प्रिय खुशी,
मलाई थाहा छैन यो पत्र तिमीले पढ्दै गर्दा म यो धर्तीमा हुन्छु कि हुन्न। मसँग धेरै समय छैन। यहाँ युद्धको स्वरूप हरेक दिन अझै भयानक हुँदै छ र मलाई थाहा छ कि मेरो समय सीमित छ। हिजोसम्म हामीले जीवनको सुन्दरता र भविष्यका सपना देखेका थियौँ। तर आज मेरो अगाडि फैलिरहेको भविष्य केवल तिमीलाई सम्झेर लेख्न सक्ने केही अन्तिम शब्दहरूसँगै टुटिरहेको छ।
तिमीलाई सम्झन्छु— त्यो दिन जब हामी झापाको खेतका डिलमा बसेर भविष्यको कुरा गरेका थियौँ। तिमीले कर्णालीका पहाडहरूबाट देखिने मनमोहक दृश्यहरू सुनाउँथ्यौ र म भने झापाको हरियो खेत र हावाको मिठासको कुरा गर्थेँ। त्यो बेला म सोच्छु, हामी कति निर्दोष थियौँ। हामीले आफ्नो संसारलाई माया, खुसी र शान्तिको संसार बनाएर सोच्यौँ।
तर अहिले यहाँ युद्धको चिसो रगतले ती सपनाहरूलाई बगाइरहेको छ। हरेक दिन यहाँ जीवन र मृत्युको सिमानामा हिँडिरहेको छु। म यो युद्धको क्रूर यथार्थबाट बच्न सकिरहेको छैन। साथीहरू एकपछि अर्को माटोमा बिलाउँदै छन्। हिजो मात्र मेरा दुई नजिकका साथीहरू मबाट सदाका लागि टाढा भए। म उनीहरूको अगाडि उभिएको थिएँ र एक्कासि विस्फोट भयो। म बाँच्न सकेँ तर मलाई लाग्छ अब धेरै दिन बाँच्न सक्दिनँ। यो युद्धले केवल शरीरलाई होइन, मनलाई पनि चिथोरेर समाप्त पार्दै छ।
खुशी, तिमीलाई थाहा छ मैले तिमीलाई कति माया गर्थेँ। तिमी मेरो जीवनको खुसी थियौ, मेरो प्रत्येक श्वासमा तिमी थियौ। तर अब यो अन्त्यतिर आइपुगेको छ। म तिमीलाई यो अन्तिम चिठी लेख्दै छु। म चाहन्छु तिमीले मलाई बुझ। म यहाँबाट सायद कहिल्यै फर्किन सक्दिनँ। र, म चाहन्नँ कि तिमी मलाई पर्खिराख।
मलाई थाहा छ, तिमीले यो चिठी पढ्दा तिम्रो मन भत्किन्छ। माफ गर माया। म यो लेख्न चाहन्न थिएँ तर मसँग अरू कुनै विकल्प छैन। तिमीले मलाई पर्खिरह्यौ भने तिमीलाई मात्र पीडा हुनेछ। म त्यो पीडा सहन सक्दिनँ र तिमीलाई माया गरेकोले नै म तिमीलाई बाँच्न सिकाउन चाहन्छु। तिमी अगाडि बढ्नुपर्छ, मरेको सम्झनासँग बाँधिएर बाँच्नु तिमीलाई न्याय गर्ने कुरा हुनेछैन।
तिमीले सधैँ मलाई भविष्यको लागि सपना देख्न सिकायौ। म तिमीलाई सधैँ सबैभन्दा ठुलो खुसी पाऊ भन्ने चाहन्थेँ। हामीले सँगै भविष्यको अनेक सपना बुनेका थियौँ— हाम्रो सानो संसार जहाँ तिमी र म मात्र हुनेछौँ, जहाँ हाम्रा हाँसोहरू युगौँसम्म चलिरहने छन्। तर अहिले ती सपना केवल सपना नै बनेका छन्। यो युद्धले ती सबै सपना लुटेर लगेको छ। अब म चाहन्छु कि तिमीले आफ्नो जीवनलाई अघि बढाऊ।
म मरे पनि तिमीले नयाँ जीवनको सुरुवात गर। मलाई बिर्स र जीवनलाई अझ सुन्दर रूपमा अगाडि बढाऊ। म तिमीलाई जहाँ भए पनि हेरिरहनेछु, तिमीलाई हाँसिरहेको देख्न चाहन्छु। तिमीलाई मेरो सम्झनामा बाँधिएर राख्न चाहन्नँ। म बाँचिरहेको छु, यो सत्य हो तर म शारीरिक रूपमा मात्र बाँचिरहेको छु। यो युद्धले मलाई हर दिन मारेको छ। म चाहन्नँ कि तिमीले मरेको मान्छेलाई सम्झिराख।
कर्णालीका ती रमणीय पहाडहरू हेर्दै हावामा उड्ने ती चराहरूलाई देखेर हाँस। तिमीले मलाई सम्झेर होइन, मलाई बिर्सेर अघि बढ। ती चराहरू जस्तै स्वतन्त्र बन। तिम्रो हरेक हाँसो, हरेक खुसी मलाई पनि स्वतन्त्र बनाउनेछ। मसँग अब केवल तिमीलाई माया गरेर बिदा लिन सक्ने आँट छ।
तिमीले यो पत्र पढ्ने बेलासम्म म सायद यहाँ हुने छैन। तर म आशा गर्छु, तिमीले जीवनलाई माया गरेर अगाडि बढ्नेछौ। म आफ्नो जीवनमा तिमीलाई पाएकोमा सधैँ आभारी छु। तिमीले मलाई यो जीवनको सबैभन्दा ठुलो उपहार— माया दिएको छौ। तिमी मेरो सधैँ भरिका लागि हुनेछौ तर म अब तिम्रो जीवनको अन्तिम यथार्थ।
माया, मलाई नपर्ख ल।
तिम्रो सधैँ भरिका लागि
रूपक।