बुढ्यौली अवस्था कति बेमजाको
अनेकौँ व्यथाले मच्चाए रडाको
न देखिन्छ सपना सुकिलो मुकिलो
जीवनको यो पाटो झुसिलो झुसिलो।
निराशा यता छन्, उता छन् निराशा
न सन्तान दिन्छन् बलियो भरोसा
न छन् इष्टमित्र अत्यन्तै घनिष्ठ
नजिकै छ मृत्यु कहालिन्छ चित्त।
भए हात गोडा पनि कम्पमान
पँधेरो बन्यो है पलङका समान
न तृष्णा, न क्षुधा न छन् केही इरादा
पुगेकै छ निद्रातिरै विघ्न बाधा।
महिना जतिकै भए रात लामा
कति सम्झनु स्वर्गीय बाबुआमा
पुराना कथाले जति मन बुझाऊँ
प्रतिदिन थपिन्छन् उति धेर घाउ।
चढिए उकाली झरिए ओराली
अहिले त आँट्नै पनि यो कहाली
व्यथा यी कथा यी कसोरी म पोखूँ?
तुलो छैन जसमा गथासा यी जोखूँ।