‘म मरेँ भने हजुर के गर्नुहुन्छ?’ ऋद्धिले एक दिन विनायकलाई सोधी।
‘यही प्रश्न मैले तिमीलाई सोधेँ भने तिमी चाहिँ के गर्छौ नि?’ विनायकले ऋद्धिलाई उस्तै जवाफ फर्कायो।
‘हजुरले चाहिँ अर्को बिहे गर्नुपर्छ,’ ऋद्धि एक्कासि गम्भीर भई। हेर्दाहेर्दै उसका आँखामा आँसु टलपलाए तर अरू केही बोलिन।
निकै बेरको सन्नाटापछि विनायकले ऋद्धिलाई आफूतिर तान्यो र आँखाका कोस पुछ्दै भन्यो, ‘यस्ता कुरा गर्न हुन्छ? मर्ने कुरा हाम्रो वशमा छैन। मर्न त सँगै मर्न पाए हुन्थ्यो नि। तर मर्छु भनेर सोच्नै हुँदैन क्या। आफूले नै आफूलाई कमजोर बनाउनु हुन्छ? अब यस्ता कुरा नगरौँ है हामी।’
हस् भनेर ऋद्धि विनायकका काखमा पल्टिई। विनायकले धेरै बेर ऋषिको केशराशि सुमसुम्याइरह्यो।
‘धत्, दिउँसो मास यस्तो गर्न हुन्छ! अहिले नानी आइपुग्छे कलेजबाट,’ ऋद्धि अलिक पर सरी र रबरले केश बाँध्दै भनी, ‘म चिया पकाउँछु है। आज सँगै खाने।’
‘भो भो पर्दैन। बिरामी मानिस! म पकाइहाल्छु नि,’ विनायक भान्सातिर पस्यो र चिया पकाउने तरखरमा लाग्यो।
‘बाबा! एउटा कुरा भन्छु ल, नरिसाउनु है। हाम्री नानीले मास्टर्स पनि सक्न लागी। यसपालि बिहे गरिदिऊँ न यसको। केटो हेरेको छ जस्तो लाग्छ मलाई। ऊसँगै पढ्ने रे। मैले फोटो हेरेको उसको जोडी मिल्ने खालको छ।’
छोरीले बाबा भन्ने भएकाले ऋद्धि पनि विनायकलाई प्रायः बाबा भनेर बोलाउँछे। उसले कहिल्यै छोरीको बिहेको कुरा गरेकी थिइन तर आज किन हो आफैँले कुरा उठाई।
‘हो त? हो भने आउँदो मङ्सिरमा हाम्रो बिहे भएको पनि तिस वर्ष पुग्छ। तिम्रो जन्म दिन पनि मङ्सिर नै हो। तिम्रो जन्मदिनमा नानीको बिहे पनि गरौँ। तिम्रो जन्मदिन पनि मनाऔँ। दुवैको भोज एकै चोटि गरौँला। हुन्न?’
‘पैसा बचाउने कुरामा त हजुरलाई कसले सक्छ र? साँच्चै भनेको है मैले। म नानीलाई कुरा गर्छु नि केटो बोलाएर घरमा ले भनेर!’
‘ल ल हुन्छ। यी चिया लेऊ।’
दुवै चिया खान थाले। ऋद्धि आफ्नो विगततिर फर्की। उसको बिहे बिस वर्षको उमेरमा विनायकसँग भएको हो। विनायकको परिवार सामान्य खान लाउन मात्र पुग्ने थियो। ऋद्धि बुहारी बनेर घरमा पस्दा विनायकको जिम्मेवारीमा चार जना भाइ-बहिनीलाई पढाउनु थियो। बा आमालाई गरिबीले सताएर होला स्वास्थ्य राम्रो थिएन। यसैले विनायकले पढाइ र कामलाई सँगै लानुपरेको थियो।
बिहेपछि ऋद्धिले पनि लोग्नेलाई हर तरहले साथ दिएकी थिई। उनीहरूले सल्लाह गरेर नै एक सन्तान जन्माए। छोरीका आमा बा हुन पाउँदा दुवै खुसी भए। उनीहरूले एक सन्तान मात्र बनाउने निधो गरे तर छोरी दुई वर्षकी नहुँदै परिवार र समाजले ऋद्धिलाई छोरा जन्माउने सल्लाह दिए।
ऋद्धिले यो कुरा लोग्नेलाई पनि सुनाई तर विनायकले उसलाई ठाडै खायो। फेरि यस्ता कुरा गरेमा सम्बन्ध विच्छेद गरेर एक्लै बस्छु भनेर गाली पनि गर्यो। बुज्झकी लोग्नेले यति राम्रो कुरा गरिदिएपछि ऊ ढुक्क भई र दुवैले एक सन्तानलाई राम्रो शिक्षादीक्षा दिने निर्णय गरे।
छोरीले बाह्र कक्षा सकेर क्याम्पस पढ्न थालेको केही दिनपछि ऋद्धिलाई आफ्नो स्तनमा केही पीडा भएको महसुस भयो। उसले लोग्नेलाई यो कुरा सुनाई। विनायकले झसङ्ग हुँदै भन्यो, ‘हँ, किन यस्तो कुरा पहिले नै नभनेको? क्यान्सर पनि हुन सक्छ यो त। तिम्री दिदीको कुरा बिर्सियौँ। कति खर्च गरेर बचाएको होइन? हिँड आजै जानुपर्छ जँचाउन।’
उनीहरू जँचाउन गए। क्यान्सर अस्पतालका डाक्टरले प्रारम्भिक जाँच गरे र भनेँ, ‘मैले यसै भन्न सकिनँ। कुन स्टेजमा छ, एक पटक राम्ररी जाँच्नुपर्छ। सुरु नै रहेछ भने त केमो गर्दा निको भइहाल्छ। हेरौँ तपाईंहरूको भाग्य कस्तो छ? यो दुई तीन कुरा जाँच्नुपर्छ। एउटा जाँच चाहिँ यहाँ हुँदैन। हामी बाहिर पठाउँछौँ। एक हप्तापछि आउनुहोला नि।’
एक हप्तापछि उनीहरू अस्पताल पुगे। सबै रिपोर्ट आइसकेको रहेछ। डाक्टरले विनायकसँग एकान्तमा कुरा गर्न चाहे तर ऋद्धिले सँगै कुरा गर्दा हुन्छ भनेपछि डाक्टरले भने, ‘प्रयास त गर्नै पर्छ तर अलिक ढिला भएछ। यो अन्यत्र पनि फैलिएको छ। शल्यक्रिया गरेर फाल्न सकिन्छ तर पछि केमोले के गर्छ अहिले भन्न सकिने स्थिति छैन। खर्च पनि लागिहाल्छ।’
डाक्टरको कुरा सुनेर ऋद्धि निराश भई तर विनायकले तुरुन्तै भन्यो, ‘धत्, निराश बन्न हुन्छ? म छैन र? पैसा त जसरी पनि जम्मा हुन्छ। अपरेसन गर्नुपर्छ।’
‘सल्लाह गरेर आउनुहोस् न। एक दुई दिनमा आउँदा हुन्छ। अहिले जानुहोस्। यो एउटा औषधी लेखिदिन्छु , खानुहोला। अलिक बिसेक हुन्छ,’ डाक्टरले ढाडस दिए।
करिब पन्ध्र दिनपछि ऋद्धिको शल्यक्रिया भयो। शल्यक्रिया भएका दिन ऋद्धिमा एउटा आशा पलायो तर एउटा स्तन नै काटेर फाल्नुपर्दा उसलाई सारै पिर पर्यो। स्त्रीका लागि स्तन सन्तानलाई स्तनपान गराउने र सौन्दर्यको माध्यम मात्र होइन भन्ने उसलाई थाहा थियो। लोग्ने समझदार भए पनि यो मनमुटाबको विषय बन्ला भन्ने पनि उसलाई चिन्ता थपियो।
पतिको माया र सहयोगमा त शङ्का गर्ने ठाउँ थिएन तर उसलाई छोराको कर्म चलाउने पनि रहर थियो। उसले यसलाई आफ्नो कर्तव्य ठानेकी थिई। शरीरको घाउ केही निको भए पनि उसको मनको घाउ निको भएको थिएन। लोग्नेले अर्को बिहे गरिदिए हुन्थ्यो भन्ने उसलाई लागिरहेको थियो। विनायक चाहिँ यस्तो कुरा सुन्न चाहँदैनथ्यो।
मनको घाउ निको पार्न नै ऋद्धिले छोरीको बिहेको कुरा गरेकी थिई।
छोरीको स्वीकृतिपछि ऋद्धि र विनायकले मङ्सिर १५ गते नानीको बिहे गर्ने निर्णय गरे। उसले आफैँसँग पढ्ने र परिवारको स्तर मिल्ने केटो हेरेकी रहिछ। दुवै परिवारको कुरा मिलेपछि दुवै परिवारले सँगै भोज गर्ने निर्णय पनि गरे। घरका खसी बाख्रा र एउटा सुर्को खेत बेचेर बिहेको जोहो भयो।
मङ्सिर १५ गते छोरीको धूमधामसँग बिहे भयो। जन्ती अलिक चाँडो निस्कनुपर्ने भएकाले १ बजेतिर बेहुली अन्माइयो। बेहुली अन्माउनु पूर्व नै विनायकले ऋद्धिको जन्मदिन शास्त्रीय विधिले मनाइदिए। उनले पनि उपहार पाइन्। विनायकले जिस्काउँदै ऋद्धिको दाहिने हातको साहिँली औँलामा औँठी लाइदियो। यो देखेर बेहुला बेहुली पनि मुस्काए।
बेलुका चार बजेतिर भोजभतेर सकियो, बोलाएका सबै पाहुना आइदिए। परिवारभित्रका बाहेक अरूले आशीर्वाद दिएर फर्के। ऋद्धि पनि निकै गलिछ, आफ्नो ओच्छ्यानमा गएर पल्टी।
एकैछिन पछि ऋद्धिले ‘बाबा’ भनेर बोलाई। विनायक दौडँदै पुग्यो। ऋद्धिलाई अलिक गाह्रो भएजस्तो लाग्यो। घरमा अझै केही काम बाँकी नै थियो। अरूलाई काम छाडेर विनायकले मोटरसाइकल निकाल्यो र ऋद्धिलाई लिएर अस्पतालतिर लाग्यो।
‘ए ए ए... कस्तो कुदाएको मोटर साइकल? मर्ने भयो यो। रोक रोक,’ ट्रकको सहचालकले ड्राइभरलाई सचेत त गरायो तर ड्राइभरले ब्रेक लाउन सकेन। ऋद्धि र विनायक दुवै चक्कामुनि परे। ब्रेक लाएर हेर्दा दुवैको प्राण पखेरु उडिसकेको थियो।
उता विनायकको गोजीमा लगातार मोबाइलको घन्टी बजेको सुनेर सहचालकले फोन उठायो। उठाउनासाथ फोनबाट आवाज आयो, ‘आमा-बाबा, चिन्ता नगर्नू ल हामी राम्ररी घर पुग्यौँ।’
फोनको आवाज सुनेर सहचालक टुसुक्क बस्यो र भक्कानियो।