मलाई धेरै साथीहरूले प्रश्न गर्ने गर्छन्। कहिले पढाइका कुरामा त कहिले माया प्रेमका।
म गुल्मीको भएर होला गुल्मीको बारे धेरै बयान गर्ने गर्थें। नेपाल सरकारको सचिव समेत उत्पादन गरेको जिल्ला हो गुल्मी भन्दा आफूलाई गर्व महसुस हुने गर्थ्यो। धेरै साथीले भन्ने गर्छन् गुल्मेली नभएको कुनै कार्यालय छैन। कसरी पढ्छन् लोक सेवा भनेर धेरैले प्रश्न गर्ने गर्थे।
हरेक शुक्रबार काठमाडौंको हब भृकुटीमण्डपमा चिया गफ हुने गर्थ्यो। एकदिन शुक्रबारको समय थियो कार्यालयको समय सकेर चिया गफ सुरू भयो।
प्लस टु पढ्दा देखिका साथीहरूको एउटा ग्रुप थियो।
हामी करिब ८/१० जना जम्मा हुने गर्थ्यौं। सबै साथीहरू कार्यालय समय सकेर ठिक ४ बजे भेट्ने गर्थ्यौं। सबैका आ-आफ्ना जोडी थिए। कोही मोटरसाइकलमा त कोही स्कुटरमा जोडी ठ्याक्क समयमै उपस्थित हुने गर्थे। जोडीविहीन अर्थात् एक्लो म थिएँ। सधैं उनीहरू आआफ्नो जोडी आउने गर्थे भने म सधैं एक्लै आउने गर्थें।
मलाई साथीहरूले व्यंग्य हान्ने गर्थे गर्लफ्रेन्ड छैन? सधैं एक्लै? भनेर प्रश्न गर्ने गर्थे।
मैले 'नाइँ छैन बेलैमा बनाइएन अहिले कसैले पत्याउँदैन' भनेर जबाफ दिने गर्थें।
'हैन होला हामीलाई गफ दियो' भनेर भन्ने गर्थे।
साँच्चिकै म रिलेसनमा थिइनँ। अनि छैन भन्ने गर्थें। चिया गफमा उनीहरूले आ-आफ्नो कहानी सुनाउने गर्थे। लभ यसरी परेको थियो, हाम्रो रिलेसन त यसरी अगाडि बढेको थियो नि? भनेर सुनाउने गर्थे।
त्यो सुनेर म साथीहरूको सम्बन्ध राम्रो भएकोमा खुसी हुन्थेँ। उनीहरू मलाई प्रश्न गर्थे। 'गुल्मेली भएर पनि एउटा गर्लफ्रेन्ड बनाउन सकिनस्?' मैले हाँस्दै- गुल्मेली सबै रिलेसनमा बसेका हुन्छन् र?' भनेर उत्तर दिने गर्थें।
'सरकारी जागिरे त्यसैमाथि गुल्मीको अझै गर्लफ्रेन्ड छैन भन्ने?,' भनेर झटारो हान्ने गर्थे।
कोही ५ वर्षको सम्बन्धपश्चात बिहे गरेका हौं भन्ने गर्थें। कोही अब आउने मंसिरमा बिहे गर्ने जमर्को गर्दै थिए। यही मंसिरमा स्याङ्जा र अर्घाखाँचीको जोडी विवाहमा परिणत हुँदै थियो। एड्भान्समा नै निमन्त्रणा गरिसकेका थिए। हाम्रो यो मित्रताको ग्रुप कोही छुट्नु हुँदैन। छुट्यो भने यो ग्रुपमा हामी समावेश हुने छैनौं भनेर आदेश दिने गर्थे।
उनीहरूको जोडी देख्दा म पनि जोडी बनाउ जस्तो लाग्थ्यो। तर आँट भने शून्य थियो। न त कुनै केटीसँग बोल्न सक्थेँ न त म्यासेज नै गर्न। घरमा पनि बिहेको दबाब आइसकेको थियो। घरपरिवारले सोध्ने गर्नुहुन्थ्यो। 'कुनै छ कि खोजौं?' त्यो बारेमा मैले खासै उत्तर दिन चाहँदैनथेँ। दसैंमा घर गएँ त्यो बेला पनि बिहेको कुरा चल्यो।
घरकोलाई भन्दा छरछिमेकलाई मेरो बिहेको बारेमा हतार भैसकेको थियो। चौतारो, पानी थाप्ने धारो जताततै कुरा काट्ने टोली थियो। उनीहरू भन्ने गर्थे 'बुढो भैसक्यो, उमेरले डाँडा काटिसक्यो, डुङडुङती गन्हाउने भैसक्यो किन होला अहिलेसम्म बिहे नगर्ने?' त्यो सुन्दा समाजका लागि भए पनि बिहे हान्देऊँ कि के हो भन्ने कौतुलहता जाग्ने गर्थ्यो। नेपाल सरकारको कर्मचारी पैसा कमाएकै छ केको लागि हल्लिँदै हिँडेको होला? भन्ने गर्थे। समाजले २४ सै घण्टा पैसा कमाएको देख्थ्यो तर कमाएको पैसाले भने काठमाडौंमा भाडा तिर्न र भात खान ठिक्क हुन्थ्यो। तर मेरा ती छिमेकीलाई भने लाखौं कमायो भन्ने भान थियो।
सुन तोलाको २ लाख, अहिलेको यो महँगी, ती कुरैले छिमेकीलाई भोजभतेर सम्झँदा मेरो पहाडको जग्गा जमिन बेच्दा पनि नपुग्ने स्थिति थियो। तै पनि छोरा मान्छे हो हिम्मत हार्नुहुन्न भन्ने आँट आउने गर्थ्यो।
एकदिन अनलाइनमा एक जना करिब २५/२६ वर्षको युवतीलाई अनलाइन देखेँ। पहिले अलिअलि चिनजान थियो। हेल्लो हाई गर्न खासै गाह्रो थिएन। करिब एक घण्टा जति भलाकुसारी गरेँ।
भर्खरै लोक सेवा आयोगको नायब सुब्बा पास गरेकी थिइन्। रूपले पनि साह्रै राम्री, स्वभावले पनि व्यावहारिक। दिन प्रतिदिन कुरा हुँदै गयो। हामी एक अर्काप्रति नजिक हुँदै गयौं। कुरा गर्दागर्दै एक वर्ष बितेको पत्तै भएन। एक अर्कालाई माया गरेको आभास हुँदै थियो। समय समयमा हाम्रो भेटघाट हुने गर्थ्यो। भेटमा अरूको जोडी देख्दा हामी कहिले यसरी हात समाएर हिँड्ने भनेर जिस्काउने गर्थें।
उनले भन्ने गर्थिन्- समय आउँछ हतार किन?
समय बित्दै गयो, माया दिन प्रतिदिन बढ्दै गएको अनुभूति हुन्थ्यो।
म बागमती प्रदेशबाट भर्खरै सहायकस्तर चौंथो तहमा सिफारिस भएको थिएँ। उनी मभन्दा माथिल्लो तह त्यसैमाथि संघीय सुब्बा थिइन्। यस्तै, गर्दागर्दै करिब डेढ वर्ष बित्यो। उमेर पनि बढ्दै गएको थियो। घरको भन्दा समाजको चिन्तालाई समयमै टुङ्गाउन थियो। मैले उनलाई बिहेको प्रस्ताव राखेँ। बिहे गरौं? भनेर। उनले समय हुँदैछ, सोचौँला किन हतार छ र अहिले भनेर फोन राखिन्। समय समयमा कुरा भैरहन्थ्यो। पुनः दुई महिनापछि सोही प्रश्न दोहोर्याएँ। 'बिहे कहिले गर्ने?'
उनले संघीय शाखा अधिकृत बनेर माग्न आउनु भन्ने जबाफ दिएर फोन राखिन्। म छक्क परेँ, माया कि पद? दोधारमा परेँ। उसलाई पाउन संघीय शाखा अधिकृत नै बन्नुपर्ने? प्रदेश तथा स्थानीय तहका कर्मचारीले संघीय कर्मचारी विवाह गर्न नहुने? प्राइभेटमा कार्यरत कर्मचारीले सरकारी कर्मचारीसँग विवाह नै गर्न नपाउने जस्ता प्रश्न मनमा खेले। धेरैबेर सोचेँ अनि पुनः कल गरेँ।
धेरै सम्झाउन खोजेँ।
'समयको खेल हो, जे होला भोगौंला। हाम्रो सम्बन्ध ठूलो कि शाखा अधिकृत? अधिकृत त सँगै बनौंला नि हैन र?' जस्ता प्रश्न गरेँ।
समय बित्दै गयो, उनको अडान भने कायमै रह्यो। हाम्रो सम्बन्ध पहिला जस्तो रहेन, यादहरू भने दिनप्रतिदिन मनसपाटलमा बसिरहे। आजभोलि खासै म्यासेज, फोन हुन छोड्यो। एकोहोरो सम्बन्ध के सम्बन्ध जस्तो लाग्न थाल्यो। सधैं उसलाई कुरिरहन्थेँ तर न कुनै फोन त न कुनै म्यासेज। एकदिन उनको साथीसँग भेट भयो। उनले के भैराछ सम्बन्ध? भनेर प्रश्न गरिन्। मैले सबै कुरा भनेँ।
उनले 'अस्ति फोन भएको थियो मेरो। म त बिहे गर्न लागेको भेट्नु पर्छ ल भनेकी थिई' भनेर जानकारी दिइन्।
'कोसँग रैछ' भनेर प्रश्न गरेँ।
उसले पनि सबै भन्न नचाहेपछि मैले पनि खासै सोध्न चाहिनँ। त्यसको एक हप्तापछि म्यासेज आयो 'मंसिर .. गते मेरो बिहे हुँदैछ निमन्त्रणा यही म्यासेजलाई मानेर आउनु' भनेर म्यासेज आयो।
मैले हार्दिक बधाई तथा दाम्पत्य जीवनको शुभकामना भनेर रिप्लाई दिएँ। सुन्दैछु उनको यही मंसिरमा नेपाल सरकारको शाखा अधिकृतसँग विवाह हुँदै छ रे।