पैँतीस वर्ष कटेपछि स्मृतिका पोकापन्तुरा खोलेर विगतका घटना सुनाउनु अघि म अलिक सतर्क हुन थालेँ। सम्झनाका आधारमा भनेका अतीतका विवरणहरू सबै तथ्यसँग मिल्न जरुरी छैनन् भन्ने मलाई चेत हुन थाल्यो। मानव मन वा मस्तिष्क जे भनौँ, अत्यन्त लचिलो छ। समय बितेसँगै यसले केही स्मृतिहरू सदाका लागि अलप पारिदिन्छ, अरू केही छायाजस्तै आफ्नै साथ राखिरहन्छ।
ती साथमा रहेका सम्झनाहरू यथार्थलाई पगाल्दै त्यसमा क्रमशः नयाँ मिसावट गरिदिन्छन्। अनि विगतमा भएको एउटा हुन्छ तर दिमागले त्यसलाई अर्कै ठान्ने स्थिति पैदा गरिदिन्छ। कतिपय सूक्ष्म घटनालाई अनावश्यक विराट स्वरूप दिन्छ अनि केही ठुलो प्रभाव पारेको गतिविधिलाई भने न्यून तुल्याइदिन्छ।
सामान्यतः मेरो स्मरण शक्ति यसै पनि कमजोर छ। त्यसमाथि बढ्दो उमेरसँगै सम्झने क्षमतामा अप्रीतिकर ह्रास आउँदै गएको छ। तैपनि त्यति अघि किशोर कालको साथी आलोकलाई आज पनि म झलझली सम्झन्छु। अहिले पनि मेरो आँखामा उसको त्यस बेलाको चित्र यसरी छर्लंग आउँदछ कि मानौँ ऊसँग हिजो मात्र भेट भएको होस्।
होचो उचाइ, शिरमा अंगारले नै पोतिएको जस्तो प्राकृतिक कालो कपाल, नामजस्तै तेजिलो अनुहार र नजिक पर्नासाथ देखिने ओठमा जुँगाको रेखी। साधारण जीउडाल भएको आलोक एक असाधारण प्रतिभा थियो। हामीजस्तो सामान्य मान्छेहरूको भीडमा एक असामान्य व्यक्ति थियो।
हरेक वैशाखमा नयाँ कक्षामा जाँदा म लगायत अरू सबैले नयाँ किताब किनेर राम्रो जिल्दा हाल्ने होडबाजी भइरहँदा आलोकले आक्कलझुक्कल बाहेक किताब किनेन। किन्न नसक्ने आर्थिक स्थिति भएर होइन। उसले दाइ वा दिदी कसैको पुराना किताब अघिल्लो वर्ष नै हेरी भ्याइसकेको हुन्थ्यो। शिक्षकहरूको छायादेखि पनि हामीलाई डर लाग्थ्यो तर आलोक उनीहरूसँग गणित र विज्ञानको तर्क वितर्क गरिरहन्थ्यो। कतिपय बेला शिक्षकहरूलाई समेत गलत साबित गरिदिन्थ्यो।
कक्षामा कुनै विषयमा शिक्षकले प्रश्न सोधे हामी पन्छिने नियतले घोसे मुन्टो लगाउँथ्यौँ। ऊ भने आत्मविश्वासका साथ धाराप्रवाह विज्ञानको प्रवचन दिइरहन्थ्यो। त्यस्तो प्रवचनको केही अंशबाहेक बाँकी सबै कुरा हाम्रो समझभन्दा बाहिर हुन्थे। लज्जा र हीनताबोधले हाम्रा शिर झुक्दथे।
आफ्नै कक्षाको हिसाबको प्रश्न समाधान गर्न हामी अल्मलिरहँदा आलोक भने अघिल्लो कक्षाका सिनियरलाई गणित सिकाइरहेको हुन्थ्यो। हामी परीक्षाको बेला दिनरात हस्याङफस्याङ गर्दै पाठ घोकेर बस्थ्यौँ तर ऊ निस्फिक्री भएर डुल्दथ्यो। बरु उसको कोठामा सिक्न आउनेको ताँतीको लाग्थ्यो। तर पनि परीक्षाफलमा हाम्रोभन्दा कता हो कता धेरै अंक उसको आउँथ्यो। हामी निरन्तर जोडबल गर्दा पनि भुइँमा थियौँ, आलोक सहजताका साथ प्राकृतिक तवरमा टाकुरोको टुप्पोमा विराजमान थियो।
एक दिन के भयो म भन्छु। वर्ष मैले ठ्याक्कै बिर्सेँ तर कोशीको बाँध फुटेर बाढीको वितण्डा मच्चिएको सालको असोजको महिना हो। कुनै क्षत्रिय स्तरको हाजिरी जवाफ प्रतियोगितामा हाम्रो स्कुलको प्रतिनिधित्व गर्न कक्षाका चार जना छानिए। आलोक, अनिता, अटल र म। ठिक्क उचाइ भएकी अनिताको छोटो कपाल एक चुल्ठो बाटिएको हुन्थ्यो र कालो फ्रेम भएको चस्मा लगाउँदथी। बडो मेधावी विद्यार्थी थिई।
अटल उचाइमा आलोक जत्रै थियो तर ऊभन्दा अलिक दुब्लो थियो। पातला हातहरू माथि उचाल्दै अटल नम्र आवाजमा अलिअलि मुस्कुराउँदै आफ्नो कुरा राख्दथ्यो। उसका कुराहरूमा प्रचुर हाँस्यरस र ज्ञानको सम्मिश्रण हुन्थ्यो। अटलसँग देश दुनियाँको ज्ञानको भण्डार थियो, सम्भवतः आलोकको भन्दा पनि धेरै। मैले ठुलो भएपछि झन् बुझ्दै गएँ कि अटलले भनेका कुराहरू धेरै गहिरा र दार्शनिक पनि रहेछन् भनेर।
हामीले प्रतियोगिता स्थल पुगेपछि थाहा पायौँ कि चार जना सहभागी दुई-दुई जना भएर दुई टोलीमा विभाजित हुनु पर्ने भयो। मलाई आज पनि प्रस्ट याद छ कि स्कुल युनिफर्मको खरानी रङको पाइन्ट र निलो रंगको सर्ट लगाएका हामी चार जना अर्ध गोलकार भएर ठुलो चौरमा उभिएका थियौँ। अब टोली कसरी विभाजन गर्ने भन्ने प्रश्न उठ्यो। स्वाभाविक थियो आलोकको विराट व्यक्तित्वको सामुन्ने म लाचार छाया मात्र हुने थिएँ। म अलिक लालची थिएँ। अटलसँग एउटै टोलीमा रहेर जित्ने मेरो तीव्र आकांक्षा थियो। तर मुख खोलेर भन्न मलाई आँट आएन किनकि सिधै भन्दा अनितालाई अनादर गरेको ठहरिन्थ्यो।
मैले केवल भनेँ, ‘कसरी टोली बनाउने?’
मलाई लागेको थियो कि चारै जनालाई दुई टोलीमा बाँडिन अप्ठ्यारो हुनेछ। तर मेरो प्रश्न भुइँमा झर्न नपाउँदै आलोकले बिना कुनै धकपूर्ण आत्मविश्वासका साथ भन्यो, ‘पंकज र अनिता एउटा टोली अनि म र अटल अर्को टोली।’
आलोकको चलाखीपूर्ण प्रस्तावले म छाँगाबाट खसेजस्तो भएँ। मलाई याद छैन अनिताको अनुहारमा कस्तो भाव देखियो वा अटलले कस्तो प्रतिक्रिया जनायो भनेर। तर यति सम्झन्छु कि त्यसपश्चात् मेरो शरीरका अंगप्रत्यंग चिसो हुन थाले। मेरा आँखाहरू भुइँतिर हेरिरहेका थिए। मैले चौरका हरिया झार र अलिअलि माटो लागेको मेरो कालो जुत्ता र त्यसमाथि खरानी रंगको पाइन्टको फेद मात्र देखेँ।
त्यस दिनसम्म मैले जतनले राखेको भलाद्मीपनाको घडा फुट्यो। आलोकप्रति सुषुप्त रूपमा लामो समयसम्म सञ्चित भएर रहेका डाहा, ईर्ष्या र कुण्ठाका कम्पनहरू एकसाथ मस्तिष्कमा ठुलो भुइँचालो भएर निस्किए।
मलाई स्कुलका सबै मास्टरहरूप्रति रिस उठ्यो जो आलोकले मुन्टो हल्लाएपछि मात्र पूरै कक्षाको स्वीकृति आएको ठान्दथे। जो हर पाइला-पाइलामा आलोकको प्रशंसा गरेर थाक्दैनथे। मानौँ हामी चाहिँ विद्यार्थी नै होइनौँ। मलाई ती केटीहरूप्रति क्रोध जाग्यो जो आलोकलाई घेरेर मस्किँदै यो पनि सिकाइदेऊ त्यो पनि सिकाइदेऊ भन्दथे।
मेरो क्रोधमा हीनताबोध र अपमान बोध पनि थपिए। अनि लहरो तान्दा पहरो गर्जिन थाल्यो।
मेरा कानमा सान्काकाको मप्रतिको कटु वाणीहरू गुन्जिन थाल्यो, ‘दुई पैसाको ढंग छैन यसको।’
सान्काकीको रूखो वचन मेरो मनमा खेल्न थाल्यो ‘ बाँदरको पुच्छर जस्तो छ, न लौरो न हतियार। न घरको काममा सघाउनु छ न फार्मको काम गर्नु छ। सबैतिर आफूले भ्याउनुपर्छ।’
सान्काकाको ठुलो काउली खेती थियो। काउली फार्ममा दिनरात पसिना चुहाउँदा पनि म केवल गाली र अपमानको भागिदार मात्र थिएँ।
आमाले वर्षौँ अघि अन्तिम प्रहरमा अस्पतालको शय्यामा भनेका वाक्यहरूको मलाई धमिलो सम्झना छ। त्यही वाक्यहरू पुनः सम्झिएँ।
‘तेरो सान्काकाले भाउजू यो फुच्चे मेरो जिम्मा भो भनेका छन्। उनले भनेको सधैँ मान्नू है।’
सान्काका दम्पतीको उपकार र कृपाको ऋणी हुनु परेकोमा मलाई सधैँ आत्मग्लानि भइरह्यो। त्यस बखत झन् बढी भयो।
भावनाका त्यत्रो उठान बैठानको बाबजुद आलोकको प्रस्तावमा मैले विमति जनाउने आँट गर्न सकिनँ। म लालची मात्र होइन लाचार पनि थिएँ। मेरो मुखबाट केवल निस्कियो, ‘हुन्छ त्यस्तै नै गरौँ।’
धुलिखेलभन्दा पर डाँडाको स्कुलमा भएको त्यो प्रतियोगितामा हाम्रो दुइटै टोलीले हार्यो। मलाई याद छ बनेपा तिरको रातो पाइन्ट र सेतो सर्ट युनिफर्म भएको कुनै स्कुलले जित्यो। जित्ने टोलीमा मुखभरि दारी जुँगाले ढाकेको कुइरो आँखा र चाउमिन आकारको खैरो रुखो कपाल भएको अग्लो एउटा केटो थियो भने अर्को चाहिँ मरन्च्याँसे ज्यान भएको होचो केटो थियो जसको कालो कपालमा लपक्क तेल दलिएको थियो। यतिका वर्षपछि पनि ती एक पटक मात्र देखेका चिन्नु न जान्नुका विद्यार्थीहरूको हुलिया म सचित्र सम्झिन्छु।
मैले अघि नै भनेँ नि दिमागले अप्रासङ्गिक र अनावश्यक कुराहरू थुपारेर राखेको हुन्छ भनेर।
मलाई हार्नुको तोड त्यति परेन जति अटलसँग एउटै टोलीमा रहनबाट वञ्चित पारिनुको पर्यो। फर्किँदा बाटोभरि आफैँप्रति घृणा जाग्यो कि म आलोकजस्तो चलाख र प्रतिभाशाली किन हुन सकिनँ।
आलोक वाचाल थियो, म अन्तर्मुखी। उसमा झटपट रणनीति बनाउने कला थियो, म योजनाविहीन थिएँ। आलोकको सम्मुखता विस्तृत थियो, म थिएँ केवल कुवाको भ्यागुतो। ऊ दूरदर्शी थियो, मेरो भने दृष्टिगोचर अत्यन्त सीमित। आलोक आफ्नो बाटो आफैँ खन्ने मान्छे थियो, म अरूले खनेको बाटोमा हिँड्ने मान्छे। आलोक तथ्यको जगमा उभिन्थ्यो, म भावनाको जगमा। ऊ विज्ञानका सूत्र र सिद्धान्तको लोकमा शयर गर्थ्यो, म भाव लोकको पथिक थिएँ।
किशोर कालपछि आलोकसँग मेरो भेट र सम्पर्क कहिल्यै भएन। अहिले त ऊ मभन्दा धेरै माथि शिखरमा पुगिसकेको हुनुपर्छ। जीवन र व्यवहारको अनन्त भागदौडमा उसलाई झिना मसिना कुरा सम्झिराख्ने फुर्सद सायदै होला। मैले सुरुमै भनेँ नि मस्तिष्कले स्मृतिहरू अलप पार्दै लान्छ भनेर।