सुवर्णखाल गाउँ अर्घाखाँचीको दक्षिण भागमा पर्ने सुन्दर गाउँ हो। यहाँबाट पूर्वमा धातिवाङ, दक्षिणमा सिमलपानी, पश्चिममा बुढीचौर, ठाडा र उत्तरमा मैदान पर्दछन्। यही महाभारत शृङ्खलामा बाणगंगाको मुहान एउटा महाभारतकालीन इतिहास बोकेर अनवरत बगिरहेको छ।
एउटा भिरालो पाखो, केही चौर खेतबारी कुनाकाप्चा मिलेर बनेको छ सुवर्णखाल गाउँ। त्यो बेला गाउँ आपसी समन्वयमा चल्दथ्यो। सापटी चल्थ्यो माना पाथी चल्थ्यो। अहिलेको जस्तो भागदौड थिएन। मानौँ समय टक्क रोकिएको थियो। त्यसैले समयलाई भेटाउन मान्छे दौडनु पर्दैनथ्यो।
मानिसका इच्छा सीमित थिए। खानु बस्नु सामान्य जीवनका सामान्य जिजीविषाहरू पूरा गर्यो बस्यो। आखिर मानिसको इच्छा जाग्ने भोको पेट भरिएपछि हो। मानिसहरू खेती किसानीले आफ्नो दैनिक गर्जो टारिरहेका थिए।
त्यस गाउँमा एक पटक अनिकाल लाग्यो। अनिकाल लाग्यो आगोको। गाउँमा कसैको घर गोठमा आगो छ कि भनेर व्यापक खोजी हुँदा पनि कतै भेटिएन। अघिल्लो दिन परेको पानीले गोठमा पानी पसेको रहेछ। संयोग भनौँ या गाउँलेलाई दुःख दिने बहाना, भदौको अन्तिम साता त्यो गाउँमा आगोको अनिकाल लाग्यो।
त्यो बेला अहिले जस्तो सलाई, लाइटर, मट्टितेल पनि थिएन। मान्छे दाउरा रगडेर आगो निकाल्ने प्रविधि भुलिसकेका थिए। आगोको हाहाकार गाउँभरि भयो। खानलाई अन्न थियो, पकाउन भाँडा थिए तर पकाउने आगो भएन। नजिकका गाउँ पनि निकै टाढा थिए। बिहानै घाम लाग्दा हिँड्यो भने साँझ पुगिने। गाउँभरि आगो लिएर आउनेको खोजी भयो।
त्यही सुवर्णखालको माथिल्लो भागमा दुई पाण्डे दाजुभाइको परिवार बस्दथे। उनीहरूको नाम शंखमणि र गिरिराज थियो। उनीहरू दुई भाइ धेरै नै अल्छी थिए। काम गर्ने बेला सधैँ बहाना गर्ने। काम गर्नको साटो दिनभर सुत्दथे, बिँडी तान्थे, गफ लडाउँथे। उनीहरूलाई घरबारी, खेत-बाली, पशु चौपायाको प्रवाह नै थिएन। धन्न तिनका जहानले घरको ख्याल राखेका थिए।
गाउँलेहरू सबै जम्मा भएर आगो ल्याउनेलाई दुई वटा गाई पैसा दिने कुरा थाहा पाएपछि तिनै दुई भाइले जोस्सिँदै गएर भने- ‘हामी ल्याउँछौँ आगो।’
गाउँलेलाई उनीहरूको कुराप्रति विश्वास नै लागेको थिएन। घरमा सिन्को नढाल्ने उनीहरू आज गाउँको यत्रो संकट टार्न हनुमान बनेर आँटिँदै थिए। गाउँलेले पनि ठिकै छ अब अरू जान नखोजेपछि यिनीहरू नै गए भयो नि त भन्ने जस्तो लागेर आगो ल्याउने काम ती दुई भाइलाई सुम्पिए। सर्तअनुसार पैसा भने आगो ल्याएपछि मात्र मिल्ने वाला थियो।
बिहानै ती दुई दाजुभाइ त्यहाँबाट नजिकैको पूर्वको गाउँ टाढा मैदान तिर हानिए। गाउँलेले अलिअलि आशंका र धेरै आशा साथ उनीहरूलाई बिदाइ गरेका थिए। गाउँमा नत्र आगो बल्ने वाला थिएन। केटाकेटी भोकले कराउन लागिसकेका थिए। अलिक उफ्रने केटाकेटीहरू चिचिला बेलौती खाँदै थिए। ठुलालाई समेत अब भोक उग्र हुँदै जाँदै थियो।
दुई दाजुभाइ हिँड्दै मन्द्रेको डाँडो पुग्दासम्म मध्यान्न भइसकेको थियो तर कोही मान्छे भेटिएन। मान्छे खासै ठुलै काम नपर्दासम्म हिँड्दैन थिए। त्यसैले बाटोमा ढुंगा-माटो साना पोथ्रा, रुख बाहेक कोही भेटिएन। भदौको महिना पानी परेर सफा भएको आकाश चर्को घामले दुई भाइको तालु तताइरहेको थियो। त्यसमाथि शंखमणिलाई सुर्ती खाने बानी थियो थुकेको थुकै गर्ने।
घाँटी सुकेर ऊ पनि प्याक प्याक भइसकेको थियो। उसले जतासुकै थुक्ने बानीले जहिले बुढीको गाली खान्थ्यो। आज उसलाई गाह्रो भयो। उता अल्छी गिरिराज समय पायो कि उँघिहाल्ने साह्रै अल्छी। उनीहरू मन्द्रे र हल्देको डाँडाको बिचमा पर्ने खोल्सामा पुग्दासम्म घाम तालुमाथि आइसकेको थियो। उनीहरूको पछाडिका लामा छाया पनि अब खुट्टा अगाडिसम्म आइपुगेका थिए। त्यो खोल्सामा डराउन दिन्छ भनेर मान्छेले भन्थे।
गिरिराज र शंखमणि खोल्सा नजिक पुगेका के थिए माथिबाट अजङको ढुंगा आएर उनीहरू भन्दा ५०-६० मिटर अगाडिको बाटोमा ठ्याक्कै रोकियो। गिरिजाले आउने बेलामा मञ्जरीले हाच्छिउँ गरेको सम्झियो। मञ्जरी उसको गाउँको मुखियाकी छोरी थिई। हिँड्ने बेला हाच्छिउँ गरे अशुभ हुन्छ भनेको कुरा उसले सम्झियो।
दुई दाजुभाइको सातो फुस्किसकेको थियो। अघि गिरिराज एक छिन दीर्घशंका गर्न बेर नगरेको भए आज दैवको लेखा अर्कै हुन्थ्यो। उनीहरूको छाती ढक्क फुलेका परेवा झैँ फुलियो। डर त थियो तर बाँचेकोमा खुसी भए त्योभन्दा धेरै।
उनीहरू अगाडि बाटो काटेर जान नमिल्ने बन्यो। भिरको बाटो तल माथिबाट जाने जस्तो पनि थिएन। फेरि फर्केर अर्को बाटो जान पनि उनीहरू धेरै वरसम्म आइपुगेका थिए।
उनीहरू तातो ढुंगामा बसे। शंखमणि सुर्ती मिच्दै थियो, गिरिराजले भन्यो- ‘भाइ अब गाउँ फर्कने हो कि के गर्ने हो?’
त्यही बेला तल झाडीमा कोही बोले जस्तो, चले जस्तो भयो। उनीहरूलाई स्याल होला जस्तो लाग्यो। त्यही बेला गह्रुङ्गो आवाजमा ढुङ्गा पछाडिबाट कोही बोल्यो-
‘शंखमणि गिरिराज सुन, तिमीहरू अब बाटो काटेर जान सक्ने वाला छैनौ। यदि मैले सोधेका ३ वटा प्रश्नको उत्तर जान्यौ भने मात्र म बाटोको ढुङ्गा हटाइदिनेछु।’
दुवै अक्क न बक्क भए। आजसम्म मान्छे गाईबस्तु बोलेको सुनेका थिए तर ढुङ्गो बोलेका सुनेको थिएनन्। उनीहरूलाई कसैले मजाक गरे जस्तो पनि लागेन किनकि त्यहाँ अघिदेखि कोही देखेको पनि थिएनन्।
शंखमणिले डराएको आवाजमा भन्यो- ‘हैन को छ ह त्यहाँ? कोही नजिस्की है, ऐले तेरा दाँत झार्दिन्छु ढुङ्गाले हानेर।’
उताबाट आवाज आयो- ‘३ प्रश्न।’
यता दुई भाइलाई के गरौँ गरौँ भयो। फर्कौँ भने यति वरसम्म आइपुगे। काँधमा आगो लिएर जाने जिम्मेवारी पनि थियो। नफर्कौँ अवस्था यस्तो छ।
दुवै दाजुभाइले भने- ‘हुन्छ हामी तिम्रो प्रश्नको उत्तर दिन्छौँ अनि बाटो छाडिदिनु पर्छ है।’
ढुंगा पछाडिबाट आवाज आयो- ‘हुन्छ।’
पहिलो प्रश्न आयो- ‘टाउको छ गाई होइन, गाई छ गाई होइन।’
दुई भाइ रन्थनिए। अब के भन्नू? टाउको भएर गाई होइन अनि गाई छ गाई होइन!
ढुंगाको सिरानी लगाउँदै सोच्यो गिरिराजले र भन्यो- ‘गाई पैसा।’
आखिर त्यही गाई पैसाको लागि त यत्रो दुःख पाइरहेका थिए। (त्यो बेला पाँच पैसालाई गाई पैसा भनिन्थ्यो।)
उताबाट अर्को प्रश्न आयो- ‘त्यो के हो जुन तिमी बोल्यौ भने तोडिन्छ?’
दोस्रो प्रश्न झन् अप्ठ्यारो हुँदै थियो। एकैछिन सोच्दा पनि उनीहरूले त्यो पत्ता लगाउन सकेनन्। पर पर डाँडामा चिलहरू उडेका जस्ता देखिन्थे। उनीहरू स्वतन्त्र थिए। गिरिराजले सोच्यो, उनीहरूका पनि हाम्रा जस्तै दुःख त हुँदा हुन्।
त्यहाँ एकैछिन शून्यता छायो। एक मनले गिरिराजलाई फर्कौँ जस्तो लाग्यो तर उसले यही एकछिनमा उत्तर पायो र भन्यो- ‘मौनता।’
फेरि केही आवाज आएन। पछाडिबाट एकैछिनमा आवाज आयो- ‘१ भाइ नाच्ने ५ भाइ हेर्ने ४ भाइ लुक्ने के हो?’
यो सुनेपछि उनीहरू फेरि अक्क न बक्क भए के भन्नु के गर्नु?
उता शंखमणिलाई सुर्तीको तलतल लागेर अघि नै देखि सुर्ती माडिरहेको थियो। आफ्नै घरमा रोपेको सुर्तीको तलतल उसलाई जति कसलाई होला र?
यो पटक शंखमणिलाई प्रश्न आफैलाई हो जस्तो लागेर भन्यो- ‘सुर्ती माडेको।’
गिरिराजले उसको मुखमा हेर्दा शंखमणि हाँस्यो। हाँस्दा उसका सुर्ती खाँदा खाँदा काला भएका दाँत र कलौटे ओठ पनि राम्रा देखिए।
यत्तिकैमा उताबाट आवाज आयो- ‘म तिमीहरूको प्रश्नबाट खुसी भएँ। म तिमीहरूलाई ५ पाथी मकै ५ ओटा गाई पैसा, मिठा-मिठा खानेकुरा र आगो दिन्छु।’
उनीहरू पत्ताएकै थिएनन्। एकैछिनमा उनीहरूको अगाडि ५ पाथी मकै, ५ ओटा गाई पैसा, मिष्ठान्न र भाँडोमा आगो पाए।
उनीहरूलाई अझै विश्वास लागेन। गिरिराजले आफूलाई चिमोट्यो तर यो सपना थिएन। उनीहरू आज साँच्चै नै निकै खुसी थिए। त्यो बेलासम्म अपराह्न भइसकेको थियो। उनीहरूले भारी कसेँ, पैसा राखे र आगो राखेको भाँडो पनि बोके।
शंखमणिले भन्यो- ‘तिमी को हौ?’
उनीहरूले सोचेका थिए प्रश्नको जवाफ पनि आउला तर यो पटक कोही बोलेन।
उनीहरू अब आफ्नो गाउँतिर फर्किए। गिरिराजलाई मनमा सकसक लागिरहेको थियो, ९-१० पाइला फर्किएपछि पछाडि हेर्यो। न त्यहाँ ढुंगो थियो न कोही मानिस। दुवै भाइ अचम्ममा परे।
उनीहरू फेरि फर्केर अघि ढुंगा भएको ठाउँमा पुगे। त्यहाँ दुइटा अजङको पाइला थिए। उनीहरूलाई थाहा थियो यी पाइला मान्छेको थिएनन्। मान्छेको हात जत्रा पाइला हुने जनावर देखेको सुनेका थिएनन्।
उनीहरूको मनमा चिसो पस्यो, कतै भूतले त तर्साएन?
उनीहरूसँग आगो थियो, भूत होला भन्ने शंका पनि टर्यो। अब नफर्किए साँझ अबेर हुने वाला थियो।
उनीहरू साँझ समयमै गाउँ आए। कति गाउँलेले पत्ताएकै थिएनन्। अरू त परको कुरा उनकै घरका जहानले समेत पत्ताएका थिएनन् उनीहरूले यत्रो काम गर्लान् भनेर। सबै गाउँलेले उनीहरूलाई सम्मान गरे।
त्यो दिन गाउँमा मुखियाले भोजको आयोजना गरे। शंखमणि र गिरिराजले ल्याएका मिठा-मिठा खानेकुरा सबैले खान पाए। ठुलो संकट टरेकोमा गाउँले खुसी थिए। त्यस दिनदेखि त्यो गाउँमा आगोको अनिकाल कहिल्यै लागेन।