यात्रा जिन्दगीको होस् कि कुनै गन्तव्यको सधैँ रहस्यमय अनि चुनौतीपूर्ण हुने गर्छ। त्यस्तै भयो यसपालिको दसैँमा घर जाने आउने यात्रा पनि निकै कष्टकर र अत्यासलाग्दो। आउँदा त ठिकै हो जाँदाको के कुरा गर्नु, ८ घण्टा लाग्ने बाटो ४८ घण्टा तैपनि फिस्स ओठमा मुस्कान लिएर पुग्यो घर।
गरोस् के? लाचार, निरीह र एक्लो छ। फेरि अहिले मात्र पनि त भएको होइन; जब देखि ऊ काठमाडौँ आउने जाने गर्न थाल्यो, उस्तै छ झन् झन् बिग्रिँदै गएको छ। यस्तो अवस्था हुनुमा दोष कसको? सरकारको? सरकार के हो र के गर्छ थाहा छैन। भएर पनि के गर्नु, गर्ने केही होइन। झन् यसपालि त उसलाई सरकार लागेको छ र उठिबास भएको छ उसको। पहिला पहिला बाहरूले रुखमा ऐजेरु लाग्यो भने बिस्तारै रुख नै सखाप पार्छ भन्नुहुन्थ्यो। अहिले सरकार र ऐजेरु उस्तै लागेको छ।
सरकार र नेता भन्नेहरूको चासो छैन उसलाई। उसलाई त आफ्नै जीवन धान्न धौधौ भएको छ र निसासिएको छ, कहाँबाट गरोस् अरूको मतलब? घरमा पनि पहिले जस्तो रमाइलो अनि चहलपहल थिएन। होस पनि कसरी? सबै जिम्मेवारीको भार उसकै थाप्लोमा आएको छ र समस्याको रास पनि थपिँदै गएको छ।
बा खसेपछि उसका खुसीहरू पनि बिस्तारै खस्दै, लुटिँदै गए र जिम्मेवारीको बोझले चापिँदै गयो। त्यही पनि ठिकै थियो तर आमा गएपछि भने उसलाई दुःखले पनि छोडेको छैन। अझ थपिँदै गएको छ र त घर जान पनि आनाकानी गर्दै गएको थियो।
यदि घरमा जहान र छोरी नभएको भए जाँदैन थियो तर उनीहरूको मायाले तान्यो उसलाई र त लामो र दुखी यात्रापछि फेरि फकिएको छ उही दुखिया सहर जसमा उसले आफ्नो भरभराउँदो युवावस्था बितायो। तर पनि उस्तै छ उसको अवस्था। झन् झन् नाजुक हुँदै गएको छ। लाग्छ यो सहर जुका वा उपियाँ जस्तै छ र आफू उखु जस्तै भएको भान भएको छ। उसको रस अब सकिएको छ र खोया जस्तै भएको छ।
निराशाले भरिएको मन लिएर पल्टिएको छ खाटमा। खाट पनि के भन्नु, आफूजस्तै जीर्ण खाटमा जसको प्लाई धमिराले सकिसकेको छ अनि खुट्टा पनि भाँचिने तरखरमा छन्। खाटलाई धमिराले सकिसकेको छ भने उसलाई दुःख र निराशाले। लामो र कष्टकर अनि रातभरको अनिद्राले होला निराश र बेचैन मन लिएर पल्टिएको छ बिस्तरामा। बिस्तारै सोच्दै गएछ बितेको जीवन।
दसैँ सकिएपछि आफ्ना छिमेकी काकाको साथमा लागेर आएको थियो यहाँ, यस्तै १७/१८ वर्षको उमेरमा। आज ३४ वर्षको भयो काठमाडौँ आएको पनि र लगभग १८ वर्ष भयो यहाँ बस्न थालेको पनि।
ऊ सधैँ दसैँमा मात्र घर जान्छ। अरू महिना यही सहरमा हात गोडा खियाउँछ तर पनि उसको अवस्था आउँदाभन्दा पनि नाजुक हुँदै गएको छ। त्यसैले त निराश मन लिएर पल्टिरहेछ बिस्तरामा। घर जाने मन पनि थिएन र गएपछि आउने मन थिएन। आफ्नो बुढीसँगको खटपटले छिटो फर्की आयो यही। बुढी पनि अघिल्लो वर्ष गरेको बाचा पूरा गर्न नसक्दा निराश भएकी थिई। उसले पनि राम्रै हुन्छ होला भनेर बाचा गरेको थियो तर जीवन आफूले सोचेजस्तो कहाँ हुन्छ र?
त्यसैले त आफ्नो बाचा पूरा गर्न सकेन र झुट साबित भयो आफ्नै बुढीको अगाडि। सकोस् पनि कसरी? उसले गर्न लागेको काममा बैरीको आँखा लाग्यो। सकियो उसको आशा र दुखी भयो। दुई वर्ष अगाडि ऋण काढेर किनेको सानो खाजा घरमा महानगरको आँखा लाग्यो र भत्काइदियो टहरो। टहरोसँगै भत्किए उसका सपना अनि झुट साबित भयो आफ्नै बुढीको अगाडि।
अघिल्लो वर्ष बाचा गरेर आएको थियो, अर्को वर्ष उसलाई र छोरीलाई पनि लिएर जानेछ। छोरीलाई राम्रो स्कुलमा लगाइदिने छ र दुई जना भएर पसल सम्हाल्ने छन्। अब दुःखका दिन बिस्तारै सकिँदै जानेछन्। मात्र एक वर्ष कुर्न अनुरोध गरेर घरबाट हिँडेको ऊ एक वर्षमा झन् दुःख र छटपटीको सामान गर्नु पयो।
सानो सटर महानगरले भत्काइदियो। सटर भत्किएसँगै भत्किए सबै बाचा। कस्तो अचम्म हुन्छ मान्छेको जीवन! कति दुःख गरेर बुनेको थियो सपनाहरू। ती सपना छिनभरमै खरानी भए र ऊ पनि डढेलो लागेको वनमा जस्तै उजाड मन लिएर हिँडिरहेछ। दुःख र समस्याहरू उसका साथी वा छाया जस्तै अघिपछि थिए तर पनि मुस्कुराउन र कोसिस गर्न छाडेन।
दलालले दुई लाख तिरेर भिजिट भिसामा पठाइदिने अनि उतै काम खोजेर लगाइदिने सर्तमा दुबई गयो तर काम पाउन नसकेर तीन महिनामा घर फर्किएपछि सुरु गरेको थियो ऋण काढेर त्यो खाजा घर। त्यसमा पनि बैरीको आँखा लाग्यो र भत्काइदियो। अब भने निराशाले भरिएको मन लिएर पल्टिरहेछ, सोचिरहेछ र हेरिरहेछ त्यो काँटीमा झुन्डाएको आफ्नै ज्याकेट र आत्मग्लानिले खिइरहेछ।
चार वर्षदेखि अब अर्को जाडोमा नयाँ ज्याकेट किनेर लगाउने भन्दै जाडो सकिएपछि त्यही काँटीमा झुन्ड्याउँछ र फेरि त्यही लगाउँछ। उसलाई लाज लागेर आएको छ त्यो ज्याकेटसँग र आफू पनि ज्याकेट जस्तै छुटिएको कल्पना गर्छ र झसङ्ग हुन्छ।
लाग्छ ऊ आफ्नो बाचामा अडिग हुन नसक्ने कमजोर मान्छे हो। उसले न आफ्नो बुढीसँग गरेको बाचा पूरा गर्यो न त आफैसँग गरेको। हरेक वर्ष दसैँपछि आएर जाडोको लागि नयाँ ज्याकेट किन्ने सोच बनाउँछ त फेरि आएपछि त्यही ज्याकेटले काम चलाउँछ। अब भने उसलाई आफ्नै ज्याकेटले गिज्याएको भान हुन्छ र छिटो छिटो बिस्तराबाट उठेर ज्याकेट मिल्काएर खाटमुनि फाल्छ। उसलाई त्यस ज्याकेटदेखि लाज र रिस सँगै उठेर आउँछ। सम्झिन्छ मनुमन्जीलको कविता-
सहस्र हारहरूपछि
म फेरि एक पटक हार्न तयार छु।
काठमाडौँको चिसो मौसममा एक निरीह युवा उमेरले ३२/३३ तर दुःख र अभावले खिइएर ४० वर्ष जस्तै देखिने, पुरानो ज्याकेट लाएर लाज मानी मानी विदेश पठाउने ठाउँहरूमा देख्नुभयो भने सम्झनु होला, ऊ त्यही निरीह मान्छे हो। जसले आफ्नो बुढीसँग गरेको र आफैसँग गरेको बाचा पनि पूरा गर्न सकेन र निस्किएको छ लाचार तथा निरीह मन लिएर एक चोटि फेरि बेचिनलाई।