समय पनि यति बलवान् छ कि हामी जोसँग सधैँ सँगै हुने मन अनि सपना बुनेका हुन्छौँ, तिनीहरूसँग जिन्दगीमा कहिले भेट नहुने गरी छुटाएको हुन्छ। जिन्दगीमा धेरै मान्छेसँग भेट हुन्छ तर जो भाग्यमा हुँदैन उसैसँग प्रेममा परिँदो रहेछ। हुन पनि हो, मन परेको र देखेको सबै कुरा आफ्नो हुँदैन।
अझ दिमागमा ताजै छ त्यो दिन जो मेरो जीवनको पहिलो जागिर थियो। २०७६ साल फागुन २३ गते अन्तरवार्ता पश्चात् मेरो नाम एक नम्बरमा देखिँदा खुसीको सीमा थिएन। मैले कृषि पढेपछि विभिन्न ठाउँमा परीक्षा दिएर नाम निक्लिँदा पनि अन्तर्वार्तामा सोर्स फोर्सका कारण सही वैकल्पिकमा पर्ने मान्छे किशान २ मा जागिर गर्दै थिएँ। तलब थोरै भए पनि अनुभव हुन्छ भनेर काम गर्ने थालेको थिएँ।
बिस्तारै दिनहरू बित्दै गए। थाहा थिएन उनी कुन दिन मेरो फेसबुकमा जोडिएकी रहेछिन् र मैले पहिला नै हेल्लो भनेर म्यासेज समेत गरेको रहेछु। २०७६ चैतको अन्तिम तिर एक दिन उनलाई अनलाइन देखेँ। उनलाई म्यासेज गर्ने मन लाग्यो र ‘के हो राम्री मान्छे बोल्नु हुँदैन हो?’ भनेर म्यासेज गर्दिएँ।
केही समयपछि उनको म्यासेज आएको रहेछ- ‘को राम्री? मलाई देख्नु भएको छ र?’ भनेर।
अब के भनौँ कसो भनौँ भन्ने भयो। अनि ‘उम् तिमीलाई मैले देखेको छु बनेपामा’ भन्दै हाम्रो कुराकानी सुरु हुँदै थियो। तर मैले त्यो दिनसम्म उनलाई न कतै देखेको थिएँ न चिनेको नै। तर पनि किन किन उनलाई झुट बोल्न मन लाग्यो।
बिस्तारै हामी दिन दिनै बोल्न थाल्यौँ। समयको खेल भनौँ या के, उनलाई डियर भनेर जिस्काउने गर्थेँ। साथै उनको साथीहरूले उनलाई मुसी भन्ने थाहा पाएपछि मैले मुसी भनेर बोलाउन थालेँ। उनी रिसाएर ‘म मुसी हैन है’ भन्थिन्।
दिनहरू बित्दै थिए। हामी बोल्न लागेको ६/७ दिन भएको हुँदो हो, मेरो मनमा उनलाई आफ्नो सोच्ने, उनीसँग विवाह गर्ने सपना समेत देख्न थालेछु। उनीलाई एक दिन बोल्दा बोल्दै मैले प्रेम प्रस्ताव राखेँ। केही बेरको संवादपछि उनी राजी भएकी थिइन्।
मेरो खुसीको सीमा नै थिएन। उनी पहिलो केटी थिइन् जसलाई देख्ने बित्तिकै मनले सपनाहरू बुनेको थियो। त्यसपछि हाम्रो कुराकानी बढ्दै गयो। उनी पढ्ने म काम गर्ने भएकाले दिउँसो खासै कुरा नभए पनि राति हाम्रो लामो समयसम्म कुरा हुने गर्थ्यो।
उनको र मेरो जीवनको पहिलो भेट पनौती बसपार्कमा भएको हो। उनी गाउँबाट आउँदा म उनलाई भेट्न अफिसबाट काम छ भनेर निक्लिएको थिएँ। हरियो कुर्था लगाएकी उनलाई देखेँ। बाइकमा हेलमेट नखोली उनलाई हेरेर बसेको थिएँ। उनले यता उति हेर्दा नदेखेपछि मलाई कल गरेर कता हो भनिन्। उनको अगाडि बाइक लगेर रोक्दा उनी आत्तिएकी थिइन्।
हाम्रो पहिलो भेट छोटो थियो तर कहिले नबिर्सने याद छ। त्यसपछि हामी सधैँ कुरा गर्ने गर्थ्यौँ भने कहिले कसो भेट्ने गर्थ्यौँ। थाहा थिएन अनजानबाट चिनेर यति नजिक हुन्छौँ भनेर।
उनको पढाइ सकेर गाउँ जाने दिन आउँदै थियो। म अझै सम्झन्छु उनको जन्मदिन दिन। हामी घुम्न जाने भनेर बसेका थियौँ तर दिदीले कल गरेर मुसीलाई आज सप्राइज दिऊँ तिमीहरू घुम्न नजानू भन्नुभयो। मैले मेरो बिदा मिलेन भन्दिएपछि उनको केक काट्ने ठाउँमा गएँ। उनी मसँग रिसाएर एक छिन बोलिनन्। केक काटिसकेपछि उनी र म घुम्न गयौँ।
उनी अब हामी टाढा हुन्छौँ भनेर मलाई अँगालो हालेर रोएकी थिइन्। आज यस्तो लाग्छ कि, केही समय टाढा हुँदा समेत रुने मान्छे आज कसरी मसँग सधैँका लागि छुटिने निर्णय लिइन्?
म परियोजनाको जागिर सकिएर महाभारत गाउँपालिका जाँदै थिएँ। त्यहाँ स्कुलमा सहायक प्रशिक्षकको रूपमा नाम निकाली जाने भएँ। उनी त्यो बेला नजानू भनेर रोएकी थिइन्। किनकि त्यो ठाउँमा नेट नचल्ने समस्या थियो। म गएँ तर उनीसँग बोल्नको निम्ति मोबाइल बाहिर राखेर बोल्ने, रातिसम्म वा भनौँ उनी ननिदाउने बेलासम्म म बाहिर बस्ने गर्थेँ।
बिस्तारै हाम्रो सम्बन्ध मेरो परिवार गर्दै उनको परिवारसम्म पुगेको थियो। समय बित्दै गयो। जीवनमा धेरै उतारचढाव आए। उनले जागिरको लागि फर्म भर्न बनेपा आइन्। फर्म भरेर हामी भक्तपुर घुम्न गयौँ।
उनको जागिरे दिनको सुरुआत भएपछि मेरो लागि समय कम हुँदै गयो। सायद उनीसँग नयाँ ठाउँ नयाँ साथीहरू भएर होला।
खै! मैले कसरी सकेँ होला! उनले दिएको मायाको चिनो र मेरो जन्मदिनमा दिएको त्यो उपहारहरू कसरी फिर्ता गर्ने? त्यो मेरो खाटमै थियो। त्यो हेरेपछि उनको यादले बेस्सरी सताउने गर्थ्यो। मैले उनको भाइमार्फत त्यो फिर्ता गरेँ।
हुन त मबाट पनि धेरै गल्तीहरू भएका छन् तर त्यति पनि थिएन कि ५/६ वर्षको सम्बन्ध नै तोड्नु पर्ने। हुन त मेरो माया, मैले गरेको स्याहार कमी भएर होला सायद। २०८० साल मेरो लागि एकदम नराम्रो वर्ष हुन पुग्यो जहाँ मैले मेरो सुख-दुःखदेखि सबै कुरा सेयर गर्ने भाइलाई सधैँको लागि गुमाएँ।
हुन त मलाई जति बेला तिम्रो साथ र मायाको आवश्यकता पर्थ्यो त्यो बेला मेरो लागि तिम्रो समय कहिले भएन। करिब ५ वर्ष लामो प्रेम सम्बन्धमा दरार कसरी आयो? खै के भयो! मेरो माया कुनै दिन कमी भएको थिएन। बस् मैले उनीसँग समय मात्र मागेको थिएँ। सायद मेरो लागि उनको समय भएनछ क्यारे।
समयको वेगसँगै हामी दुईले देखेका सपनाहरू पनि बिस्तारै विलीन हुँदै गए। समयअनुसार चल्न नसक्नु मेरो कमजोरी हुन सक्छ। ठिकै छ, म नभए पनि तिम्रो बाँकी जीवन राम्रो होस्। त्यो आँखामा कहिले आँसु देख्न नपरोस् अनि कहिले पनि त्यो मुहारको हाँसोमा कमी महसुस नहोस्।