अब गाउँ
टाढा टाढा जाँदै छ
मानिसबाट
हो कि मानिस
टाढा टाढा जाँदै छ
गाउँबाट
सहर
राजधानी
विदेश
पर पर कुन कुन देश
पुगेछ मानिस
गाउँलाई चटक्कै बिर्सेर
घर आँगन रित्तो पारेर
गाउँको पनि त
कल-कल बगिरहने
खोला मिचिएर
कंक्रिट मुनि बिलाएछ
लहलह बाली झुल्ने
खेतबारी मासिएर
घरजग्गा प्लटिङ भएछ
बदलिएछ गाउँ
सिमेन्टीको सहर जस्तै
पक्का घरै घर
तर सुनसान सुनसान
उजाड उजाड
जोस जाँगर हट्ठाकट्ठा
युवा-युवती बिना
न त चाडपर्व
न त हाटबजार
कस्तो कस्तो नरमाइलो
हल्लाखल्ला गर्दै
केटाकेटी नखेल्दा
बूढाबूढीका आँखामा आँसु
सन्तानको स्याहार नपाउँदा
अब त गाउँ
म्युजियममा बाँकी बचेछ
विदेशमै अल्झिरहेका मानिसले
कहिलेकाहीँ यसो सम्झे भने मात्र
आकृतिमा कोरिएझैँ गर्छ
बिचरा गाउँ
तर गाउँ
आफूलाई गुमाउँदा
अस्तित्वै मेटिरहेछ
सहर
राजधानी
विदेश
पर पर कुन कुन देश
पुगेका मानिसले
उसलाई बिर्सिदिँदा।