पल्लो घरमा त रातो टीका लगाएर
दसैँ मनाउँदै छन् नि बा
के हाम्रो घरमा दसैँ आउँदैन र?
बाबु हाम्रो घरमा दसैँ त आउँछ तर
चामल अक्षता बन्न नपाउँदै सकिन्छ।
ऊ त्यहाँ पल्लो घरमा त खसी काटेर
दसैँ मनाउँदै छन् नि बा
हाम्रो घरमा दसैँ आउँदैन र बा?
बाबु हाम्रा घरमा दसैँ त आउँछ तर
खसी नकाटिँदै खुसी काटिएर जान्छ।
त्यहाँ पल्लो घरमा त नयाँ लुगा किनेर
दसैँ मनाउँदै छन् नि बा
हाम्रो घरमा पुराना लुगाले दसैँ मनाउने हो र?
बाबु हाम्रा घरमा नयाँ लुगा त आउँछ तर
नयाँ लुगा ल्याउँदा पुराना रहर च्यात्नु पर्छ।
पल्लो घरमा त मिठाई र झिलिमिली बत्तीले
दसैँ मनाउँदै छन् नि बा
हामीले अँध्यारो र रित्तो थालमा दसैँ मनाउने हो र?
बाबु हाम्रा घरमा उज्यालो र मिठाई त आउँछ तर
केही अँध्यारा र तिता दिनहरूलाई काटेपछि।
तर बाबु,
तिमीले हिम्मत नहार्नू
किनकि हाम्रा दिनहरू पनि आउँछ
दसैँको छायामा होस् या प्रकाशमा
सपना हाम्रो छ एक दिन फेरि बाँच्ने।