जहाज भने नि त्यही। सवारी साधन भने नि त्यही। मेरो लागि सबथोक थियो। पल्सर बाइक १६० सिसिको। ४ वर्ष जति चलाएँ त्यसलाई। खासै समस्या आएन। कुनै दुःख दिएन त्यसले।
बाबा सानोतिनो सरकारी जागिरे। घरको अवस्था सामान्य। क्याम्पस जान बाबालाई कराई कराई किन्न लगाएको थिएँ। क्याम्पस सकिएपछि बाबाले पैसा दिनु भएन। मेरो कुनै स्रोत थिएन। तेल हालेर चलाउनै मुस्किल भयो मलाई। महिना महिनाको सर्भिसिङ झन् बोझिलो।
क्याम्पस पढुन्जेल कम्ती सान देखाइएन! कसको स्पिड बढी भनेर अरूसँग प्रतिस्पर्धा हुन्थ्यो। झन् केटी साथी पछाडि राखेर हुइँकाउँदाको कुरै अर्को। त्यसले एउटा असाध्य राम्रो काम गर्यो; सुष्मासँग लभ पार्दियो मेरो। क्याम्पस जाने बेलासम्म जेनतेन आमा बाबाले पैसा दिए। मस्ती नै भयो। अब भने १२ बज्यो।
स्नातक पास त त्यस्तै हो, कलेज जाने काम सकियो। बाउआमाले जागिर खा भनेर कराउन थाले। जागिर कहाँबाट पाउनु भन्ने बित्तिकै! तेल बिना बाइक चल्दैनथ्यो। तेल हाल्न पैसा भएन। बाइक घाँडो भयो मलाई।
एक जना चिनजानका व्यक्तिलाई ८० हजार दिने सर्तमा मोटरसाइकल बेचिदिएँ। बेच्नु मात्र भयो। पैसा समयमा आएन। १० औँ वर्ष यसरी नै बिते। पैसा आधा आधी आयो। पूरै आएन।
सानोतिनो प्राइभेट कम्पनीमा काम गर्न लागेँ म। कम्पनीले नै मोटर साइकल दियो मलाई।त्यसले काम चल्यो। यसरी नै समय बित्दै गयो।
एक दिन फोन आयो। जिल्ला प्रहरी कार्यालय भक्तपुरबाट रहेछ। तपाईँ फलानो हो भनेर प्रश्न सोधियो मलाई। हो भनेँ मैले। तपाईँको घर कहाँ नेर पर्छ? हामी तपाईँको घर आउँदै छौँ भने।
म अलमलिएँ! किन भनेर प्रश्न गरेँ मैले। घरमा आएर कुरा गरौँला भने। अनेक प्रश्न मनमा आए। खुल्दुली भयो। मैले घर ठेगाना बताइदिएँ।
पुलिस घरमा आइपुगे। एक हिसाबले म आत्तिएँ। किन आएका होलान्? डर लाग्यो। गल्ती त केही गरे जस्तो लाग्दैन। कुरा गर्दै जाँदा 'यस मोटर साइकल धनी तपाईँ होइन?' भने।
मैले बेचेको १० वर्ष भयो। अहिले त्यो मेरो मोटरसाइकल होइन भनेँ।
'पास गरेर दिनु भएको हो?' पुलिसले प्रश्न गरेँ, 'बेचेको कुनै कागज छ?'
'त्यो त छैन,' भनेँ मैले, 'किन र?'
पुलिसले भन्दै गए म सुन्दै गएँ। केही दिन अगाडि उक्त मोटर साइकलले एक जना महिलालाई ठक्कर दिएको रहेछ। महिलाको घटनास्थलमै मृत्यु भयो रे! मोटर साइकल चालक फरार! अनुसन्धान गर्दै जाँदा तपाईंकोमा आइपुग्यौँ भने पुलिसले।
अब भने म फसादमा परेँ। कागज गराएर पुलिस फर्किए।
मोटरसाइकल बेचेको मानिसलाई तत्कालै सम्पर्क गरेँ मैले। उसले बेचेको वर्षौँ भएछ। ऊ पन्छियो। बेच्ने क्रममा दर्जनौँ मानिसले किनबेच गरेछन् बुझ्दै जाँदा। पैसा मात्र लेनदेन गरी मोटरसाइकल दिएछन्।
नेपालको कानुनअनुसार मोटर साइकल धनी म नै ठहरिएँ। व्यवहारिक रूपमा मोटरसाइकल प्रयोग नगरे पनि कानुनी रूपमा मोटर साइकल मेरै भयो। दोषी मै देखिएँ। मोटर साइकलको कर र जरिवाना समेत मैले नै तिर्नु पर्ने भयो। जरिवाना सहित दशौँ हजार तिरेँ।
मृतकलाई क्षतिपूर्ति मैले नै दिनु पर्ने भयो। मोटर साइकलको तेस्रो पक्ष बिमा थिएन। आर्थिक रूपमा पनि ठुलो नोक्सानी हुने भयो। बिना प्रश्न मैले तेस्रो पार्टी इन्सुरेन्सबाट प्राप्त हुने ५ लाख बराबरको रकम आफ्नै जायजेथा र ऋण गरी मृतको आफन्तलाई हस्तान्तरण गरेँ। गरिब परिवारका भएकाले थामथुम लागे। नेपालको कानुन! व्यवहारिक रूपमा मोटरसाइकल धनी म थिइनँ। हत्यारा पनि थिइनँ। तर कानुनी रूपमा परिबन्धमा परेँ। गल्ती मेरै थियो भन्नु पर्यो।
फरार सूचिमा छु अहिले पनि। कसैले मेरा विरुद्ध उजुरी गरे भने कुनै पनि बेला पुलिसले पक्रन सक्छ मलाई। सवारी साधन बेच्दा यस्तो त गर्नु भएको त छैन नि? होसियार हुनुस् है! कानुनको फन्दामा पर्नु होला।