कविता
छोरो परदेशिने दिन
यता आमाको छाती, चरचर चिरिन सुरू भयो
आँसुका धाराले छेक्न सकेनन् बाटोहरू
बरू मुटुमै गाँठो पर्यो, आशीर्वादका पोकाहरू
ओठहरू खुलेनन् शुभयात्रा भन्न
बस्, झरिरहे तादी र त्रिशूली बनेर,
दुई आँखाबाट अविरल निरन्तर।
यता, छोराको हाल पनि उस्तै थियो
बलियो देखिन लगाएथ्यो कालो चस्मा
चस्मा मुनिबाट, तप तप झरिरहेथे आँसु
काठमाडौं घुम्नसम्म नगएको ऊ
आज हवाइजहाज चढेर परदेशिँदै थियो
कहाँ जाने कसलाई भेट्ने, केही ठेगान थिएन
उसले काम पाउँछ, पाउन्न
पैसा कमाउँछ, कमाउन्न
केही थाहा थिएन
बस, यो देशका हर युवा पैसा कमाउन परदेशिएका थिए
त्यही लाइनमा, ऊ पनि थपिएको थियो।
हिँड्ने बेला आमालाई भन्न सकेन
चिन्ता नगर है छिट्टै आउँछु
किनकि, बोली भन्दा अघि, उसका आँसुहरूले
आमाको गोडा चुमिसकेको थियो।
छातीमा एकभारीको पिर
मनमा एकभारीको सपना
दिमागले कल्पन्थ्यो त्यो स्वर्णिम ठाउँ
जहाँ साथीहरूले खुसीखुसी खिचेका थिए
एकथान तस्बिर
अनि क्याप्सनमा लेखिएको थियो
ह्यापी लाइफ!