काठमाडौँबाट घर फर्किने क्रममा म चढेको यात्रुवाहक गाडीले कटारी गोलपार्कमा झारिदियो। म सरासर झोला बोकेर घुर्मी काउन्टर तिर लागेँ। घुर्मी काउन्टर तर्फ जाँदै गर्दा भगवती मन्दिर चोकको मेरो बायाँ पट्टिको एउटा पसलमा शर्मिलालाई देखेँ। उनले पनि मलाई देखिइन्।
म र शर्मिला एकअर्कालाई साँचो माया गर्थ्यौँ। भौगोलिक रूपमा टाढा भएकोले भेट नभएको वर्षौँ भइसकेको थियो। सायद धेरै समयपछि अचानक त्यसरी भेट हुँदा उनले खुसी हुँदै मलाई हातको चालले पसलमा बोलाइन्।
गाडी अनि मान्छेको निकै भीड थियो सडकमा। मसँग केही साना ठुला झोलाको भारी पनि थियो। त्यसैले उनी भएको पसलसम्म जान गाह्रो भइरहेको थियो। तैपनि म गाडीहरूको अवस्था हेरी सडक काट्ने प्रयास गरेँ। अब बाटो काट्छु भनेर के पाइला चालेको थिएँ मेरो मोबाइलको रिङ बज्यो। हतार हतार मोबाइल हेरेको फोन त उनैले गरेकी रहिछे।
फोन उठाउन हत्त न पत्त छेवैको पसलमा झोला बिसाएँ। फोन उठाउन खोजेँ तर फोन नै उठेन। कारण चाहिँ मोबाइल नै ह्याङ भएर हो। मैले फोन नउठाएकोले उनी रिसाइन् सायद। यसो उनी बसेको पसलतिर हेर्दा बहिनीसँग आफ्नै काममा व्यस्त देखिइन्। मतिर नजर लगाइरहेकी थिइनन्। अनुहार मलिन अनि अँध्यारो पारेकी थिइन्।
म केही दूरी टाढै थिएँ। झोला बोकेर छिटो छिटो सडक काट्दै उनको पसलतिर दौडिएँ। पसल पुग्दा त्यहाँ कसैलाई देखिनँ। न उनलाई न उनको बहिनीलाई।
पसलको एउटा कुनाको टेबलमा मेरा झोला अनि ल्यापटप राखेर तल-माथि अनि दायाँ-बायाँका पसलहरूमा नजर लाएँ। तर अहँ कतै पनि उनी अनि उनको बहिनीलाई देखिनँ। यसो उनको पसलतिर फर्केको, उनीहरूलाई त्यही पाएँ। सायद कतै लुकेका थिए।
मैले शर्मिलालाई हाई भनेँ। उनको बहिनीले नमस्ते गरिन्। मैले पनि नमस्ते फर्काएँ। त्यसपछि उनीहरूको हालखबर सोधेँ र मेरो पनि बताएँ। मैले ढिला गरेकोमा माफी मागेँ। ढिला गरेको कारण पनि बताएँ। जति बेला उनको चेहरामा मुस्कान छाइरहेको थियो।
शर्मिलाले निलो कुर्ता सुरवाल लगाएकी थिइन्। सायद मलाई आफ्नै आँखा सामुन्ने पाएर होली खुसी हुँदै मतिर घरी घरी हेर्थिन् र मुस्कुराउँथिन्। त्यसरी उनले मलाई हेर्दा म पनि हुरुक्कै भएँ। हामी तीनै जना मःम खायौँ। मःम खाँदै रमाइलो कुराकानी गर्यौँ। सबै जनाको मोबाइलबाट पालै पालो फोटो पनि खिच्यौँ। भेटेकोमा धेरै खुसी भएको एकले अर्कालाई सुनायौँ पनि।
धेरै फोटो खिचिसकेपछि खिचेको फोटाहरू हेर्यौँ। हाम्रो मोबाइलको ग्यालरीमा कैद भएका एकसे एक फोटाहरू राम्रा लाग्यो। सबैभन्दा राम्रो चाहिँ उनको फोटो लागेको थियो मलाई। उनको त्यो मुस्कान, बदामी आँखाहरू, गुलाबझैँ ओठ अनि मोतीका दाना जस्तै दन्त लहरहरू अरूको भन्दा कैयौँ गुणा राम्रा थिए। अनि प्रिय पनि।
त्यही बसाइमा खिचेका नयाँ अनि पुराना फोटाहरू आ-आफ्नो मोबाइलमा एकले अर्कालाई सेयर गर्यौँ। फोटा सेयर गर्दै गर्दा शर्मिला बहिनीबाट छली छली मलाई हेर्थिन्। ओठभरि मुस्कान अनि आँखाभरि माया फिँजाएर। साँच्चै मेरो यो मुटु नै रेट्ने गरेर।
मलाई छिट्टै घर फर्किनु थियो। मनले नमान्दा नमान्दै पनि शर्मिला र उनकी बहिनीसित बिदा मागेँ। त्यसपछि त्यहाँबाट घुर्मी काउन्टरतर्फ लम्किएँ। उनलाई घरी घरी फर्की फर्की हेरेँ। किनभने उनलाई छोडेर जान मनले मान्दैनथ्यो। उता उनले पनि मजस्तै आँखाले भ्याएसम्म मलाई हेरिरहिन्।
घुर्मी काउन्टर पुग्दा गाडी छुट्न लागेको थियो। टिकट काटी म गाडी चढेँ। गाडी तत्कालै हिँड्यो। बाटोमा सँगै खिचेका फोटाहरू हेर्दै आएँ। उनी र म सँगै बसेर खिचेको फोटा धेरै पटक जुम गरी गरी हेरेँ। जति हेरे पनि आँखा अनि मनको तृष्णा मेटिएन। हेरूँ हेरूँ नै लागिरह्यो।
बिच बाटोमा गाडी घच्याक्क रोकियो। म उछिटिएँ।
झल्याँस्स ब्युँझिँदा म आफूलाई ओछ्यानमा पाएँ। झट्ट थाहा भयो मैले त सपना पो देखेको रहेछु। सिरानीमुनि थिचिएको मोबाइल हेरेँ। बिहानको साढे चार बजिसकेको रहेछ। आहा! कति मिठो सपना।
फेरि पनि उही सपना दोहोरियोस् भनी सिरकभित्र गुटमुटिएँ। अहँ! सपना दोहोरिएन। बरु भर्खरै देखेको सपनाले पुसको त्यो चिसोभन्दा बढी चिमोटिरह्यो। ती अविस्मरणीय विगत जुन शर्मिलासँग बितेको थियो, सम्झना ताजा भइरह्यो। केही छिनमा उज्यालो भयो।