आऊ न सँगै निस्कौँ एउटा यात्रामा
तिमी र म भएर
तिमीसँग म अनि मसँग तिमी भएर
उकाली ओराली रमाउँदै गरौँला
सजिलो अप्ठ्यारो हात समाउँदै झरौँला
तिमी लड्न लागे म हात दिनेछु
छोड्ने छैन एक्लै म साथ दिनेछु
आफैँमा विश्वास गरेर हिँडौँला
एका अर्काको भर परेर हिँडौँला
आऊ न सँगै निस्कौँ एउटा यात्रामा
तिमी र म भएर
तिमीसँग म अनि मसँग तिमी भएर
तिमी टेन्ट बोक्नू म चुलो बोकौँला
नअटे सानोमा ब्याग ठुलो बोकौँला
हिँड न प्रकृतिमा रमाउँदै नाचौँला
एका अर्काको हात समाउँदै नाचौँला
डाँफे मुनाल नाचेको पनि सँगै हेरौँला
अनि सँगै हेरौँला हिमाल हाँसेको पनि
चौरी डुलाउनेहरूसँग गीत गाउँदै हिँडौँला
नजाने पनि भाका मिलाउँदै हिँडौँला
हिमालको काखमा थकाइ मेट्दै
झरनाको पानीले प्यास मेटौँला
प्रकृतिको आनन्दमा रमाउँदै
सहरको कोलाहलको अत्यास मेटौँला
गोठ, ओडार जे भेटिन्छ त्यहीँ रात काटौँला
दुःख, भोक, तिर्खा, थकाइ एकसाथ काटौँला
आऊ न सँगै निस्कौँ एउटा यात्रामा
तिमी र म भएर
तिमीसँग म अनि मसँग तिमी भएर
तिम्रो फोटो म अनि तिमी मेरो खिचौँला
जति सकिन्छ त्यति सेरोफेरो खिचौँला
चराको धुन हावाको संगीत सुनेर
बस्न मन छ तिमीले गाएको गीत सुनेर
सँगालौँला आज हिँडेका यादहरू
भोलि हिँड्न नसक्ने दिनमा सम्झिने गरी
तिम्रो र मेरो जीवनको यो यात्रा
बाँकी दुनियाँ बिर्सिने गरी
आऊ न सँगै निस्कौँ एउटा यात्रामा
तिमी मेरो अनि म तिम्रो सहारा बनेर
बाटो फेर्न नपर्ने गरी
एका अर्काको मनको यात्रामा
अब बाँकी जीवनको यात्रामा
तिमीसँग म अनि मसँग तिमी भएर
तिमी र म होइन अब हामी भएर
आऊ न सँगै निस्कौँ एउटा यात्रामा।