा हुनेछौं। अब म चरासँग उडिदिन्छु,भमरासँगै गुनगुनाइदिन्छु। संगीतबिना नै नाचिदिन्छु। गोधूलिसँग रङ्ग मिसाइदिन्छु। शंखपार्क, कमलपोखरीका खाली बेञ्च अझै मेरा एक्लापनका सहयात्री छन्।
म स्वप्नाकी छोरी कायराको जन्मोत्सव समारोहमा सामेल हुन जाँदैछु। अहिले रत्नपार्कको बाटो हुँदै सुन्धारास्थित सेन्ट्रल लाइब्रेरीको आडैमा उभिएकी छु। घडी हेरेँ ५ बज्न १० मिनेट बाँकी। समय देख्दा अतितले झस्कायो। ५ वर्ष पहिलेको यादले सतायो। कसैले मलाई शनिबारकै दिन लिफ क्याफेमा बेलुका ५ बजे कुरिरहने बाचा गरेका थिए। उनी आए होलान् कि आएनन् होलान? आखिर उनी को होलान्? के अझै मेरै पर्खाइमै होलान्? कास हुँदा हुन् त।
'सातदोबाटो सातदोबाटो, जाने हो?' अहो बस त मेरै छेउमै उभिएको रैछ।
'ओ बहिनी जाने हो?'
'कोटेश्वर जान्छ?'
'हजुर जान्छ।'
अतितमा हाराएकी म झस्किन्छु र पुनः नयाँ यात्रामा अपूरा यादसँगै सामेल हुने कोसिस गर्छु। म विश्वासमै छु कुनै दिन मैले पनि साँचो प्रेम भेट्ने छु र सजिने छु प्रेमिल रंगहरूले।