हरि निदाउन सकिरहेको छैन। ट्वाल्ल आँखाहरू ऊ देखिरहेछ। उसका दौँतरीहरू झोला घिच्च्याउँदै मिठो भविष्यको कल्पना साकार पार्न उडिरहेछन्। उसको आर्थिक हबिगतले त्यो सपना सजाउन पनि सक्दैन, आकार लिन नसक्ने सपना।
पल्लोपट्टि मझेरीको कुनामा उसकी एकल आमा झुत्रिएको सेतो खास्टो ओढेर बिन्दास निदाइरहेकी छिन्, एक थकित निद्रा। बाहिर पानी दर्किरहेको छ। झुपडीको बलेँसीबाट तल थापिएको बिट च्यातिएको प्लास्टिकको गाग्रीमा झरेको तुरुरु आवाज पनि उसलाई मिठो धुन जस्तै लागिरहेछ। ऊ ओल्टो कोल्टो फेर्छ र निदाउने प्रयास गर्छ।
कुखुरी काँ गर्दै भालेहरू बास्न थाले बिहानीको संकेत। ओहो उज्यालो भइसकेछ! निदाउन नसकेका उसका आँखाहरू काँचै छन्। मनमनै ऊ बडबडाउँछ बेसोमती भालेहरू।
आमा सुतिरहेकै छिन्। ऊ भुङ्रोमा चिसा दाउरा ठोसठास पार्छ। धुवाँ पुतपुताउन थाल्छ।
'हैन यो हरि के गर्छ हँ!' आमा खोक्दै उठिन्।
'आमा म डाँडा गाउँ जानु छ, चिया खाएर जाऊँ भनेको।'
'लौ त, त्यसो भा' म पकाइदिन्छु, तँ तयार हो।'
कुच्चिएको कित्ली डढेर कालो भएको छ। आगो लाग्छ चिया पाक्छ, पात्रो पल्टिन्छ बाँचेको छ एउटा जिन्दगी।
'आमा, म गएँ है त।'
'अँ राम्रोसँग जा, सुन् त! डाँडा गाउँमा सुबेदारनी आमैलाई पनि भेटेस्। बेलुका छिट्टै आइज है!'
आमा पिरोलिन्छिन्।
'हुन्छ आमा, भ्याएसम्म आउँछु नभए भोलि बिहान भात खान आइपुग्छु।'
छोरा गएपछि साहिँली एक छिन टोलाइन्। कतै हरि विदेश जान खोजेको त हैन! बाबु विदेशमा हामीलाई आपतमा पारेर माथि गएपछि बाउ-आमा दुवैको माया दिएर दु:खजेलो गरेर हुर्काएको छोरो। यो विदेशले पनि कति रुवाउँछ। गाउँमा कोही ठिटाठिटी छैनन्। सुनसान छ गाउँ।
उनको मनलाई नमिठो सन्त्रासले गाँज्छ। कतै हरि पनि... हैन हैन त्यसले विदेश जाने कुरा गर्दैन। उनी आफै चित्त बुझाउँछिन्।
हरि तर्पयाँ तर्पयाँ उकालिन्छ। हरियो जंगल बिचको घाँसे खेतबारी पहिला जस्तो लह-लह बालीनाली कहाँ भेटाउनु! ऊ गुजमुज्ज माझगाउँ पुग्छ। यो गाउँ पनि सुनसान छ। कुनै कुनै घरमा वृद्ध वृद्धाहरू देखिन्छन्।
ऊ अगाडि बढिरहन्छ। माझगाउँ काटेपछि उसको मनमा कुरा खेल्न थाल्छन्- के पुग्दा पुग्दै लक्ष्मी भेटिएली? भेटिन्छे निम्ता उसैले दिएकी हो। भन्थी- हाम्रो बेनाम सम्बन्धलाई परिचय दिन ढिला भइसक्यो। नत्र यो बेहिसाब प्रेम सहिद भयो रे भन्ने खबर छापिएला यो पापी दुनियाँमा।
आज ऊ त्यही प्रेमलाई साकार पार्ने लक्ष्य हासिल गर्न उक्लिइरहेको छ डाँडागाउँ ताकेर।
लक्ष्मी घरमै रहिछन्। उनी मुसुक्क हाँसिन्। हरिले म तिमीलाई लिन आएको भावमा इसारा गर्यो। यसपल्ट पनि उनी मुस्कुराइन् मात्र तर किन-किन यो मुस्कान हरिलाई कुटिल लाग्यो। यसपल्ट लक्ष्मीको आँखाको भाका पनि पढ्न सकेन उसले पहिलेजस्तो। कतै भ्रमपूर्ण जीवन बाँचेको त थिइनँ सोच्न बाध्य भयो। फेरि सम्हालियो, हैन त्यो हुनै सक्दैन।
लक्ष्मीका बाले त्यो मुस्कानको रहस्यको पोको खोले। उनले लक्ष्मीको बिहे पक्का पक्की गरेछन्, अस्ट्रेलिया बस्ने केटासँग लक्ष्मीको पूर्ण स्वीकारोक्तिमा।
वरिपरि हेर्यो, लक्ष्मी कतै देखिइनन्। उसको निधार खुम्चियो, सरर आँखाहरू रसाएर आए। ज्यान काम्यो।
अभावमा बाँचेको जिन्दगी, थुइक्क! मेरो माया त बालुवामा लेखिएको जस्तो, सानो भेल आयो मेटाइदियो। भाग्यमा अरू नै केही लेखिएको रहेछ सायद। एउटा सानो मन उसको पनि परदेसिने भयो। विदेशै पो रहेछ माया!
उसको मनले पनि रहर गर्यो बिदेसिने र विदेशको धङधङीमा उन्मत्त लक्ष्मी! कि लक्ष्मी जस्तालाई पाउने! तर ऊ सम्हालियो।
पारि पहाडको छाती चिर्दै किरिन्चे झरना छङ छङ झरिरहेको छ। हरिको छातीमा नराम्ररी गाँठो पर्यो, पाउ भारी लाग्यो। आमिलिएर टुटेको मन लिएर ऊ फर्कियो।
'डाँडा गाउँमा पुग्दा सुबेदारनी आमैकोमा पस्नु है' उसले आमाका कुरा सम्झ्यो। सुबेदारनीको पनि सबै छोराछोरीहरू विदेशमै छन्। एक मन त उसलाई रिस पनि उठ्यो। सोच्यो, विदेशको उन्मादले उन्मत्त होला त्यो आँगन।
तर आमाका कुरा! उसको बा उनीहरूलाई सुख र खुसी राख्न जाँदा कसरी अन्त्यहीन यात्रा तय गरेर बाकसमा बन्द भएर फर्किएका थिए। आमा अचेत भएकी थिइन्। मेरो प्रेम त एउटा भ्रम मात्र साबित भयो तर मेरी आमा शाश्वत सत्य।
यो दुनियाँदारी रङ्गमन्चमा आज उसको हार भएकोमा पनि चित्त बुझायो। ऊ सुबेदारनी आमैको घरमा पस्ने निधो गर्यो।
दुई तले ढुङ्गा छाने घर, अगाडि बार्दली, ठुलो आँगन। एउटा खैरे कुकुर जोड जोडले भुकिरहेको छ। हरि हच्किन्छ कतै कुकुरले टोकी पो हाल्छ कि! ऊ बिस्तारै बिस्तारै अगाडि बढ्छ। जब आँगनमा पुग्छ कुकुर फरक्क फर्किएर घरभित्र दौडिन्छ।
'आमै! सुबेदारनी आमै!'
भित्रबाट कुनै आवाज आउँदैन। कुकुर भित्र जाँदै बाहिर आउँदै गरिरहेको छ। उसले कुकुरको आँखा नियाल्यो, आँसु बगिरहेका आँखा। मनमा नराम्रो सन्त्रास छायो। ऊ डराई डराई भित्र छिर्यो। भित्रको दृश्य देखेर उसको मन ढक्क फुल्यो। आङमा काँडा उम्रियो।
बज्यै पलङमा सुतिरहेकी छिन्। छातीमा जुँगामुठे सुबेदारको तक्मा धारी फोटो छ। त्यो फोटो सुस्तरी हल्लिरहेको छ। बज्यैको श्वासको चालमा दाहिना हातले मोबाइल समातिराखेकी छिन्।
हरिले नजिकै गएर बोलायो- आमै!
आमैले बिस्तारै आँखा खोलिन्। आमैको ओठ चलमलायो। शब्दहरू बुझेन उसले, बोली प्रस्ट थिएनन्। हरिले आमैको मुख नजिकै कान लगेर बुझ्ने कोसिस गर्यो।
'ठुले! तँ आइपुगिस्' यत्ति मात्र बुझ्यो। त्यसपछि क्रमशः शाने र कान्छी। हरिले आमैको नाडीको गति छाम्यो। निकै धिमा छ। निधार हात गोडा चिसा ठम्यायो। आमैको अब निको चाल छैन।
'आमै म हरि, तल्लो गाउँको साहिँलीको छोरो हरि!' हरिले प्रस्ट्याउने कोसिस गर्यो। आमा फुस्फुसाइ रहिन्- 'ठुले, स्याने र कान्छी....।'
आमै आफ्नो छोराहरू र छोरीलाई नजिकै खोजिरहेकी थिइन सायद। आमैको श्वास झैँ आशा जीवित थियो।
सुख दुःख साट्ने माया गाँसेको भुलभुलैया आत्मसात् गरेको हरिले फोन नम्बरहरू सर्सर्ती हेर्यो तर खबर गर्ने परिचित कोही भेटेन। बाध्यता लक्ष्मीलाई रिङ गर्यो। फोन उठ्यो। भासिएको स्वरमा हरिले यत्ति भन्यो- सुबेदारनी आमै साह्रै बिरामी हुनुहुँदो रहेछ, स्ट्रेचर लिएर गाउँलेहरू पठाइदिनुस् झट्ट।
गाउँमा घरहरू सहरमा झैँ जोल्टिएका गुजमुज्ज हुँदैनन् तर भावनात्मक सम्बन्धहरू आत्मीय हुन्छन्। तुरुन्त स्ट्रेचर सहितको भिड ज्वलन्त उदाहरण थियो।
सुबेदारनी आमै बोकेको स्ट्रेचर टाढा टाढा हुँदै गइरहेको थियो। सुबेदार बाको फोटो उसै गरी आमैको छातीमा टाँसिएकै थियो। आमैका आँखाहरू बन्द थिए। गालाको बाटो चिउँडोबाट झरेको आँसुले आमाको वेदनाको दृष्टान्त बताइरहेको थियो।
आमैको फोन लक्ष्मीको हातमा थियो। ओहो! यत्ति धेरै कल। सबैमा विदेशी नम्बर डायल गरिएको थियो। सायद डायल गर्दा गर्दै आमै अचेत भएकी थिइन्।
लक्ष्मीले ती नम्बरहरूमा डायल गरिरहिन्, कुनै उठेन कुनैमा सम्पर्क हुन सकेन। तर पनि तारनतार फोन डायल गर्ने क्रम रोकिएन। आमैलाई बोकेको लस्कर अस्पताल ताकेर बढिरहेको छ। लस्करको भिडमा खैरे पनि सामेल छ।
हरिको यो यात्रा दुःखदायी रह्यो। आफ्नै सोचेको पनि आफ्नो भएन। आफन्त भनेर भेटेको आमैको पनि त्यो हालत देख्नु पर्यो। उसको बुवा भन्नुहुन्थ्यो- विदेशको जागिर र ज्यान कर्कलाको पातमा गुँडुल्किएको पानी जस्तो हो बाबु। राम्रोसँग पढ, बिदेसिने कुरा नसोच।
खै! परिवर्तन संसारको नियम हो भन्ने भनाइ चल्तीमा छ। देखेको बदलिएको जीवन सम्झँदा बरु नबदलिएको उसकै जीवन ठिक लाग्न थाल्यो उसलाई। दिन ढल्दो छ, आँसुको पर्दाले उसको दृष्टि धुमिल बनाएको छ। साँझ पर्दै जाँदा निलो आकाशमा बादलको घेरा बढिरहेको छ।
'आमा!' ठुलो साँझ पर्दा ऊ घर पुग्यो। हल्का पानी पर्न सुरु गरेको छ। आकाशमा अर्ध चन्द्र बादलसँग लुकामारी खेलिरहेको छ। साहिँलीले घरक्क ढोका खोलिन्। मस्तसँग सुतिरहेका बाख्राका दूधे पाठाहरू पनि उठेर कराए। खोरबाट बाख्री पनि कराई।
ऊ भित्र पस्यो। एक सर्को दिनभरिको हालखबर आमालाई बतायो। साहिँली पनि दुखित भइन्। आमालाई दुखी देखेर हरि झन् पिरोलियो। आमा-छोराको भरिएका आँखाहरू हेरा हेर भयो । दुवै दुखित!
'धन्न छोरा तिमीले बिदेसिने मन गरेनौ।'
हरिको बाटो हेर्दै बसिरहेकी साहिँली थकित सुनिन्थिन्। हरि पनि शारीरिक र मानसिक दुवै रूपमा थाकेको छ। सुत्केरी बाख्रीहरूको लागि बसालेको कुँडो अगेनामा फतफताइरहेको छ। दुवैका आँखासँगै मन पनि भरिएर खाना खान मन मरेको छ। उही खास्टो, उही मझेरी, साहिँली ढल्नासाथ भुस भइन्।
हरिको मनमा परदेश र घरदेशको घरीघरी झिनाझप्टी चलिरह्यो। दुवैको जोड घटाउमा ऊ आफ्नै गाउँमा बसेकोमा सन्तुष्ट छ। अगेनामा आगोको लप्काहरू पनि मत्थर हुँदै छन्। हरि पनि अगेनाको तापमा सन्तुष्टिको निद्रा भुसुक्क निदायो तर दुवै आँखाहरूबाट बगेका आँसुका धाराका डोबहरू बोलिरहे।