आइतबारको दिन छुट्टी हुने भएकोले बिहानै उठेर म मन्दिर गएकी थिएँ। नियमित पूजा सुरु हुनै लागेको रहेछ। त्यहाँ भएका अरू पाँच/छ जना व्यक्तिहरूको समूहमा म पनि सामेल भएँ। म बाहेक अरू सबै भारतीयहरू थिए, पुजारी पनि दक्षिण भारतीय।
पुजारीले पूजा सामाग्रीहरू मिलाउँदै हामी सबैलाई पालै पालो आ-आफ्नो नाम, गोत्र अनि कहाँबाट आएको भनी सोधिरहेका थिए। सबैले आ-आफ्नो बताउँदै गर्दा दुई जना युवतीहरू हतारिँदै मन्दिरभित्र छिरे र आफूले ल्याएको फलफूल पुजारीलाई दिए।
उमेरको अड्कल लगाउँदा र अनुहार मिल्दोजुल्दो भएकोले आमा छोरी होलान् भन्ने अनुमान गरेँ मैले। पुजारीले त्यो फलफूल राख्दै उनीहरूलाई पनि नाम, गोत्र अनि कहाँबाट आएको भनी सोधे। पहिले आमाले आफ्नो नाम, गोत्र अनि ‘फ्रम नेपाल’ भनिन्। अनि छोरीले आफ्नो नाम भनिन् - ज्योतिष्मती। पुजारीले कति राम्रो नाम भन्दै पूजा सुरु गर्न तिर लागे।
नाम ज्योतिष्मती भनेको सुनेपछि मेरो ध्यान उनीतिर मोडियो। मैले केही बेर उनलाई नियालेर हेरेँ। हेरिरहँदा उनको अनुहारमा कता कता चिनेकै मान्छेको जस्तो झल्को आयो। उनको नाम र त्यो झल्कोले मलाई त्यससँग जोडिएको धेरै वर्ष पहिलेको सम्झना गरायो।
स्नातकको तेस्रो वर्ष प्रत्येक विद्यार्थीले विभिन्न वनस्पतिहरू संकलन गरेर एउटा हर्वेरियम तयार गर्नु पर्ने भयो र एउटा वनस्पतिको बारेमा विस्तृत अध्ययन गरेर मोनोग्राफ तयार गर्नु पर्ने भयो। प्रोफेसरले सबैलाई पुग्ने गरी चिटमा विभिन्न वनस्पतिहरूको नाम लेखेर सबैलाई एक-एक वटा चिट्ठा ताने झैँ तान्न लगाउनु भयो। सबैले तानिसकेपछि आफूलाई परेको वनस्पतिको बारेमा कुरा गर्न थाल्यौँ।
‘तिमीलाई कुन पर्यो?’ म सँगै बसेको आकाशले मतिर फर्केर सोध्यो।
‘ज्योतिष्मती’ मैले भनेँ।
‘जस्तो मान्छे उस्तै वनस्पति परेछ, ल बधाई छ,’ उसले भन्यो।
स्मरण शक्ति बढाउने औषधिहरूमा त्यसको प्रयोग हुन्थ्यो। ‘अनि तिमीलाई?’ मैले सोधेँ।
‘लालीगुराँस’ उसले भन्यो।
आकाश मेरो सबैभन्दा मिल्ने साथी, अरूभन्दा अलि बढी नजिक। हामी दुवै जना नजिकै डेरामा बस्थ्यौँ। हरेक दिन क्याम्पस जाँदा हामी सँगै जान्थ्यौँ, सँगै फर्कन्थ्यौँ। त्यही क्रममा एक अर्कासँग अलि बढी नजिक भएका थियौँ। रमाइला कुराकानीहरू हुन्थे। पढेर सकेपछि के गर्ने, कसो गर्ने, भन्ने कुरा गर्थ्यौँ।
म लोक सेवा दिएर सरकारी जागिर गर्ने हो भन्थेँ। ऊ भने सरकारी जागिरमा त्यति रुचि देखाउँदैन थ्यो। ‘के छ र सरकारी जागिरमा? म त कुनै एनजिओ, आइएनजिओमा काम गर्ने हो, नभए अस्ट्रेलिया अथवा अमेरिकातिर जाने हो’ भन्थ्यो। बेलाबेलामा जिस्केर ‘तिमी र म सँगै जाउँला अनि उतै सेटल भएर बसौँला’ पनि भन्थ्यो। मैले भने ‘हेरौँ, भविष्यले के लेखिदिएको छ हाम्रो भागमा, सबै कुरा भने जस्तो कहाँ हुन्छ र’ भन्थेँ।
एक दिन सबै जना हर्वेरियमको लागि वनस्पतिहरू संकलन गर्न गएका थियौँ। संकलन गर्दै गर्दा उसले भनेको थियो- ‘पछि बिहे भएर छोरी जन्मिएछ भने उसको नाम ज्योतिष्मती राखिदिनु पर्ला।’
‘अनि छोरा भयो भने?’ मैले सोधेकी थिएँ।
‘रोहित- गुराँसको एउटा नाम रोहित पनि हो। त्यसैबाट रोहित राख्ने,’ उसले भनेको थियो।
‘त्यसो भए त छोराछोरीको वनस्पतीय नाम पो हुने भयो त’ मैले ठट्टा गर्दै भनेकी थिएँ।
ऊ मसँग भएको बेला उसको हाउभाउ हेर्दा वा कुरा सुन्दा उसले भित्र-भित्र मलाई मन पराउँछ भन्ने मलाई आभास हुन्थ्यो। प्रायः जिस्केर के-के भनिरहने हुनाले मैले उसका कुरालाई सामान्य तरिकाले लिइदिन्थेँ।
दसैँ बिदा सुरु हुनभन्दा केही दिन अगाडि उसले मलाई भनेको थियो, ‘म तिमीलाई एकदम मन पराउँछु। मलाई थाहा छैन तिमीले के सोच्छ्यौ मेरो बारेमा तर मलाई लग्छ तिमी पनि मलाई मन पराउँछ्यौ। म तिम्रो आकाश हुन चाहन्छु, के तिमी आकाशको तारा हुन चाहन्छ्यौ?’
मैले ‘त्यस्तो केही होइन, अरूभन्दा तिमी अलि बढी नजिक लाग्छ तर मन पराएर सम्बन्ध नै अगाडि बढाउने तरिकाले सोचेकी छैन। पहिले पढाइ सकौँ, जागिर खाऊँ, आफ्नै खुट्टामा उभियौँ अनि सोचौँला नि’ भनेकी थिएँ।
सायद उसले त्यो जवाफको अपेक्षा गरेको थिएन। उसले जवाफ त केही दिएन तर अनुहारको भाव हेर्दा ऊ निराश भएको प्रस्ट थियो।
दसैँ बिदा सुरु भयो। दसैँदेखि तिहारसम्म क्याम्पस बिदा हुन्थ्यो। उक्त बिदामा ऊ आफ्नो घर गएको थियो। म पनि आफ्नो गाउँ गएकी थिएँ। बिदा अवधिभरि मैले उसको कमी महसुस गरेँ। उसका ठट्यौली पाराका कुराकानी, उसको हेराइ, उसको साथ। ऊ सँगै नहुँदा मात्र मलाई थाहा भयो म उसलाई कति मिस गर्दी रहेछु भनेर।
मलाई लाग्यो सायद म पनि नजानिँदो तवरले उसलाई मन पराउन थालिसकेकी रहेछु। सोचेँ, बिदा सकिएपछि क्याम्पस फर्केर उसलाई यो सबै कुरा भन्ने छु, उसको प्रेमको प्रस्ताव स्वीकार गर्नेछु।
बिदा सकिएर पढाइ सुरु हुने बेला भयो। म क्याम्पस फर्किसकेकी थिएँ। ऊ भने अझै आइसकेको थिएन। बिदा सकिए लगत्तै केही दिन पढाइ खासै धेरै नहुने हुनाले दुई/चार दिन ढिलो आउने बिचार गर्यो होला जस्तो लाग्यो। तर दुई/चार दिन, हप्ता, महिना बितिसक्दा पनि ऊ आएन। त्यसको केही हप्तामा परीक्षा हुनेवाला थियो। परीक्षाको लागि पनि ऊ आएन।
एक दिन ऊ बस्ने डेराको घरबेटीलाई गएर सोधेँ, उनले पनि आएको छैन केही खबर पनि गरेको छैन भने।
त्यति बेला अहिले जस्तो मोबाइल फोन थिएन। अरू कतैबाट सम्पर्क गर्ने उपाय भएन। सोचेँ, उसले पनि त सम्पर्क गर्न सक्थ्यो चाहेको भए। मेरो घरबेटीको फोन नम्बर त थियो ऊसँग तर उसले गरेन।
परीक्षा दिन पनि किन आएन? कहाँ गयो होला? किन यसरी अचानक हराएको होला? कतै मैले उसको प्रस्ताव अस्वीकार गरेकोले ऊ नआएको पो हो कि? आशंका लाग्यो। अरू केही भएको पो हो कि? डर पनि लाग्यो।
स्नातक सकेपछि लोक सेवा दिएर केही वर्ष मैले सरकारी जागिर गरेँ। थोरै तलब, हाकिम लगायत अन्य पुरुष सहकर्मीले महिलालाई हेर्ने दृष्टिकोण, बिना प्रभाव निर्बाध तरिकाले काम गर्न नपाउने वातावरण आदिले जागिर पनि गरिरहन मन लागेन। मास्टर्स पढ्न अमेरिका आएँ।
यता आएपछि पढाइ, काम आदिले गर्दा मैले आकाशलाई बिर्सिसकेकी थिएँ। आज अचानक ज्योतिष्मती नाम सुन्दा पुराना कुरा सम्झँदै एकोहोरिन पुगेकी म लगातारको टिङ टिङ घण्टीको आवाजले झसंग भएँ।
पुजारीले बजाइरहेका रहेछन्। पूजा सकिन लागेको रहेछ। पूजा सकिएपछि पुजारीले सबैलाई टीका लगाइदिएर हातमा प्रसाद राखिदिए। प्रसाद लिएर ती आमा-छोरी बाहिर निस्कँदै थिए। उनीहरूसँग बोल्न मन लागेर म पनि हतारिँदै उनीहरूसँगै बाहिर निस्केँ र नजिकै गएर सोधिहालेँ- ‘तपाईंहरू नेपाल कहाँबाट हो?’
‘पाल्पा’ उनले भनिन्।
‘हजुरहरू पनि नेपाली हो?’ उनले सोधिन्। मैले हो भनेँ।
अरू औपचारिकता तिर नलागेर सिधै सोधिहालेँ- ‘नानुको नाम ज्योतिष्मती कसले राखिदिएको?’
‘उसको मामाले,’ आमाले छोटो उत्तर दिइन्।
‘आकाशले हो?’ मैले फेरि सोधेँ।
‘हो, कसरी अनुमान लगाउनु भयो?’ अचम्म माने जस्तो गरी उनले सोधिन्।
‘मेरो एउटा साथी थियो, आकाश। हामी सँगै पढ्थ्यौँ। त्यतिखेर उसले पनि छोरीको नाम ज्योतिष्मती राखिदिने भन्थ्यो। पछि ऊ अचानक गायब भयो। दसैँ बिदामा घर गएको फर्केर आएन,’ अरू धेरै कुरा नभनीकन छोटो उत्तर दिएँ।
'त्यसो भए दाइले मन पराएकी केटी हजुर नै हुनुपर्छ' उनले अलि चाख दिएर जिज्ञासा व्यक्त गरिन्।
'अनि आकाश कहाँ छन् त अहिले?’ भन्न खोज्दै थिएँ, मैले भन्न नपाउँदै उनले भन्न थालिन्-
'आकाश मेरो दाइ। दसैँ बिदामा घर आएको बेला उहाँको बिहे गर्ने कुरो चलेको थियो। उहाँले भने अहिले बिहे गर्दिनँ, म कसैलाई मन पराउँछु, मैले आफ्नो तर्फबाट प्रस्ताव त राखेको छु तर उनले पढाइ सकेपछि सोचौँला भनेकी छन्। उनले हुन्छ नभनेसम्म मैले प्रयास गरिरहने छु। जति कुर्नुपर्ने भए पनि कुर्ने छु तर बिहे उनैसँग गर्ने हो भन्नुभएको थियो। मसँग तपाईंको बारेमा प्रायः कुरा गरिरहनु हुन्थ्यो। बिहेपछि छोराछोरीको नाम के राख्ने समेत भन्नु भएको थियो। हजुरको कुरा गर्दा उहाँको अनुहारमा अर्कै चमक आउँथ्यो। त्यसैबाट थाहा हुन्थ्यो हजुरलाई कति माया गर्नुहुन्थ्यो भनेर।
बिदा सकिएपछि मेरो परीक्षा छ, म अलि पहिले नै काठमाडौँ गएर त्यसको तयारी गर्छु भन्नु भएको थियो। एक जना काकाको छोरा र दाइ भएर मोटरसाइकलमा काठमाडौँको लागि हिँड्नु भयो। बिच बाटोमा एउटा ट्रकले उहाँको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटनामा पर्नुभयो। अस्पताल पुर्याए पनि उहाँलाई बचाउन सकिएन। चालकले मादक पदार्थ सेवन गरेर अनियन्त्रित गतिमा ट्रक चलाइरहेको रहेछ।
त्यसको केही वर्षमा मेरो बिहे भयो, पछि छोरी जन्मी। दाइले आफ्नो छोरीको नाम ज्योतिष्मती राख्ने इच्छा गरेको सम्झिरहेकी थिएँ। उहाँको त्यो इच्छा पूरा हुन नसके पनि उहाँको भान्जीको नाम राखिदिएर आंशिक इच्छा पूरा गरे जस्तो लागेको छ मलाई। पछि यसको बाबाको पिएचडीको लागि भिसा लागेर हामी सबै यता आयौँ। लामो समयसम्म अर्कै सहरमा बस्यौँ। अहिले यो सिटीमा आएको भने केही महिना मात्र भयो,' भावुक हुँदै उनले भनिन्।
दुई दशक अगाडि क्याम्पस नआएर हराएको मान्छे र पछि समयको अन्तरालसँगै स्मृतिबाट समेत हराएको मान्छेको बारेमा आज यथार्थ थाहा पाउँदा एकाएक मन भक्कानिएर आयो। मप्रतिको उसको निष्ठा र विश्वासको बारेमा थाहा पाउँदा ऊ र उसको प्रेमप्रति झन् सम्मान बढेर आयो। साँचो प्रेमको एउटा अर्थ धैर्यतापूर्वक पर्खिनु पनि हो भन्ने उसले राम्रोसँग बुझेको थियो सायद। मन पराउँछु त जसले पनि भन्न सक्छ तर धैर्यतापूर्वक पर्खेर साँचो प्रेमको प्रदर्शन गर्न जो कोहीले सक्दैन।
उसले जति कुर्नुपर्ने भए पनि कुर्ने छु भन्नु नै उसको साँचो प्रेमको प्रदर्शन थियो। तर नियतिलाई उसको प्रेम सफल गराउन मन्जुर थिएन सायद। अर्कैको गल्तीले त्यसरी अझै कति जनाले अनाहकमा ज्यान गुमाउनु पर्ने हो? चालकले अलिकति भए पनि जिम्मेवारी महसुस गरी रक्सी नखाई सावधानीपूर्वक ट्रक चलाइदिएको भए आज ऊ मसँगै हुन्थ्यो होला, परिस्थिति अर्कै हुन्थ्यो होला भन्ने सोच्दै थिएँ। उनले मेरो सोच मग्नतालाई भंग गर्दै भनिन्, 'हजुरलाई भेटेर खुसी लाग्यो। हजुरको फोन नम्बर दिइराख्नु न। कुनै दिन समय मिलाएर भेटौँला।'
मैले नम्बर भनेँ। उनले फोन निकालेर नम्बर सेभ गरिन्।
'उसको बारेमा सुनेर साह्रै नरमाइलो लाग्यो। म अहिले जान्छु है' भनेर म त्यहाँबाट आफ्नो गाडी लिएर निस्केँ। मलाई आकाशको तारा हुन भन्थ्यो, नियतिले उसलाई नै आकाशमा विलीन बनाइदिएछ।
बाटोभर उसको याद आइरह्यो।