बिरक्तिएको छ आज युवा शक्ति
उकुसमुकुसमा छ आज युवा शक्ति
बेचैनीमा छ आज युवा शक्ति
देशको दुर्दशा देखेर रुमल्लिएको छ आज युवा शक्ति।
यो देशमा युवाले
निराशाका चाङहरू देख्छ
जिम्मेवारीका प्याकेजहरू देख्छ
गाउँमा रहेका वृद्ध बा-आमाका समस्या देख्छ
देश भित्रको फोहोरी राजनीति देख्छ
भ्रष्टाचारको बिगबिगी देख्छ
भनसुन र नातावाद देख्छ
चाकडी र चाप्लुसी देख्छ
अन्तिममा उसले आफ्नो भविष्य विदेशमै देख्छ
अन्यायको जाँतोमा पिसिएका छन् युवा
चिन्ताको रक्त आहालमा डुबेका छन् युवा
लक्ष्य विहीन यात्राको सारथि भएका छन् युवा
अवसरको खोजीमा भौँतारिएका छन् युवा
केही सीप नलागेपछि विदेश पलायनको बाटो रोज्दै छन् युवा।
नारामा
युवालाई भोलिका कर्णधार भनिन्छ
सुनौलो देशको भविष्य भनिन्छ
राष्ट्र निर्माणको मेरुदण्ड भनिन्छ
तिनै युवालाई विदेशमा बेचेर
उनैको रेमिट्यान्सबाट देश चलाइन्छ।
हाम्रा शासकहरूलाई
ठुलठुला व्यापारीको चिन्ता छ
उद्योगपतिहरूको चिन्ता छ
भ्रष्ट, दलाल, माफियाहरूको चिन्ता छ
सत्ताको कुर्सी कसरी जोगाउने भन्ने चिन्ता छ
तर युवाका लागि
गुणस्तरीय शिक्षाको चिन्ता छैन
व्यावसायिक शिक्षाको चिन्ता छैन
उद्यमशीलता र सिप विकासको चिन्ता छैन
स्वदेशमै रोजगारीका अवसर सिर्जनामा चिन्ता छैन
चिन्ता छ त केवल आफ्ना र आफ्ना आसेपासेहरूको मात्र।