कविता
बा! लाग्थ्यो, तिमी ऐना जस्तै छौ,
जे छौ, त्यो देखाउँछौ।
म, बा भएपछि थाहा पाएँ
बा! तिमी लास्टै ढटुँवा रहेछौ।
घाँसको मुठो बोक्दा म सुइँया गर्थें
उकालोमा ठूलो भारी हलुका हुन्छ भन्थ्यौ,
मैले बोकेको घाँसको मुठो आफै बोक्थ्यौ।
म, बा भएपछि थाहा पाएँ
बा! तिमी लास्टै ढटुँवा रहेछौ।
पारि वनमा चितुवा कराउँदा,
हामीलाई अङ्गालेर म छु भन्थ्यौ।
आँगनमा आयो भने लड्छु भन्थ्यौ,
म, बा भएपछि थाहा पाएँ
बा! तिमी लास्टै ढटुँवा रहेछौ।
हामीले खाँदा कसौडी हेर्थ्यौ,
एक दुई गाँस पछि चुठ्ने गर्थ्यौ,
दुख पीर पर्दा मुख धुने गर्थ्यौ
म, बा भएपछि थाहा पाएँ
बा! तिमी लास्टै ढटुँवा रहेछौ।
चिरिएका पाइतला लुकाउने गर्थ्यौ
जुत्ताले खुट्टा दुखाउँछ भन्थ्यौ,
पुसमा पनि सिरकले पोल्छ भन्थ्यौ,
म, बा भएपछि थाहा पाएँ
बा! तिमी लास्टै ढटुँवा रहेछौ!!