पोहोर सालको कुरा हो।
ग्रेट वालभन्दा लामा सपनाका भारी बोकेर जसोतसो जान तयार भएँ म दसैंमा घर। परीक्षा नजिकै थियो तर बा आमाको आउनै पर्ने डाइलगहरू कुनै फिल्मी डाइलगभन्दा कम 'इमोसनल' थिएनन्।
टिकट चिनेको दाइले काटिदिएका थिए। जाने दिन सिटको आडैमा को पर्ने होला भन्ने कौतुहलतामा भोरिएर जसोतसो पुगेँ बसपार्क।
आठ बजे छुट्ने गाडी थियो। म ७ बजे नै पुगिसकेको थिएँ। सहचालक दाइसँग हल्का भलाकुसारी हुँदै थियो।
यस्तैमा भन्न भ्याए, 'ब्रो! तिम्रो आडैको सिटमा त राम्री केटी पर्नुभएछ। मैले नै काट्दिएको हो टिकट। तर हल्का उल्टी हुन्छ रे! झ्यालतिर बस्न दिनू है।'
कुरा सुनेर पढाइका बोझहरू सबै हल्का भएर आए। दसैंमा घर जाने निर्णय ठिकै जस्तो लाग्यो त्यति बेला। वान्तासान्ता जे भए नि सम्हालुँला नि भन्ने लाग्यो।
७:४५ भइसकेको थियो। ऊ अझै आएकी थिइन। म उसकै प्रतीक्षामा थिएँ भन्दा हुन्छ। पहिले नै झ्यालको सिट छोडेर छेउतिर बसेको थिएँ। अझ वान्ता हुन लाग्दा प्लास्टिक माग्ली भनेर एक दुइटा गोजीमै राखेर बसेको थिएँ।
ड्राइभर दाइले धुपसुप बालेर गाडी स्टार्ट गरे। तर अहँ उसको आउने छाँटकाँट थिएन। आफै गएर सहचालक दाइलाई सोधेँ। माछापोखरीबाट चढ्ने रहिछे मोरी। बित्थामा मलाई अत्ताएर छोडी!
माछापोखरीमा गाडी रोकियो। सहचालक दाइ उसैलाई फोन गर्दै थिए। म भने झ्यालबाट पहिलो नजर लगाऊँ कि भन्दै हेर्दै थिएँ। तर सामान डिकीमा हाल्दै रहिछ क्या हो, पत्तो मिलेन। पहिलो 'इम्प्रेसन' नै बब्बाल बनाउन आफूलाई तम्तयार राखेँ।
जसै ऊ बसभित्र छिरी, म छाँगाबाट खसेझैं भएँ।
मैले देखेँ मेरी पूर्वप्रेमिका।
आमैले सानोमा कुचोले पिट्दा जति पीडा हुन्थ्यो, त्योभन्दा दुई गुणा बढी पीडा भयो रोजिनालाई देखेर।
रोजिना टिकट हेर्दै सिटतिर अघि बढी। मैले मास्क लगाएँ र टाउको निहुर्याएँ। सहचालक दाइ मतिर हेर्दै हाँस्दै थिए। तिनलाई के थाहा कुन फसादमा परिरहेको छु म भनेर।
जुरूक्क उठेँ। उसलाई झ्यालतिरको सिटमा जाने बाटो छोडेँ। आफूलाई भने त्यहाँ बस्ने मुड नै भएन। तर बसौं पनि कहाँ? सबै सिट प्याक थिए। भएका एक-दुइटा मुढामा पनि बच्चाबच्ची बसेका थिए।
म उभिइरहेको देखेर उसले मलाई भनी, 'बस्नुस् न सर।'
अझै चिनेकी थिइन मोरीले।
बस्नैपर्यो भनेर बसेँ। अघिसम्म मुलायम त्यो सिटमा कसैले काँडा रोपेझैं घोच्न थालेको थियो।
जब मैले मास्क खोलेँ र चस्मा उघारेँ, ऊ पनि हेरेको हेर्यै भई। सायद अब फुत्केर जाने ठाउँ थिएन उसलाई पनि।
रोजिनाको सिउँदोमा सिन्दुर र गलामा मंगलसुत्र देखेँ। अनि त दसैंमा बेकारै घर आएछु जस्तो लाग्न थाल्यो। केटाहरूले नजा भनेकै थिए। बरू काठमाडौंमै बसेको भए त मनलाई यतिबिघ्न आन्दोलित बनाउन पर्दैन थियो होला। निको भइसकेको घाउमा नुन, खुर्सानी दल्नुपर्दैन थियो होला।
दसैंको रोटे पिङले झैं सम्झनामा फेरि त्यो उचाइमा लाने भयो हामीलाई जहाँबाट हामी दुवै बेस्मारी झरेका थियौं। तर झर्दा हामी सँगै थिएनौं। र, टुंगिएको थियो हामीबीचको प्रेम।
थानकोटको ओरालो सुरू भयो। सारंगी दाइ बसमा उक्लिएर 'गाउँसहरमा लमजुङ दरबार, मायालाई दिन हुन्थ्यो फूल जस्तो जोबन तर भइसक्यो मेरो घरबार' गाउन थाले। रोजिनाकै पीडा गीतमार्फत ओकल्न थाले जस्तो। म भने ऊ कति खेर बोल्ली भनेर पर्खेको पर्ख्यै थिएँ। घरी रूप्से झरना जस्ता उसका कपालले मलाई स्पर्श गर्थे, त घरी रारा ताल जस्ता शान्त उसका नजरहरूले इसारा हान्थे। म भने मृत सागरमा तैरिइरहने वस्तु जस्तै तैरिइरहेको थिएँ उनका अनजान भावहरूमा।
ड्राइभर दाइको रोजाइमा बसमा गीत बज्यो— बेहुला बनाउँछु भन्थी बहुला बनाएर गई।
गीतले बेस्मारी हान्यो मलाई। भुइँचालोको इपिसेन्टर त मेरै मुटुमा थियो। नजिकै रहेकी रेजिनासम्म पराकम्प पुग्यो कि नाइँ?
ऊ केही निन्याउरो भई।
मैले सम्झिएँ ती दिनहरू। एसएलसीको ट्युसन पढ्न होस्टल बस्दा टुसाएको हाम्रो माया। सदरमुकाम झरेर प्लस-टु पढ्दा बाँसको डालीझैं झाँगिएको हाम्रो माया अहिले कहाँ पुग्यो पुग्यो!
ब्याचलर पढ्न काठमाडौं आइपुग्दासम्म त हामी एकअर्कासँग नबोल्ने भयौं। कतै पनि नचिनिने र नदेखिने भयौं।
वल्लो गाउँमा पर्छ रोजिनाको घर। स्कुलबाट आउँदा म उनलाई घरसम्मै छोड्न आउँथेँ। झमक्कै साँझ परिसकेको हुन्थ्यो। मान्छेका अनुहार चिनिन गाह्रै पर्थ्यो।
उनको घर छेउ पुगेपछि मिठो चुम्बन गरेर बल्ल म फर्किन्थेँ। घरमा बाले गाली गर्ने हुँदा दौडिएर आउँथेँ। त्यो दौडमा चाहिने ऊर्जा जति सबै उनीसँगकै भेट र सामीप्यले दिन्थ्यो।
रात अबेरसम्म लालटिनको धिपधिप उज्यालोमा उसका लागि नोट तयार पार्थेँ। अम्बा पाक्दा बोटैमा चरीको झुटो हँसियाले काटेर आधा उसले र आधा मैले खान्थ्यौं।
सँगै बसेर रोटे पिङ खेल्थ्यौं। सातो जान्थ्यो मेरो तर रोजिना हिम्मत दिन्थी। लिंगे पिङ पनि सँगै खेल्थ्यौं। दसैंमा टीका लाएपछि फिल्म हेर्न सँगै जान्थ्यौं।निखिल उप्रेतीको एक्सन र दिलीप रायमाझीको नाचको फ्यान थियौं हामी। हलभित्र हुटिङ सहित ताली बज्दा हामी भने एकर्काका हात मुसारेर बसेका हुन्थ्यौं
दसैं ताका फुल्ने पारिजात एकदम मनपर्थ्यो रोजिनालाई। अँजुलीभरि सँगालेर ल्याउँथी र सुगन्धित बनाउँथी।
कहिलेकाहीँ प्रश्न सोध्थी, 'म पनि तिम्रो जीवनबाट पारिजात जस्तै चाँडै झरेँ भने, तिमीलाई थाहा नदिई मोडिएँ भने तिमी के गर्छौ?'
म हौसिएर भन्थेँ, 'कहाँ पारिजात फूल र हाम्रो प्रेम पनि एकै होला र? यो त रहिरहन्छ नि मखमली जस्तै। यस्तो कामना पो गर्नुपर्छ हामीले।'
नभन्दै सानो मनमुटावमा ब्याचलर पढ्दा काठमाडौंको भिडभाडमा हराएको हाम्रो प्रेम कतै भेटिएन।
रोजिना पारिजात फूल जस्तै सुगन्ध फैलाएर विलप भई काठमाडौंको भिडमा।
कुरिनटारमा गाडी घच्याक्क रोकियो। खाना खाने ठाउँ आएछ। म पनि वर्तमानमा रोकिएँ।
जाऊँ खाना खान भनेर बोल्ने हिम्मतसम्म आएन। खुरूखुरू वासरूम गएर फ्रेस भएर कुपन लिएर बसेँ।
ऊ एकछिन पछि मेरै अगाडि आएर बसेकी थिई, चटपट र कुरकुरे खाँदै। ऊ मैले आफ्नो मुखमा गाँस हालेको हेरिरहेकी थिई।
उसको मुहार नहेरी रहन सकिनँ।
त्यही आकृति थियो त्यो जसलाई आफ्नै हातले मुछेको खानाको पहिलो गाँस खुवाएर अनि मात्र मैले खाएको थिएँ। तर आज त मौनता नै धेरैबेर लम्बिइरहेको थियो।
खाना खाएपछि बस मुग्लिन हुँदै आँबुखैरेनीतर्फ मोडियो। उसलाई वान्ता सुरू भयो। गोजीमा भएको प्लास्टिक नदिई बस्न सकिनँ। धेरै नै गाह्रो भयो रोजिनालाई। टाउको हातले अड्याइदिएर सान्त्वना दिइराखेँ।
वान्ता गरिसकेपछि पुलुक्क ऊ मतिर हेर्थी। तर बोली अझै फुटिसकेको थिएन। गाडीमा राजु परियारको ठाडो भाका गुन्जिँदै थियो। यसै मेसोमा उसको पछ्यौरी ओढेरै रातीसम्म करपुटारे मेलामा सँगै राजु परियारको दोहोरी सुनेको याद आयो।
त्यही मेलामा किनेको त्यो पछ्यौरी हाम्रो मायाको चिनो थियो।
उसलाई सोध्न सकिनँ मैले, 'हाम्रो त्यो चिनो कहाँ छ?'
घर आउन अब धेरै बाँकी थिएन।
वान्ता गरिसकेपछि पानी खाएर फ्रेस हुँदै गर्दा उसले 'मलाई माफ गरिदेऊ प्लिज' भन्दै रून्चे स्वरमा शब्द निकाली।
यो सुनेर मन त थियो एकचोटि अँगालो हालेर रोइदिऊँ। तर कहाँ त्यो सिउँदोको सिन्दुरले दिन्थ्यो र?
बिस्तारै उसका हात सुमसुम्याउने रहर जाग्यो। तर सम्हालिएँ।
तिमीले अझै बिहे गरेका छैनौ भनेर उसले सोध्दा र मैले छैन भनेर उत्तर दिएँ। उसका आँखामा जमेर रहेको एउटा कमजोर हिमताल फुट्यो र बग्यो मेरो कोमल मुटु तहसनहस पार्ने गरी। मैले उसलाई थपथपाउन खोजेँ।
छोडिदेऊ पहिलाका कुरा भनेर बिन्ती नै गरेँ। तर पनि आँसु बिस्तारै बग्न रोकिएका थिएनन्।
यस्तैमा फोन आयो उसको मोबाइलमा। सायद श्रीमानको थियो। ऊ त्यो अवस्थालाई क्रमभंग गर्दै केही पनि भएकै छैन जसरी श्रीमानसँग बोली। केही दिनअघि नै काठमाडौंबाट घर आएको श्रीमान उसलाई लिन बाटोमा बसिराखेको थियो। म भने कतै गाडी बिग्रिएर एक छिन रोकिए पनि त ऊसँग अझै बोलिराख्न पाउँथेँ, हेरिराख्न पाउँथेँ भन्ने सोचिरहेको थिएँ।
तर अहँ! त्यस्तो केही भएन।
ऊ झर्ने स्थान आयो।
बाई गर्न हातहरू उठेनन्। न ओठमा मुस्कान नै छायो।
झ्याल बाहिर रोजिनाको श्रीमान थियो। खुब माया गर्ने जस्तो देखिन्थ्यो। हेन्डसम पनि थियो। पढेलेखेकै होला।
लाग्यो- मेरो गल्ती पनि थियो होला। आज रोजिना मसँग छैन। झ्यालबाट मैले रोजिना छुटेका बाटाहरू हेरिरहेँ। तर रोजिनाले फर्केर हेरिनँ। सायद मुभ अन हुन रोजिनाले सिकिसकी। आफ्नो परिवार अब महत्त्वपूर्ण छ उसका लागि।
दहीमा मुछेका अक्षता निधारमा टिकाउ हुन्छ भन्छन्। सबै टिकाउ प्रेमको खोजीमा त हुन्छन् तर कहाँ मिल्छ र? एउटा-दुइटा गर्दै अक्षता जस्तै झरी जाने रहेछन् सम्बन्धहरू पनि। अनि दसैंको टीका दिनमा कानमा सिउरिएर शोभा दिने जमरा जस्तै त रहेछन् पूर्ववत् साइनोहरू भन्नु। साइत सकिएपछि सेलाउनै पर्नै!
जे होस्, रोजिनासँगको भेट दसैंको अमूल्य आशिष जस्तै भयो मेरा लागि किनकी त्यसले पाठ सिकाएर गयो जिन्दगी पुनः सुरू गर्न!