म २५ वर्ष उमेरको 'पठाओ राइडर', आफ्नो भविष्य खोज्न गाउँबाट काठमाडौं छिरेको हुँ। दैनिक खर्च धान्न आफूलाई अनुकूल हुनेगरी नियमितजसो पठाओमा यात्रु ओसारपसार गर्छु।
वैशाखको दिन थियो। धेरै ठाउँमा बैजनी रङको ज्याकरान्डा फूलले काठमाडौंको सहरी सौन्दर्य बढाएको थियो। अघिल्लो दिन हलुका वर्षा भएर आकाश खुलेको थियो।
बिहानै चाँडै आफ्नो बाइक लिएर कीर्तिपुरको एउटा चिया पसलमा चिया पिउँदै मोबाइलमा एप्लिकेसन खोलेर यात्रु पर्खिँदै थिएँ।
यत्तिकैमा पछाडिबाट महिला आवाज कानमा ठोक्किन आइपुग्यो– दाइ, पठाओ हो?
पछाडि फर्केर हेरेँ, सेतो कुर्तामा सजिएकी, गहुँगोरो वर्णकी, अलिक होचो कदकी, मृगनयनी, अन्दाजी २० वर्षकी युवती रहिछन्।
मृगनयनमा हलुका गाजल लगाएकी थिइन्। निख्खर कालो कपाल पछाडिपट्टि चुल्ठो पारेर बाटेकी थिइन्। निधारमा सानो कालो टीको लगाएकी थिइन्।
मुखमा मास्क लगाएकी हुनाले मुहारको आकृति पूरा देखिएको थिएन तैपनि उनको सुन्दरता अन्दाज गर्न सकिन्थ्यो। ती युवतीको सुन्दरता र ज्याकरान्डा फूलले दिएको काठमाडौंको सुन्दरता उस्तै थियो।
हो, होइन; केही नभनी मैले त उनैलाई एकोहोरो हेरेछु!
फेरि आवाज आयो – दाइ, पठाओ हो?
म झसंग भएँ अनि भनेँ – हो नि! कहाँसम्म जानुपर्ने होला!
आफ्नो गन्तव्य बताइन् – रत्नराज्य स्कुल, मध्यबानेश्वर।
सोधेँ – अनलाइन जाने कि अफलाइन।
सहज जबाफ दिइन् – हजुरको इच्छा, मिलाएर लैजानु न।
मैले अनलाइन कै तयारी गरेँ। रिक्वेस्ट गर्न लगाएर, राइड सुरू गरेँ।
बाटोमा सोधिन् – दाइ, हजुरको घर कता?
गुल्मी हो भनेँ। उनी स्याङ्जाकी रहिछन्। लोक सेवा आयोगको परीक्षामा सहभागी हुन जानुपरेको रहेछ।
मैले 'अनलाइन गरेरै जाऔं' भनेको कुराले उनलाई खुसी लागेछ, थोरै प्रभावित भइछन्।
फेरि सोधिन् – यही काम (राइडिङ मात्रै) गर्नुहुन्छ कि अरू काम पनि छ?
म भर्खरै ब्याचलर (स्नातक) सकेर बसेको, एक-दुईपटक लोक सेवा परीक्षाको तयारी पनि गरेको थिएँ तर पार लाग्ला जस्तो देखिनँ। विदेश जाने विचारले कोरियन भाषा पढ्दै छु। काठमाडौं बसुन्जेलका लागि पठाओ राइडर भएको छु।
मैले आफ्नो यही अवस्थाबारे सुनाएँ।
उनले फेरि सोधिन् – कोसिस गर्दा त नाम निस्किहाल्छ नि, किन छोड्नुभएको त लोक सेवाको परीक्षा?
मैले उनको जिज्ञासा बेवास्ता गरेजस्तो गरेँ।
यत्तिकैमा उनको परीक्षा केन्द्रमा पुगियो। 'बेस्ट अफ लक' भनेर म बिदा भएँ।
यात्राभरि मेरो मनमा उनीप्रति प्रेमभाव प्रकट भइरहेको थियो। त्यो राइड विशेष किसिमको लागिरहेको थियो। यस्तै के के सोचेर टोलाएछु। मोबाइलमा अर्को राइडको नोटिफिकेसन बज्यो। म यात्रु लिएर अघि बढेँ।
यो बीचमा मेरो मनमा केही फरक विचार उत्पन्न भयो। मेरो मस्तिष्कमा ती युवतीको बोली, सुन्दरता र यात्राको संवाद चलिरह्यो।
मैले एउटा सोच बनाएँ – परीक्षा केन्द्रमा गएर गेटमा कुर्ने र उनी बाहिर निस्केपछि भेट गर्ने।
परीक्षा सकिनु १५ मिनेटअघि केन्द्रमा पुगेर उनको प्रतीक्षामा बसेँ। परीक्षा सकिएको घण्टी बज्यो। परीक्षार्थीहरू कोही हँसिलो र कोही निन्याउरो अनुहार गेटबाहिर निस्किन थाले।
सबैका आफ्ना कुरा थिए। कोही उत्तर मिलेको प्रश्नको संख्या गन्दै थिए त कोही यो उल्टो भएछ, यो बिग्रिएछ भन्दै थिए।
मेरा आँखा तिनै युवतीको पर्खाइमा एकनासले गेटमा केन्द्रित थिए। वर्षौंदेखि कसैको पर्खाइमा छु जस्तो हुँदै थियो।
यत्तिकै मेरो नजर बिहानको त्यही सेतो कुर्तामा पर्यो। मुखमा मास्क थिएन। ओहो! कस्तो सुन्दरता! कस्तो चमक! उनी आफ्नै धुनमा मेरोनजिकै आइपुगिन्।
मैले फ्याट्ट सोधेँ – परीक्षा कस्तो भयो?
मतर्फ राम्ररी नहेरी अर्धपरिचितलाई जस्तो जबाफ दिइन् – ठिकै भयो।
छक्क परेजस्तो गरेर लगत्तै सोधिन् – म त अलमलमा परेकी, तपाईं पो? यतै हुनुहुन्छ? अहिले पनि पुर्याइदिनुहुन्छ?
ठट्टाजस्तो भावमा भनेँ – भइहाल्छ नि! कुरेरै बसेको हुँ। अहिले अनलाइन जाने कि अफलाइन?
हाँस्दै भनिन्– नजिस्किनु न!
उनलाई बाइकमा राखेर अघि बढेँ।
यो राइडमा निकै कुरा भयो। कीर्तिपुरसम्मको यात्रा अति छोटोझैं भयो। गन्तव्यमा पुगियो।
मैले सँगै चिया खाऔं भनेर प्रस्ताव गरेँ। उनले आनाकानी गरिन्, खाऔंला नि भनेर टार्ने प्रयास गरिन्। मैले थोरै ढिपी गरेझैं अनुरोध दोहोर्याएँ।
आखिर उनी चियाका लागि तयार भइन्। चिया पिउँदै गफमा निकै बेर भुल्यौं। एकअर्काका केही कुरा सेयर गर्यौं, सामाजिक सञ्जालमा साथी भयौं। बेलुका कुरा गर्ने भाकामा राखेर छुट्टियौं।
उनले पठाओको भाडा लिनू भनेर पैसा अघि सारिन्। 'आफ्नो मान्छेलाई केको भाडा! तिम्रा लागि सधैं फ्री' भनेर मैले बाइक चलाएँ।
छिट्टै कल्पनामा डुब्ने मेरो मन त्यस दिन ती युवतीप्रति अत्यन्तै प्रेमिल बन्यो। राइडिङको अरू रिक्वेस्ट नलिई सरासर कोठामा गएँ। ती युवतीको सुन्दरता र बोलीको मिठास मेरो मानसपटलमा फनफनी घुमिरह्यो। उनका प्रत्येक शब्द र वाक्यको भावार्थ खोजिरहेँ।
बेलुका खाना खाइएर यसो पल्टेको थिएँ।
तिनै युवतीको मेसेज आयो, 'हेलो सरजी' लेखेकी रहिछन्। दिउँसो 'दाइ' भनेकी थिइन्, अहिले 'सर', त्यो पनि 'जी' थपेर!
मेरो मन फुरूंग भयो। मनमा प्रेमको लड्डु फुर्न थाल्यो।
त्यो रात त्यति नै भयो। त्यसपछि मेसेन्जरमा बाक्लै कुरा हुन थाल्यो। राति बाह्र-एक बजेसम्म गफ चल्थ्यो। हरेक रात केही बेर गफ गर्ने लत नै भयो।
एकपटक मैले भेटका लागि आग्रह गरेँ। परीक्षा नजिकिएकाले गर्दा फुर्सद नमिल्ने बताइन्। मैले तिमी अप्ठ्यारो मान्दिनौ भने एउटा कुरा लेखिपठाउँछु भनेँ। उनले स्वीकृति दिइन्।
मेसेन्जर बक्समा लेखेँ –
तिमीसँग बोल्ने कस्तो लत भइसक्यो।
स्वीकार्नलाई मन पनि सहमत भइसक्यो।।
जबाफ तिम्रै कुरी बसेको छु म अहिले।
कोहीकोही मान्छे मेरो कस्तो आदत भइसक्यो।।
यति लेखेर 'सेन्ट' गरिदिएँ। केही बेरमा मेसेज 'सीन' गरिन् तर प्रतिक्रिया जनाइनन्। मेरो मन अलमलमा पर्यो। उनी रिसाइन् कि भन्ने डर उत्पन्न भयो।
निकै बेरपछि प्रतिक्रिया आयो – यति हतार किन! समय हाम्रै त हो, विचार गरूँला नि!
हाम्रो आत्मीयता झन् गाढा हुँदै गयो। मन झनझन् नजिकिन थाल्यो। उनले मेरो प्रस्ताव औपचारिक रूपमा स्वीकार नगरे पनि अनौपचारिक तरिकाले स्वीकार गरेको मानेको थिएँ।
हामीबीच अघोषित प्रेम सम्बन्धको बिरूवा हुर्किन थाल्यो।
उनी परीक्षाबाट फुर्सद भइन् होला, हाम्रो भेट भयो। दिन बित्दै जाँदा हाम्रो भेट बाक्लिँदै गयो। आआफ्ना मनका कुराको आदानप्रदानले प्रेमको बिरूवामा मलजल गर्यो।
बिरूवामा नयाँ पालुवा पलायो। प्रेमको फूल फुल्यो। हामी एकअर्कामा निकै निकट र प्रेमिल भयो। म उनी कतै जानुपर्दाको व्यक्तिगत राइडर भएँ।
कोरियाली भाषा परीक्षामा म उत्तीर्ण भएँ।
उनी मलाई भन्थिन्– हजुर विदेश नजानू, यहीँ लोक सेवाको तयारी गर्नू।
मैले लोक सेवा परीक्षा माया मारिसकेको थिएँ, उनको सल्लाह मानिनँ।
उनी पढाइमा अब्बल थिइन्। लुम्बिनी प्रदेशको लोकसेवा आयोगले लिएको 'सहायकस्तर पाँचौं' तहको लिखित परीक्षा उत्तीर्ण गरिन्। अन्तर्वार्ता पनि सफल भयो। गुल्मी जिल्लाको एउटा गाउँपालिकामा नियुक्ति पाइन्।
उनको सफलताले हामी दुवै जना खुसी भयौं। अब 'सेटल' हुने भइयो भन्ने ठानेर म उत्साही भएँ।
उनी काठमाडौंबाट गुल्मी जाने भइन्। उनलाई बिदा गर्न नयाँ बसपार्क पुगेँ।
बिदा हुँदै गर्दा भनिन् – अब हजुरको कोरिया फ्लाइट हुने बेला भेट्न आउँछु, हजुर एकपटक विदेश गएर आएपछि बिहे गरौंला।
उनको कुराले म ढुक्क भएँ, सहमति जनाएँ। उनको सफलताको सुभेच्छा प्रकट गरेर फर्केँ।
उनी जागिरे भएपछि पनि हाम्रो गफले निरन्तरता पाइरह्यो। साँझबिहान कुरा हुन्थ्यो।
समय बित्दै जाँदा उनी ससानो कुरामा पनि असहमति प्रकट गर्न थालिन्। बेलाबेला उनी झर्केको र मेरो व्यवहारमा शंका गरेको जस्तो अनुभव हुन थाल्यो।
हाम्रो गफ पातलो हुँदै गयो। आत्मीयता पनि धमिलिएजस्तो हुन थाल्यो।
केही दिनको अन्तरालपछिको एक गफमा उनले भनिन् – हजुरले भन्दा मलाई बढी बुझ्ने यही अफिसको एकजना सर हुनुहुन्छ, उहाँ मेरो दुःखमा साथ दिनुहुन्छ, मेरो मनमा असल व्यक्तिका रूपमा स्थापित हुनुभएको छ।
त्यसपछि हाम्रो मेसेन्जर गफ झन् पातलियो।
मैले सोचेँ – एउटा गाढा प्रेमको हत्या भयो।
दोषी म थिएँ कि उनी थिइन्, म स्पष्ट हुन सकिनँ।
मेरो पनि कोरियाका लागि मेडिकल टेस्टको समय आयो। निकै उत्साहका साथ परीक्षणमा गएँ तर रिपोर्टले निराश बनायो। आँखामा 'कलर ब्लाइन्डनेस' देखियो। म कोरिया जान नपाउने भएँ। यसले मलाई निकै दुःखी र भावविह्वल बनायो।
लाग्यो, भाग्यमा नभएपछि जति परिश्रम गरे पनि केही नलाग्दो रहेछ।
एक दिन उनलाई यो कुरा सुनाएँ। यसमा कुनै प्रतिक्रिया जनाइन्। बरू कुरा अन्तै लगिन्।
त्यसपछि मैले उनीसँगको पातलो सम्पर्क पनि बन्द गरेँ। कोरिया जाने भाग्य भएन, अब यहीँ बसेर लोकसेवा तयारी गर्छु भन्ने सोचेँ।
खर्च टार्न पठाओ चलाउने र लोक सेवाको तयारी गर्ने अठोट गरेर कम्मर कसेँ।
संघीय शाखा अधिकृतको पहिलो पत्रको परीक्षा हुने दिन थियो। परीक्षा केन्द्रसम्म जाँदा पनि एकजना यात्रु लैजान्छु भन्ने ठानेर कीर्तिपुरको एउटा चोकमा एप्लिकेसन खोलेर पर्खिँदै थिएँ।
पछाडिबाट महिला आवाज आयो – दाइ पठाओ हो?
कुनै परिचित आवाजझैं लाग्यो। फर्केर हेर्छु त उनै रहिछन् जसलाई मैले यसरी नै यही चोकमा भेटेको थिएँ।