प्रेम कस्तो हुन्छ ठ्याक्कै भन्न नसकिने तर जस्तो हुन्छ मिठो हुन्छ,यही चियाको चुस्की जस्तै भन्दै हातमा भएको कप उठाई र जिब्रो पड्काउँदै खाई निताले।
उसको भर्खरै बिहे भएको थियो। नौली बुहारी भएर होला पराइ घरमा बुहारी बनेर जाँदाका अनुभव सुनाउँदै थिई। अनि हामी भने एकादेशको कहानी नै सुनेको झैं निकै चाखमा सुनिरहेका थियौं।
उसको लभ म्यारिज भएर पनि होला निकै प्रफुल्लित थिई। नहोस् पनि किन वर्षौं पहिले देखिको प्रेम सम्बन्ध वैवाहिक जीवनमा परिणत हुन जो सफल भएको थियो।
दसैं बिदा सुरू हुँदै थियो। अब भेट हप्ता दिनपछि मात्रै हुने भएकाले हामी गफ गर्दै थियौं खाजा समयमा। मैले कतै बाहिर गएर चिया पिउने रहर जगाएँ। सबैले 'हुन्छ' को भाव झल्काउनुभयो।
'जान त जाउँ तर कहाँ?' केशिका म्याम बोल्नुभयो।
'मलाई मट्का चिया पिउन मन छ,' स्वाद मुखैभरि पार्दै म बोलेँ।
'ए उसो भए न्युरोडतिरै भोलि भरे भेटुम् त हुँदैन?' रविन सरले आफ्नो हितैषी मित्रको चिया पसल रहेको खुलस्त पार्दै भन्नुभयो।
'हैन। भर्खरै खुलेको नयाँ बानेश्वरस्थित चियादानीमा जाऔं। एकदमै आनन्ददायी ठाउँ छ। जुनसुकै भेराइटीको चिया पाइन्छ। अझ दिपिकाले भनेको जस्तै मट्का चिया पाइन्छ। चिया पिउँदा स्वर्गै बसेझैं लाग्छ। त्यही जाउ,' निताले बोली।
'ए ए उसो भए चियादानी नै जाम,' मैले नि निताको स्वरमा स्वर मिलाइदिएँ।
शनिबारको दिन हामी सबै चियादानीमा भेट्ने तय गरि छुट्टियौं।
आइतबारको लागि हवाई टिकट एक महिना अघि नै लगिसकेकी थिएँ। त्यसैले अलिअलि सामान प्याक गर्दै थिएँ। धेरै त थिएन किनभने लगत्तै फर्किनु पनि त थियो।
बिहानीको नृत्यकर्म सकाएँ। दिउँसोमा निता मेरोमा छिटो नै आइपुगी। बेलुका चार बजे सबैले नयाँ बानेश्वर चोक भेट्ने भनेकोले हामी निताकै स्कुटरमा लाग्यौं।
अहो यो माहोलमा भिडभाडको त कुरै नगरौं है। पुग्नलाई त हामीलाई झन्डै पौने घन्टै लाग्यो।
हामी पुग्नुपूर्व नै पूर्वा, सोनी, तपेन्द्र सर र केशिका म्याम पुगिसक्नु भएको रहेछ। मलाई बाहिरैबाट पनि चियादानी असाध्यै मनपर्यो। बासबाट बनेका थुप्रै स-साना टहरालाई गाउँले शैलीमा रातो र सेतो कमेरोले पोतिएको अनि भुइँभरी स-साना ढुंगाहरू बिछ्याइएको कस्तो हेर्दै आनन्दमयी ठाउँ आहा। अझ बस्नको लागि साना ठूला मुढादेखि लिएर फलामे कुर्ची पनि थिए। चिया पिउनलाई बनाइएको यो ठाउँ देख्दा मात्रै पनि कसको मन नलोभिएला र?
म त आफैमा झुम्न थालेँ। एक्लै पनि चिया पिउन औधि मन पर्छ मलाई। फेरि पनि पाइला यता लम्काउने निधो मनमनै नबनाएको पनि हैन।
'कस्तो राम्रो है?' थेग्नै नसकी मैले प्वाक्क बोलिहालेँ।
'हो नि। म पनि सुयोगजीसँग आउँछु कुनैदिन,' केशिका म्याम बोल्नुभयो।
सूर्यास्तमा त झनै भिड बढ्दो रहेछ। शनिबार फुर्सदिलो बार भएर होला कतै पनि ठाँउ खाली थिएन। हामी जाँदा ८/१० जना थिए भने एक घन्टामा पूरै भरियो। पछि पछि त यो कुनै चियादानी नभई रंगशाला झैं पो देखिन थाल्यो।
यी मेरा नयन भने चियादानीको परिसर घुम्ने चेष्टा गर्न थाले। भर्खरै जवानीको रङ्ग चढेकादेखि बुढ्यौलीले छोएसम्मका सबै मुहार यही देखिन्थ्यो। कुनै टेबलमा त चियामा भन्दा पनि प्रेमको स्वादमा डुबुल्की मारिरहेका प्रेमिल जोडी देख्न सकिन्थ्यो। कसैले एकअर्काको हात समाइबसेका थिए त कोही नयनले कुरा गरिरहेका थिए। छ्या के हेरेको हौ। गाली गर्न मन लायो यी आँखालाई। यसरी प्रेमको उन्मुक्तिमा रमाइरहेका जोडीहरू कति प्रिय हुन्छन् है भन्दै एक्लै भक्भकाइरहेको थियो।
आउने जानेको लस्कर उत्तिकै थियो। जति ठम्याउन खोजे पनि नजर कहाँ रोकिन्थे र? एक्कासि चियादानीको गेटमै पुगी टक्क रोकिन पुगे।
मैले योजनालाई देखेँ।
योजना, उनलाई मैले आजभन्दा एक वर्षअघि नयाँ बसपार्क काठमाडौंमा अर्धबेहोसीको अवस्थामा फेला पारेकी थिएँ। आज देख्दा लाग्दैन थियो उनी त्यही योजना थिइन्। उनको हातमा रातो रङ्गको कार्ड सजिलै देख्न सकिन्थ्यो।
एकछिन म अवाक भए के उनी योजना हुन्? अँखा झिमिक्क पनि नपारी हेरिरहेँ।
सेतो रङ्गको सुटमा थिइन्। स्काइ ब्ल्याक कपालको रङ्ग बनाएकी रहिछन्। लालुपाते उनका ओठमा कलेजी रङ्ग कस्तो सुहाएको, कालो रङ्गको ब्याग पनि भिरेकी थिइन्। तलदेखि माथिसम्म नियालेपछि बल्ल बल्ल विश्वासको दायरामा पुगेँ।
'हो उनी योजना नै हुन्।'
उनको दायाँपट्टि मोटामोटी पाँच फुट अग्लो मानिस सेतो सर्ट र कालो फर्मल पाइन्टमा उभिएका थिए। दुबै जना सँगसँगै भित्र पसे र हातको रातो कार्ड चियादानीका सञ्चालकका हातमा थमाइदिए।केही गफ गरी बधाईको धाप पाउँदै मेरै छेउको टुलमा बस्न आइपुगे। मैले आफ्नै तालमा चिया पिउँदै उनलाई हेरेँ, उनी निकै गमेकी देखिन्थिन्।
'ओ-हाई,' उनले मलाई देखिन क्यारे।
'हेलो,' मुस्कान ल्याउँदै मैले पनि चिनेकै भाव पोखेँ।
उनी मेरै टेबलमा बस्न आइन्। मेरै छेउमा कुर्ची सार्दै आफ्नोपन समेटिन्। मैले रिसेप्सनिस्ट भाइलाई एक कप चिया ल्याइदिन आग्रह गरेँ।
'अनि भन्नुहोस् के छ हजुरको खबर? कता आजभोलि?,' उनले सोधिन्।
'यतै छु। सानोतिनो काम गर्छु। जीवन धकेल्दै छु।'
'ए अनि कस्तो चल्दै छ। साँच्चै तपाईं त लेख्नु पनि हुँदो रहेछ। हजुरका लेखहरू पढ्दा मन आनन्द लाग्छ। तपाईंसँग यसरी भेट होला सोचेकी पनि थिइनँ। खुसी लाग्यो पुनःभेट्ने अवसर जुर्यो,' उनले एकै सासमा बोलिन्।
'म पनि गद्गदिए नि तपाईंसँग भेट्न पाउँदा योजना जी। अझै भन्दा हजुरमा आएको यो परिवर्तनले म त धेरै हर्षित छु।'
'तपाईंले त्यो दिन मलाई मेरो अस्तित्व नदेखाइदिएको भए सायदै म आज म हुँदिनँ थिएँ र यसरी तपाईंको सामुन्ने पनि हुने थिइनँ। तपाईं त मेरो लागि भगवान् नै बनेर आउनु भयो नि दिपिका जी, जसले गर्दा मैले नौलो जीवन पाएँ। आज जे छु यसको श्रय तपाईंलाई नै जान्छ।'
'हैन नि। मैले तपाईं हुनुको यथार्थ मात्रै प्रष्ट पारिदिएकी हुँ।'
'अनि साँच्चै के तपाईंका तिनी प्रेमी फर्केर आए? जसले तपाईंको त्यो अवस्था बनाएको थियो! मैले अतित सम्झाइदिएँ। माफ गर्नुहोस् है योजना जी मैले घाउ आलो पारेँ।'
'ऊ आएको त थियो दिपिका जी तर मैले अब उसलाई मेरो यो जीवनमा ल्याउन चाहिनँ। मैले ऊबाट छुट्टिएर जिउन पो सिकेकी छु। ऊ सँगको मेरो जिन्दगी अन्धकारमयी मात्रै थियो। अलिकति भएनि झलमलिएको छ। त्यो बिझाउने अतित ल्याई फेरि मुर्झुराउन दिइनँ। उसले त मलाई भत्केको घरझैं भताभुङ्ग,लथालिङ्ग यस्तै के के पारिदिएको थियो। तर अहिले म पुनःनिर्मित महल जस्तै चम्किएकी पो छु त।'
'कस्तो मिठो कुरा गर्नु भएको। सुनिरहन पो मन लायो त योजना जी।'
पुराना बिझाउने कुरा सकाएपछि फेरि हामी नौला सुखद गफतर्फ मोडियौं।
'अनि तपाईंले बिहे गर्नु भयो? दिपिका जी।'
'छैन नि। अब त बिहेको रहर पनि हरायो योजना जी।'
'किन नि?'
'खै! सायदै बुढ्यौलीले छोयो कि!'
सबैतिर एकैछिनमा गलल् हाँसो गुञ्जायमान भयो। सायद मेरो कुरा जोक झैं मानेछन्। सबैले मैतिर हेरे।
'अनि तपाईंले चाहिँ के सोच्नु भा'छ नि योजना जी?'
'हजुर, मैले त गर्दैछु नि। उहाँ मेरो हुनेवाला श्रीमान, पश्चिमकै हुनुहुन्छ। तपाईंकी सुदूरकी बुहारी बनेर आउँदै छु नि अब छिट्टै।'
'ओहो नि। खुसीको कुरा हो नि। आउनुहोस् हामी आतुर छौं। बुहारी बनाई स्वागत गर्न। अनि यहाँ आज कसरी?'
'धन्यवाद। खासमा कुरा के भन्दा आदित्य र मेरो पहिलो भेट यही चियादानीमा भएको थियो। यो ठाउँले थोरै समयमै हामीलाई अपरिचितबाट साथी, प्रेमी र आज जीवनसाथी बनाउने अवसर जुर्याइदिएको छ। त्यसैले कृतज्ञतित स्वरूप पहिलो निम्तो दिन आइपुगेँ। हामीलाई एक बनाउनमा चियादानीले निकै गहन भूमिका खेलेको छ।'
'कुरा यस्तो पो रहेछ।' उनी भन्दै गइन्।
'ऊ असल छ। ऊ मेरो जीवनमा आएदेखि नै म फूल जस्तै खुलेकी छु। आफूलाई इज्जत, प्रेम दिने, बुझ्ने मान्छे भए किन ढिलाइ गर्नु भनेर नै सीमित समयमा नै हामीले बिहे गर्ने तय गर्यौं।'
'ए, ए। ल बधाई छ दुबै जनालाई।'
'बधाई दिन त तपाईं वैवाहिक समारोहमा आउनुपर्छ है। तपाईंले मलाई पुर्न जन्म दिनु भयो र त मैले यो अवसर पाएँ। साँच्चै दिपिका जी तपाईं मेरो विशेष दिनमा आइदिनुभयो भने म आफूलाई निकै भाग्यशाली ठान्ने थिएँ।' भन्दै आफ्नो ब्यागबाट कार्ड निकाल्दै मेरो हातमा थमाइदिइन्।
'अवश्य पनि। म समय मिलाउने छु।'
स्थान, समयसहित सबै फर्मालिटी पुर्याएको कार्ड थमाउँदै उनीहरू म र चियादानीबाट बिदाइ भए।
पिँजडामा थुनिदिनेभन्दा सानै भए पनि उडान भर्ने पंख लाइदिनेसँग रहनु उत्तम रहेछ। आखिर योजनाले आत्महत्याको निधो गरेकी थिइन्। हो जुनकिरीकै उज्यालो दिने चाहिँदो रहेछ।
धत् म भने मेरै कालो अतितमै अल्झिरहेकी रहेछु।
'अब जाऊँ हैं।' तपेन्द्र सर बोल्नुभयो।
ला म त योजना जी मै हराएँ।
'मेरो फ्लाइट छ, निस्कौं। हामी छिट्टै भेट्ने छौं।'
मैले स्कुटर चलाएँ। निता बसी।
दरबार मार्गको रौनक हेर्न जाम है भनिरहँदा मलाई पनि जान मन लाग्यो। मैले स्कुटर घुमाएँ र लाग्यौं दरबारमार्ग।
चिसो सिरेटाेसँगै मलाई योजनाका कुराले तानिरह्यो। आज प्रष्ट भएँ।
'निभेको दीयोमा तेल राख्यो भने पहिलेको भन्दा चहकले बल्दो रहेछ।'
म भने किन सधैं मलाई निभाउने व्यक्तिको पर्खाइमा बसिरहूँ।
अहिले मेरो स्कुटर ७० कै स्पिडमा छ। खुसी र उमंग पनि बढेको छ।
म नौलो किरण ल्याई पुनः उदाउने छु।