मेरा काकाको कोठाको
भित्तोमा झुन्डिएको
तस्बिरमा
हल्का निलो रङ
बलियो र टिकाउ
प्लास्टिक र फाइबर ग्लासबाट बनेको
हेलमेट प्रस्ट देखिन्थ्यो।
मैले सोधेका बाल जिज्ञासा
मेटाउँदै
काका भन्नु हुन्थ्यो-
संसारले विश्वास गरेको
टोपी हो यो
बुद्धको सन्देश फैलाउने
यसैले हो अब
मैले त लगाएँ
तिमीले पनि लगाउनु पर्छ
ठुलो भएपछि।
अझै सम्झना छ मलाई
फर्केर आउँदा
देखाएको
काकाको पाखुराको
दाग
शान्तिको सन्देश दिँदा दिँदै
खाएको गोलीको।
कता कता
स्मृतिमा छ
काकाले सुनाएका
युद्धकांक्षाले
भरिएका परस्पर
वैरीको बिचमा
चट्टान जसरी
उभिएका जोखिमपूर्ण
कथाहरू।
काका
युद्ध सरदारले
आज तिमीले
लगाएको टोपीमा
पुनः
प्वाल पारेका छन्
बुद्धको विचारमा
धावा बोलेका छन्
त्यसैले
भतिजोले
समाचार हेर्दा हेर्दै
सोधेको प्रश्न
‘टाढा कतै वार भएको छ अंकल?’
को जवाफ
दिइरहेछु
‘बाबु लडाइँ त हाम्रै मुटुमा भइरहेछ।’