कविता
फेरि घुम्दै फिर्दै दसैं आएको छ।
उता गाउँमा पहिरोले घर बगाएको छ।
ढलेका छन् साँझमा,
सयौंका कयौं बाँस, खुसी, सपना
कहिल्यै साकार नहुने गरी।
यो दसैंमा दशा बनेर आएको
दु:खलाई देख्न यो देशमा सरकार त छ।
तर,
न हाम्रो केही अधिकार छ।
न त दसैं मनाउन अब घरबार छ।
त्यसैले यो सरकार मात्रै भएर के गर्नु?
ऊ केबल मात्र पीडा नियालिरहन्छ
हामीलाई त सरकार हुनु बेकार छ।
अब कमेरोले पोत्ने घर छैन,
खोलाले खोतल्दै खोतल्दै लगेको त्यो
कल्छे खेतको भर छैन।
छोराछोरीलाई दसैंमा दु:ख गरेर कमाएको,
खाईनखाई गरेर जोगाएको
पैसाले नयाँ कपडा किनिदिने रहर छ
तर आधार छैन।
त्यसैले मलाई,
मन त थियो दसैं मनाउन
परिवारसँगै बसेर रमाउन
तर यहीँ बेला,
केही भए पनि कमाउन
त्यो भत्केको घर फेरि बनाउन
विदेशिनुपर्ने बाध्यताले सताएको छ।