आजसम्मका हामी बिचको मित्रताको छोटो कथा सुनाउँछु ल!
याद छ
बालापनदेखिको मित्रता
साना-साना हात र पाउ लिएर सँगै मण्डली धाएको?
झगडा गर्दा गर्दै पनि एउटै प्लेटबाट पुगनपुग खाना खाएको?
यो याद छ कि छैन?
त्यो बाटो छेउको पाटीमा एउटै सल पालैपालो नाच्नलाई लाएको?
भाडाकुटी खेल्दा रुखका पात टिपेर घरको छाना छाएको?
गज्जबको नृत्य देखायौँ भनीकन सँगै बालसंगतीमा उपहार पाएको?
बालसंगतीमा मच्चिमच्ची नाच्दै ठुलो स्वरले भजन गाएको?
मलाई हाँसो लागेका केही घटना करिब दोहोराएर तेहेराएर सुनाउँदासम्म
तैँले भन्ने गर्थिस् नि- ‘छ्या! कति सुनाएको एउटै कुरा!’
र पनि सँगै हाँस्न कहिले छोडिनस्
यही हो मैले तँबाट सिकेको मित्रता।
तँलाई साथीभन्दा पनि मेरो बहिनी भनेर सम्बोधन गर्दा म निकै खुसी हुने गर्छु
हाम्रो मित्रताप्रतिको तेरो समर्पण सम्झेर म साह्रै छक्क पर्छु
ढुङ्गालाई माटो अनि माटोलाई ढुङ्गाको भर भन्छन् नि
हो ठ्याक्कै हामी एक अर्काको लागि त्यस्तै नै भयौँ
घण्टौँ बितिसक्दा पनि हाम्रा गफहरू कहिले सकिए झैँ लाग्दैन थियो
एकअर्का साथ साथमा नभए कहीँ कतै जाने रहर जाग्दैन थियो
भेट हुँदा सधैँ झगडा गर्ने हामी
भेट नहुँदा समय कति धेरै न्यास्रोपनमा बित्थ्यो
यति उमेरसम्म आइसक्दा जिन्दगीमा अनगिन्ती उतारचढाव आएका बेला
हामी भन्ने गर्थ्यौँ ‘सधैँ हामीलाई नै किन यस्तो हुन्छ?’
फेरि उत्तरमा पनि हामी नै भन्ने गर्थ्यौँ-
‘जे हुँदै छ, असलै हुँदै छ। प्रभु जान्नुहुन्छ।’
म खुसी छु कि हामी हरेक पल र हरेक परिस्थितिमा सँगै रह्यौँ
एकले अर्कालाई हौसला दिइरह्यौँ
प्रार्थनामा एकले अर्कालाई उचालिरह्यौँ
र त त्यस दिन प्रार्थनाको उत्तरमा
‘तेरो लागि एउटा असल कुरा मैले राखिदिएको छु’
भन्ने प्रभुको मिठो आवाज तैँले सुन्न पाइस्
अनि आज त्यो असल कुरा तेरो अघि उभिएको छ
म खुसी छु यो दिनको लागि, हाम्रो मित्रताको लागि
अनि तिमी दुईको वैवाहिक जीवनको लागि।
यो मित्रताको कुनै मोल छैन
यो हिजो थियो, आज छ र सदा रहिरहने छ
बालापनको झगडामा सायद मायाका बोलीहरू थिए
र त मित्रता यहाँसम्म आइपुग्यो
नत्र त सँगै भएका अरू पनि आज मजस्तै तिम्रै अघि हुन्थे होला नि
कि कसो?
वैवाहिक जीवनको अति नै धेरै शुभकामना छ
मेरो जिन्दगीको सबैभन्दा प्रिय पात्रलाई।
(साथी बिनिशा खत्रीप्रति समर्पित।)