अघाउँदैन ऊ आमाको दूधले
थाकेर निदाएकी आमालाई हल्लाउँदै भन्छ-
आमा भोक लाग्यो
अलिकति खुलेको छाती पुरै खोलेर आमा भन्छे-
लौ खाऊ न त यही छाती
यो बाहेक तिमीलाई दिने के नै छ र?
उसले मुख गाडेर चुस्छ
चुस्त चुस्तै रगत निस्कन खोज्छ तर रस आउँदैन
उसले निचोर्छ
फेरि कोपर्छ र मुहारमा हेर्छ
आउँछ अलिअलि
आँखाबाट आँसु, निधारमा पसिना
तर पनि आउँदैन घृणा अनि रिस
ऊ फाल्न सक्दिन फ्यात्त उसलाई
उसले धकेल्छ अनि रुन थाल्छ
आमा भोक लाग्यो! आमा!
उसले भन्छे तेरो बाबुको खबर छैन
यी ढुङ्गा फल्ने पहाड कुनै रबर हैन
तन्काएर कुनै बिरुवा रोपौँ
के फलाएर खुवाऊँ म तँलाई
मेरो छाती बाहेक केही छैन
सुस्केरा सुसेल्दै भन्छे
धन्दा नमान म व्यापार गर्छु
अनि निभाउँछु आगो तेरो पेटको।
उसले बेच्छे त्यो कटेरो
छोड्छे माइतीमा बचेरो
जान्छे सीमा पारि
खरिद गर्छे नाना थरी
व्यावसायिक कर्मले जीवन धान्न
आउँछे भन्सारमा
बुझाउँछे केही रकम
हैरानी छल्न कर्मचारीका
कुदृष्टि धकेल्न ब्रह्मचारीका
भरिदिन्छे हात तगारो थाप्नेहरूका
पोको पार्छे आशाका फलहरू
गुन्टोमा बाँधेर सपनाहरू
चढ्छे कोचिँदै गाडीमा
हिँडाउँछ बिस्तारै गाडीले
पुच्छे पसिना माथका
पहिरेको खस्रो साडीले
अनि मुस्काउँछे थोरै थोरै
छोरोलाई सम्झँदै।
उसले कमाउने, जमाउन होइन
बाँच्ने बचाउने आशामा
ढुङ्गे फूल फुलाउने अभिलाषामा
सपनाको गुजुल्टो फुकाउँदा फुकाउँदै
हाम फाल्छ गाडी भोटेकोसीमा
भोक मेटाउन हिँडेका अरूले पनि
मेटाइदिन्छन् भोक माछाको
ऊ सँग सँगै
गाडी खसेको देखाएर
संकट घोषणा गरिदिन्छन्
राहतका नाममा ...हरू ...हरूले
आफन्तका भुँडी भरिदिन्छन्
बिमा रकममा दाबी रहन्छ हराएका आफन्तको
क्रिया खर्चमा दाबी रहन्छ उपाय नलाग्नेको
सबका दाबी पूरा हुन्छन्?
ऊ जस्तैका करबाट
सुन्दर व्यवस्थाको रहरबाट
रोदन र क्रन्दनको लहरबाट
भेट्छन् यहाँ एकले अनेक
मेटिन्छन् सबका भोकहरू
मेटिँदैन एकलका शोकहरू
मेटिँदैन अबोधहरूका भोक
व्यवस्थाको अवस्था बगिरहन्छ निरन्तर
भोटेकोसीको माछा जस्तै
कहिले माछा खाँदै
कहिले माछालाई खुवाउँदै
अनमोल भोक मेटाउन
भोक बनेर
आहारा बनेर
जिन्दगीहरू!