मेरै मौनतासँग डराउँछु
अनि म कराउँछु
एकान्तलाई अवसर नठानी
एक्लोपन ठानी हराउँछु
फेरि म कराउँछु
सपनाको नियात्राहरूमा पनि
एक्लै छु भनी डराउँछु
अनि म बरबराउँछु।
जब मौन म हुन्छु
तब न संगीत हुन्छ
तरंग तरंगहरूले
अनि पो मलाई छुन्छ
मौनता र एकान्तमा
मात्र पो म भित्रको म
अनि प्रकृति हुन्छ
तब न मेरो चित्तलाई
ईश्वरीय स्पर्शले छुन्छ
तर के गर्नु
मौनता र शान्तिसँग डराउँछु
एकान्तमा आफैसँग कराउँछु
निद्रामा समेत त्यसै बरबराउँछु
खिचातानी र हल्लाखल्ला
भिड र लस्करहरूमै हराउँछु।