कविता
म छु केबल म मात्र छु
एक्लो छु तर स्वतन्त्र छु
सँगै बोल्छु म सँगै हाँस्छु
एक म, अर्को म भित्र छु।
कथा अनि पटकथा छु
त्यसको सम्पूर्ण चरित्र छु
आफै दर्शक निर्देशक छु,
रङमञ्चको सिंगो पात्र छु।
सिक्छु मलाई सिकाउँछु,
म अनन्त ज्ञान शास्त्र छु।
आफूलाई मार्छु, बचाउँछु
एउटा अचुक अस्त्र छु।
हेर्छु, आफू सर्वांग देख्छु
आफू आफू मै निर्वस्त्र छु।
मेरो खगोल, मेरो भूगोल
आफूभित्र म सर्वत्र छु।