गोबरलाई अबिर सम्झेर
अनुहारभरि पोतेर
हिँड्न सकिनँ
त्यही भएर
उसको र मेरो गुट मिल्न सकेन
म गोबर देख्छु
ऊ अबिर हो भन्छ
म दुर्गन्ध थाहा पाउँछु
ऊ सुगन्ध हो भन्छ
अघि पछि मिलेको ढोङ रचे पनि
जब म फड्को मार्छु
अनि ऊ रिसले चुरचुर हुन्छ
अँगालो मार्न खोज्दा पनि
छातीमै छुरा रोप्न खोज्छ
एकबार हैन
ऊ बारम्बार यस्तै गर्छ
त्यही भएर केही भन्नै सकिनँ
उसको र मेरो गुट मिल्नै सकेन
म अघि बढौँ भन्दा
बाटो अँध्यारो छ भन्छ
म फर्किएर जाऊँ भन्दा
हित त्यसैमा छ भन्छ
अगाडि बढ्दा रिसाउने
पछि सर्दा खुसी हुने
खै किन ऊ यस्तै छ
मैले चाहेर पनि फकाउनै सकिनँ
त्यसैले उसको र मेरो गुट मिल्नै सकेन
ऊ अराजकता मन पराउँछ
म मौनताले प्रतिकार गर्छु
ऊ साथीहरूमा एकता नहोस् भन्छ
म एकता भित्र ऊ होस् भन्छु
किन ऊ एउटै बाटो दुइटा देख्छ
खै मैले पत्ता लगाउनै सकिनँ
त्यही भएर उसको र मेरो गुट मिल्नै सकेन।