प्रिय पैसा, तिमी मेरो जीवनको एक अभिन्न हिस्सा हौ जसको कमीले म आज यो गहिरो अन्धकारमा डुबेको छु। तिम्रो अभावले मेरो अस्तित्वलाई यति कमजोर बनाएको छ। तिमीले मेरो जीवनमा जुन खालीपना छोड्यौ नि, त्यसले गर्दा मेरा प्रियजनहरू मबाट टाढिएका छन्। म एक्लो जस्तै भएको छु, जसरी पानी बिना माछा छटपटिन्छ त्यसरी नै म छटपटिएको छु।
साथीभाइ, आफन्त अनि परिवारका सदस्यहरूले मलाई त्यागेका छन्। मसँग कुनै ठोस आधार छैन किनकि तिमी मसँग छैनौ। तिमीबिना मेरो जीवन केवल एक बोझ बनेको छ जहाँ हरेक क्षण पीडाको सिलसिला चलिरहेको छ।
तिम्रै अभावले गर्दा म सधैँ एक नसोचिएको स्थितिमा पुगेकी छु जहाँ साँझ-बिहान हात मुख जोड्न पनि कठिनाइको सामना गर्न पर्छ। मलाई थाहा छैन, यो पीडाले कहिलेसम्म मलाई पछ्याउँछ। तिमीबिना मेरो दिनहरू एकदमै कठिन बनेका छन्। मैले चाहेर पनि केही गर्न सक्दिनँ किनकि तिमी मेरो पहुँचभन्दा धेरै टाढा छौ। तिमीलाई थाहा छ तिमीबिना मैले केवल हार र निराशा अनुभव गरिरहेको छु।
तिमी मसँग नजिक रहेर मेरा हराएका सबै सम्बन्धहरू, गुमाएका सामानहरू, टाढिएका आफन्त र साथीहरूलाई फेरि मेरो जीवनमा फर्काउन सक्छौ। तर तिमी यति टाढा छौ कि म चाहेर पनि तिमीलाई पाउन सक्दिनँ।
तिमीले मलाई मात्र होइन, मेरो आत्मसम्मान र मेरा प्रियजनहरूको माया पनि मबाट खोसेर लगेका छौ। तिमीले मलाई एक्लै छोडेर, मेरो जीवनलाई अपूर्ण बनायौ। तिम्रै अभावले गर्दा म हरेक दिनको अन्त्यमा आफ्नो अस्तित्वलाई प्रश्न गरिरहेको छु। तिम्रो अभावले जीवनका साधारण कुरा पनि कठिन बनाइदिएको छ।
मेरो साथमा तिमी नभइदिँदा मैले परिवारभित्र पनि सहानुभूति समेत पाएको छैन। मेरो परिवारले मलाई एक असफल व्यक्तिको रूपमा देख्छ, जसले तिनीहरूको आवश्यकता पूरा गर्न सक्दैन र मैले केवल आलोचना, निराशा अनि अस्वीकृतिको सामना गर्नुपरेको छ। तिमीबिना म केवल एक झिनो व्यक्ति बनेकी छु जसको जीवनमा कुनै स्थायित्व छैन।
तिमी नहुँदा मेरो जीवनको दिशा र उद्देश्य अनिश्चितताको घेरामा परेको छ। तिमीबिना म हरेक दिन संघर्ष गर्दै, आफ्नो सपनाहरूलाई धुमिल हुँदै गएको देख्छु। तिमीले मेरो जीवनको हरेक पाटोलाई प्रभावित गरेको छौ अनि म तिमीबिना जिन्दगीलाई कसरी सार्थक बनाउन सकिन्छ भन्ने प्रश्नमा अल्झिरहेको छु।
धेरैले भन्छन्, पैसा मात्र सब थोक होइन। तर जीवनको वास्तविकता त्योभन्दा भिन्न छ। तिमीले धेरैको सपना, महत्त्वाकाङ्क्षा र भविष्य निर्धारण गर्छौ। तिमी नहुँदा मेरो आत्मविश्वास टुट्दै गएको छ, मेरा सोचहरू धुमिल हुँदै गएका छन्।
जीवनको प्रत्येक दिन तिम्रो कमीले गहिरो घाउ लागिरहेको छ। म अरूसँग तुलना गर्दै छु अनि तिमी भएका मानिसहरूले कति सहजै आफ्नो जीवन चलाइरहेका छन् भनेर देख्दा म आफ्नो अस्तित्वलाई नै शङ्का गर्दै एक असफलताको रूपमा महसुस गरिरहेको छु।
तर, म यो जान्दछु कि तिमी सबै थोक होइनौ। तिमी मात्र एक साधन हौ जसले मलाई मेरो लक्ष्यसम्म पुग्न मद्दत गर्छ। म तिमीलाई मेरो जीवनको अर्थ बनाउन चाहन्नँ। तिमीबिना पनि म आफ्नो अस्तित्वको मर्मलाई बुझ्न सकूँ, यही मेरो चाहना हो। तर तिम्रै अभावले गर्दा म निरन्तर संघर्ष गरिरहेको छु अनि यो संघर्षले मलाई मेरो अस्तित्वको सवाल गर्न बाध्य बनाएको छ।
तिम्रै कमीले म हरेक दिन अस्वस्थ महसुस गरिरहेकी छु। जीवनले दिएको चुनौतीहरूको सामना गर्न शारीरिक र मानसिक रूपमा बलियो हुन जरुरी छ तर तिमी नहुँदा म ती संघर्षहरूलाई पन्छाउन असमर्थ जस्तै भएकी छु। सायद तिमी मेरो साथमा भएको भए म आफ्नो स्वास्थ्यको उचित उपचार गराउन सक्थेँ जसले मलाई नयाँ ऊर्जा र उत्साह प्रदान गर्थ्यो। म फेरि उठ्न र आफ्ना लक्ष्यहरूतर्फ अघि बढ्न सक्षम हुन्थेँ।
तिम्रो साथले मेरो जीवनलाई सही दिशा दिन्थ्यो र म आफ्नो सपना पूरा गर्न अझ दृढताका साथ संघर्ष गर्न सक्थेँ। तर तिमीबिना ती सपना मात्र टाढा देखिने सम्भावनाहरू जस्ता लाग्छन्, जुन म छुन सक्दिनँ।
तिमीलाई थाहा छ? वर्षौँ बितिसकेछ मेरी आमालाई नयाँ चोली किनिदिन नपाएको पनि। उनका पुराना चोलीहरूमा समयको धूलो र दुःखका धागाहरू बुनिएका छन्। उनका आँखामा मैले कहिल्यै पूरा गर्न नसकेको सपना झल्किरहेका हुन्छन्। ती सपना जसमा उनले आफ्नो सन्तानको प्रगति र सुख–समृद्धि देखेकी थिइन्। तर म ती सपनाहरूलाई साकार पार्न असमर्थ रहेँ।
उनलाई जीवनभरको संघर्षपछि एउटा स्थायी छत दिन नसकेकोमा मेरो मनमा कहिले नभरिने घाउ लागेको छ। सायद तिमी मेरो साथमा भएको भए म उनका ती सपना पूरा गर्न सक्थेँ। उनलाई न्यानो छतमुनि सुखका केही क्षणहरू दिन सक्थेँ। तिम्रो साथले म मेरी आमाको अनुहारमा खुसीको मुस्कान फेर्न सक्षम हुन्थेँ जसले उनको हरेक दुःख मेटाइदिन्थ्यो।
आज तिम्रै कारणले गर्दा मेरो जीवनका सबै महत्त्वपूर्ण चिजहरू हराएर गएका छन्। कतिपय मानिसहरू टाढा भइसके, उनीहरूलाई नजिक राख्न म सक्षम भइनँ। प्रेमले भरिएको मानिससँग पनि सम्बन्ध त्यत्तिकै बिछोडियो, तिनलाई जोगाउन म केही गरेर पनि रोक्न सकिनँ। जसलाई म सबैभन्दा बढी माया गर्थेँ, तिनका रहर र इच्छाहरू पूरा गर्न सकिनँ जसले गर्दा उनीहरूले मसँग संवाद गर्न नै छोडिदिए। तिमीले मेरो जीवनको हरेक कुना खाली बनाइदिएको छौ अनि मेरा प्रियजनहरू टाढा हुँदै गएका छन्। तिम्रो अभावले तिनीहरूलाई मबाट अलग गरिदियो र म यो दूरी हटाउन असफल भएँ।
प्रिय पैसा, मेरो जीवनको लक्ष्य केवल एउटा सुन्दर र अग्लो रूखको टुप्पोमा अडिएर बसेको छ जहाँ मलाई पुग्न निकै संघर्ष गर्नुपरेको छ। यो लक्ष्य जुन मेरो सपना र आशाहरूको प्रतिबिम्ब हो, मैले सबैभन्दा महत्त्वपूर्ण र मूल्यवान् ठानेकी छु। त्यसैले म निरन्तर यसलाई हासिल गर्न अघि बढिरहेकी छु, जीवनका हरेक चुनौती र अवरोधलाई पार गर्दै।
तर यो रूखको टुप्पोमा अडिएको लक्ष्यलाई कुनै ठुलो आँधी–हुरीले उडाएर टाढा लैजाने हो कि भन्ने डरले मनमा कहिलेकाहीँ असहजता उत्पन्न गर्छ। यो आँधी–हुरी जीवनका अनपेक्षित घटनाहरू, कठिनाइहरू र असफलताहरू हुन सक्छन् जसले मेरा सबै प्रयासहरूलाई माटोमा मिलाउन सक्छ। मैले यो लक्ष्य हासिल गर्न सक्छु कि सक्दिनँ? यसबारे म अनिश्चित छु। तर यो अनिश्चितताको बाबजुद पनि म अघि बढिरहेकी छु किनकि यो लक्ष्य नै मेरो जीवनको सार हो। तर हरेक अवरोधहरू पार गर्नलाई तिमीले पनि साथ छोड्दिन्छौ जसरी अरूले छोडेर गए।
जीवनको अन्तिम गन्तव्य भने यस लक्ष्यको परिधिभन्दा पनि परको कुरा हो। त्यो गन्तव्य जहाँ म पुग्न चाहन्छु, एउटा यस्तो स्थान हो जहाँ कुनै कुराको अभाव हुँदैन। न त त्यहाँ परिवारको जिम्मेवारीको बोझ हुनेछ, न आफन्तहरूको अपेक्षा, न समाजको दबाब, न साथीहरूको साथ छुट्ने पीडा। त्यो गन्तव्य शान्तिको हुनेछ जहाँ म सबै थकान, दुःख र चुनौतीहरूलाई पछाडि छोडेर पूर्ण शान्तिको अनुभूति गर्न सक्नेछु।
यो अन्तिम गन्तव्यले मलाई त्यो शान्ति र सन्तुष्टि दिनेछ जुन मैले सधैँ खोजेकी थिएँ। त्यो स्थानमा पुगेर म आफैँलाई सम्पूर्ण रूपमा पूरा महसुस गर्नेछु र कुनै पनि प्रकारको अभावले मलाई छुने छैन। यो यात्रा कठिन छ तर म विश्वास गर्छु कि म यसलाई पूरा गरेर अन्ततः जीवनको अन्तिम गन्तव्यमा शान्तिका साथ पुग्न सक्नेछु।
कहिलेकाहीँ सोच्दा तिम्रो अभावले मलाई आफैँसँगको संघर्षमा सघाउँछ। तर म हृदयदेखि बुझेको छु कि तिमी मात्र मेरो समस्याको समाधान होइनौ। म अझै आशा राख्छु र मेहनत गर्छु र एक दिन तिम्रो अनुपस्थिति मलाई कमजोरीभन्दा शक्ति बनाउन सक्छ भन्ने विश्वास राख्छु।
म दिनरात तिमीलाई हासिल कसरी गर्ने भनेर सोच्दै छु। मेरो मन अनि मस्तिष्कले तिमीलाई पाउन हर क्षण सङ्घर्ष गरिरहेको छ। म बिहानदेखि राति अबेरसम्म तिमीलाई पाउन मेहनत गर्छु तर तिमी सधैँ मबाट टाढा भाग्छौ। तिमीले मेरो प्रयास, मेरो संघर्ष अनि मेरो पीडा कहिल्यै बुझ्दैनौ। तिम्रो लागि म कति संघर्ष गरिरहेको छु भन्ने कुरा तिमीले कहिल्यै महसुस गर्दैनौ।
जीवनमा मैले केही पनि हासिल गर्न सकिनँ, केवल हार मात्र पाएँ। तिम्रो कमीले गर्दा म आज यो स्थितिमा पुगेकी छु जहाँ म केवल निराशा, असफलता अनि पिडासँग खेल्दै छु। म थाकिसकेँ किनकि मैले तिमीलाई पाउन धेरै मेहनत गरेँ तर तिमी सधैँ मेरो पहुँचभन्दा बाहिर रह्यौ।
के तिमीलाई मेरो अवस्था देखेर पनि दया माया लाग्दैन? के तिमीलाई मेरो संघर्ष, पीडा अनि हारको कुनै मतलब छैन? म तिमीलाई मेरो जीवनमा चाहन्छु, ताकि म फेरि सम्पूर्ण बन्न सकूँ। तिमीबिना मेरो जीवन केवल एक शून्य छ जहाँ म हरेक क्षण बाँच्नको लागि संघर्ष गरिरहेको छु।
प्रिय पैसा, तिमीसँगै मैले मेरो जीवनलाई फेरि सुन्दर बनाउन सक्थेँ। तिम्रो कमीले मेरो जीवनलाई केवल एक अन्धकारमय यात्रा बनायो। तिमीले मलाई सधैँ अपूर्ण बनाएर राख्यौ। म तिमीलाई मेरो जीवनमा सधैँ नजिक राख्न चाहन्छु किनकि तिमी सँगै मैले मेरो गुमाएका सबै चीजहरू, सम्बन्धहरू अनि आत्मसम्मान फेरि पाउन सक्छु।
मेरो लागि तिमी केवल साधन मात्र नभई जीवनको आवश्यक हिस्सा भएका छौ। तिम्रो कमीले मेरा सपनाहरू, आशाहरू अनि मेरो अस्तित्वको मर्मलाई चुनौती दिएको छ। मसँग तिमी छौ भने म मेरा सपना साकार गर्न सक्छु। तिम्रो अभावले मेरो आत्मबल कमजोर बनाएको छ। म तिम्रो लागि संघर्ष गर्दै छु किनकि तिमीबिना मेरो अस्तित्व नै धराशायी हुँदै गएको छ।
तिमीसँगै मैले जीवनको नयाँ सुरुआत गर्न सक्छु तर तिमीबिना म केवल हारको पात्र भएकी छु। प्रिय पैसा, म तिमीलाई मेरो जीवनमा सधैँ नजिक चाहन्छु ताकि म फेरि सम्पूर्ण बन्न सकूँ। तिम्रो साथमा मैले मेरो जीवनलाई फेरि अर्थपूर्ण बनाउन सकूँ अनि तिम्रो कमीले आएको सबै पीडा, निराशा र असफलता हटाउन सकूँ। तिमीसँगै मैले जीवनको सम्पूर्णता पाउन सक्छु तर तिमीबिना म केवल अधुरो छु।
यति बेला मेरो मनमा निराशाको भाव छ तर साथमा संघर्षको ज्वाला पनि बलिरहेको छ। तिम्रो कमीले म हरेक दिन आफूलाई कसरी बलियो बनाउने भनेर सिक्दै छु। म संघर्ष गरिरहनेछु किनकि मेरो अस्तित्व अझै बाँचिरहेको छ अनि तिम्रो अभावलाई पार गर्दै आफ्नो जीवनलाई सार्थक बनाउन खोजिरहेको छ।