भक्तपुरको राधे राधेमा साथी रमेशलाई लामै समय कुरेर बसेँ। पर्खाइ दिक्क लाग्दो भयो तैपनि आइपुगेन ऊ। अझै पर्खन म्यासेजमा भनिरहेको छ। त्यसै बेला एक जना युवती दसैँको सपिङ गरेर होला हातमा झोला बोकेर सडकमा आई र सोधी, ‘पठाओ हो?’
अलमलिएँ म। हो पनि भनिनँ, होइन पनि भनिनँ। केवल टाउको हल्लाएँ। उसलाई एक पटक हेरेँ मैले। उसको लामो कपाल देखेर लोभिएँ। सिल्की कपाल पिँडुलासम्म झरेको! साँच्चिकै सुन्दर बनाएको थियो उसलाई।
‘खाली होइन र?’ भन्दै फेरि प्रश्न गरी उसले।
‘हात्तिवन जानु पर्ने, कतिमा लाने हो?’
आपत् पर्यो मलाई, कति भन्ने भन्ने। जाने कि नजाने दोधार हुँदा हुँदै रमेशलाई ‘जरुरी काम परेकोले कुर्न सकिनँ म गएँ’ भनेर लेखेँ म्यासेजमा। बल्ल जाने निर्णय गरेँ मैले।
‘त्यतै जानु पर्ने काम छ मिलाएर दिनु न’ भनेँ मैले।
मोटरसाइकलमा चढी ऊ। मोटरसाइकल दौडाएँ मैले। बेला बेलामा उसको लामो कपाल हावाले फरर पार्दै मेरो आँखासम्म ल्याइपुर्याउँथ्यो। कपाल भित्र लुकामारी खेलेको आभास हुन्थ्यो मलाई। बाटोमा पुगेपछि नाम सोधेँ उसको। आश्मा रहेछ। गन्तव्य पुगेपछि मलाई ३०० रुपैयाँ दिई। मैले लिइनँ।
‘भैगो मेरो यतै आउने काम थियो, तपाईंले सम्झनु भयो भने कुनै दिन कफी पिउँला।’
‘त्यसो भए तपाईंको फोन नम्बर दिनुस्’ भनी उसले।
फोन नम्बर दिएँ।
‘के भनेर नाम सेभ गरौँ?’ मेरो नाम जान्न चाही उसले।
मैले पठाओ राख्नुस् भनेर हाँसेँ। ऊ पनि हाँसी।
‘नामै छैन त?’
‘फोन आयो भने पछि फोनमा नाम भनौँला। हुन्न र?’ भनेँ मैले।
बाई भन्दै हाँसेर अगाडि बढी ऊ। देख्ने बेलासम्म हेरेँ। जब भीडमा हराई अनि मात्र फर्किएँ म।
ढाँट्ने क्षमता देखेर म आफै हाँसेँ। जिन्दगीमा पहिलो पटक ढाँटेँ कसैलाई। मेरो नम्बर आश्मालाई दिएको थिएँ तर उसले नम्बर लिइनँ। फोन गर्छे गर्दिन परीक्षण गरेँ मैले।
केही दिनपछि रमेश र म क्याम्पसबाट घर फर्कँदै थियौँ। एउटा फोन आयो। ‘पठाओ हो?’ भनी उसले। झुक्किएँ म। पठाओ भन्नू भनेको याद आयो तुरुन्तै।
‘को बोलेको?’ भनेर प्रश्न गरेँ मैले।
उसले ‘आश्मा’ भनी, ‘फुर्सद भए कफीको लागि निम्ति।’
मैले भोलिलाई प्रस्ताव गरेँ। मेरो प्रस्ताव स्वीकार गरी उसले। ‘तर फोन चाहिँ तपाईंले गर्नु पर्छ’ भनेर सर्त राखी। हुन्छ भन्दै फोन काटेँ मैले।
अनेक कुरा खेले मनमा। रमेशलाई समेत भनिनँ। क्याम्पसकी साथी उमाले यो कुरा थाहा पाई भने के भन्ने होला? मन अलि डरायो। उमाले कतै देखी भने मार्छे त्यसले।
भोलिपल्ट फोन गरेँ आश्मालाई। सातदोबाटो चोकमा भेटौँ भने। १ बजे सातदोबाटो पुगेँ। म पुग्नु अगाडि नै आश्मा आइपुगिछ।
कफी कहाँ पिउने त?
कुनै क्याफेमा जाऊँ भनी उसले। त्यो लोकेसनको खासै मेसो थिएन मलाई। केही अगाडि एउटा रेस्टुरेन्ट देखेँ। त्यसैमा जाऊँ भनेँ। सहमति जनाई उसले।
नयाँ मान्छे कसरी कुरा सुरु गर्ने? अलि अप्ठ्यारो भयो। अघिल्लो दिन ढाँटेको कुरा बताएँ उसलाई।
‘म खास पठाओ होइन। म पठाओ चलाउँदिनँ। पठाओको नामबाट तपाईंसँग भेट्न पाएँ। खुसी लाग्यो।’
मेरो कुरा सुनेर जोडले हाँसी।
‘ढाँट्नु हुँदो रहेछ।’
‘जिन्दगीमा पहिलो पटक ढाँटेको, त्यो पनि तपाईंको मिठासपूर्ण र मायालु बोलीको कारण’ भनेर प्रष्टीकरण दिएँ उसलाई।
दुवै जनाले तपाईं नभन्ने, एकले अर्कालाई तिमी भन्ने सहमति भयो। कफी खान गएका हामी चिसो र मःम खाएर फर्कियौँ। कफी फेरि अर्को दिन खाने वाचा गर्दै छुट्यौँ त्यो दिन।
उता उमा म परिवर्तन भएको देखेर रिसाई। झगडा गरी। स्वार्थी भएको आरोप लगाई मलाई। एक दिन आश्मा र मलाई मोटरसाइकलमा सँगै देखिछ। त्यो बेलुका फोन गरेर बधाई दिई। त्यसपछि उसले कहिल्यै फोन गरिन। मैले साथी मात्र भनेर थामथुम गर्ने कोसिस गरेँ। तर विश्वास गरिन। टाढिई ऊ। आश्माले गर्दा उमालाई बिर्सिएँ। उमालाई छोडेँ मैले।
पठाओको नामबाट अङ्कुराएको माया आश्मासँग झाँगिँदै गयो। आश्मा र म घनिष्ठ बन्यौँ। कहिले कहाँ, कहिले कहाँ घुम्न जान्थ्यौँ। झन्डै एक वर्ष यसरी नै बिते। आश्मा बिना बाँच्न नसक्ने जस्तै भएँ म।
अचानक एक दिन क्याम्पसको सिनियर दाइलाई बाटोमा भेटेँ मैले। उसले ‘बिहे नगर्ने? भोज नखुवाउने?’ भनेर ठट्टा गर्यो। म हाँसे।
त्यो दाइलाई मोबाइलमा एउटा फोटो देखाएँ। कस्ती छ भनेर सोधेँ मैले। दाइले आश्मालाई राम्ररी चिन्नु हुँदो रहेछ। दाइको नाताले ऊसँग बिहे नगर्न सल्लाह दिनु भयो मलाई।
‘यदि रिसाउँदैनस् भने एउटा कुरा भन्छु मान्छस्?’
मान्छु भनेँ मैले।
‘आश्मालाई छोड्दे।’
‘किन र?’ मैले प्रश्न गरेँ दाइलाई।
उहाँले उत्तर दिनुभयो, ‘आश्माको डिभोर्स प्रक्रियामा छ। कानुनी रूपमा ऊ सिङ्गल केटी होइन। अदालतमा माना चामलको मुद्दा चलिरहेको छ। कानुनी झमेलामा छे ऊ। श्रीमानले छोड्न चाहेको रे। यसको अर्थ श्रीमानसँग मेलमिलाप पनि हुन सक्छ भविष्यमा। अदालतले दुवै पक्षलाई मेलमिलाप गर्न अवसर दिन्छ। यदि मिलापत्र भयो भने तिमी के गर्छौ?’
दाइको कुराले मलाई बेचैन बनायो। एकाएक अन्तर्द्वन्द्वमा फसेँ म।
छाँगाबाट खसे झैँ भएँ म। उमालाई सम्झिएँ तर ढिला भइसकेको थियो।
बिहे गर्ने सुरसारमा रहेको म अलमलिएँ। दोधारमा परेँ। आश्माको कानुनी झमेला कहिलेसम्म रहन्छ टुङ्गो छैन। घरमा मलाई विवाहको लागि दबाब छ।आफ्नै मनसँग अन्तर्संवाद गरेँ।
नेपालको अदालत न हो फैसला कहिले कहिले! फैसला गर्न अदालतले १० औँ वर्ष लगाउँछ। दलदलमा फस्न उचित ठानिनँ। कानुनी प्रक्रिया टुङ्गिएको भए फरक तरिका सोच्थेँ। किनकि एक्काइसौँ शताब्दीको युवा हुँ म। त्यो पनि भएन।
मनले प्रश्न माथि प्रश्न गर्यो। दोधार हुँदा हुँदै अन्तरमनले आश्मासँगको सम्बन्ध टुङ्गाउनु उचित ठानेँ मैले। आफ्नै मनलाई सम्झाएँ। अन्तिम पटक आश्मासँगै बुझौँ भन्ने लाग्यो, कुरा के रहेछ?
आश्मालाई फोन गरेर जरुरी छ भेटौँ भनेँ। आई ऊ। म अधैर्य थिएँ। सिधै उसलाई डिभोर्स प्रक्रिया कहाँ पुग्यो भनेर सोधेँ।
नर्भस झैँ भई ऊ। बोल्न खोजी तर सकिनँ। डाँको छोडेर रोई। होइन भन्ने आँट गरिन। पछि कुरा गरौँला बाई भन्दै म निस्किएँ। त्यसपछि न उसले भेट्न खोजी न मैले भेट्न चाहेँ।
पठाओले मिलाइदिएको प्रेमिकाको माया अकालमा अन्त भयो। पठाओको पटके यात्रा जस्तै भयो माया पनि।