उनी र म भेटिँदा फेसबुक, इन्स्टा, ट्विटर,
भाइबर, थ्रेड्स केही पनि थिएनन्
अन्तर्मनका आवाजहरू प्रस्फुटित भइसक्दा
हातमा मोबाइल फोन थिएन
समयको भुमरीमा परिएछ
उनी लागिछन् सात समुद्र पारि
म हिँडेँ 'सक्कल बमोजिम नक्कल छ' भन्दै
दस्तखत गरेका श्यामश्वेत प्रमाणपत्र बोकेर।
ओहो पछि त के-के आए आए
टाढा भन्नै नपर्ने
सुतेको, उठेको, खाएको, कपाल कोरेको,
हाँसो, खुसी, रिस, राग-अनुराग,
जखमका खसम, दुई सन्तान
सब सपाट, जस्ताको त्यस्तै
स्क्रिनमै भए पनि
मलाई बुझ्न के गाह्रो र...
उनको पार्श्व दर्शक र श्रोता भएर १७ वर्ष बितेछ
एक दिन अकस्मात् डिएम आउँछ-
'के छ तिम्रो? प्रोफेसर भयौ?
तिम्रो लागि एउटा राम्रो अवसर छ आउने भए
एकेडेमिक जब हुन्छ
परिवारसहित आउन मिल्छ
पैसा चाहिँ ३० देखि ४० लाख लाग्छ।'
दिमाग रन्थनिएर परिभ्रमण गर्छ
गाउँका सोमे, किस्ने, विस्से सबै गइसके
शिक्षकमा गाइन्न, लोक सेवा सकिन्न, विश्वविद्यालय सेवा खुल्दैन
कांग्रेस-एमालेले गर्दैनन्, माओवादीको पनि देखियो
नयाँहरू उठ्नै सक्दैनन्
गाऊँ गला छैन, नाचौँ डाल छैन
व्यक्तित्वमा अलंकार छैन, नाममा विभूषण छैन
चालिसे लाइसक्यो, बाउ, मामा र ससुरै भए नि के गर्ने हो र?
तत्काल उत्तर दिन सकिनँ
के ठान्यौ कुन्नि
हुन त उत्साह जागिहालेको भए पनि सक्थ्यौँ कि सक्थिनौँ
कृपया मलाई माफ गर, ढिलै भए पनि
आज एउटा उत्तर बनाएको छु-
‘अब हामीले भविष्य सोच्ने बेला भएछ, निर्मला
रात नसकिई बिहान हुँदैन
विद्यार्थी एबीसीडी पनि जान्दैनन्, तिनलाई 'एस्से' सिकाउनु छ
गर्मी लाग्यो भनेर कोकाकोला खान्छन्
तिनलाई गुर्जो र बाबरी चिनाउनु छ
ओहो बजार! तीन सयको जिरा हजार पुगेछ
वस्तु विनिमयको पुनर्जागरण ल्याउनु छ
साथीभाइलाई कलर ब्लाइन्डनेस
रातो र हरियो भन्दा देख्दैनन्
तिनलाई जीवनका सातै रंग हेराउनु छ
छिमेकी हराए, इष्टमित्र टाढिए
सके एकाह नसके सत्यनारायणको पूजा लगाउनु छ
गाउँका पाखा पखेरा केही छैनन्
अजङ्गका गोब्रे किराले ऽ बनाएर हिँडेका छन्,
घर छन्, मान्छे छैनन्
बुढा बुढी व्याकुल छन्
तिमी जस्ता सबैलाई बोलाउनु छ
मान्छे? मान्छे रिल्स र शर्ट्सले सकिइसके
स्वार्थ र घमन्डले मात्रै बाँचेका छन्
कुकुरहरूको चाहिँ आजभोलि राम्रो छ
कपडा लगाएर हिँड्छन्, थालमा खान्छन्, विस्तरमा सुत्छन्।
अस्ति भर्खर उड्न नपाउँदै विमानस्थलमा जहाज खसेपछि
छोराले एउटा आशा दिएका छन्
कोठाभित्र पखेटा र पाङ्ग्रा भाँचिएको 'एरोप्लेन' खेल्दा खेल्दै
भोलि मन्त्री, प्रधानमन्त्री भएर सबै नयाँ प्लेन किन्ने भनेका छन्
राजनीति गर्ने रे, जनताको सेवा गर्ने रे, 'नेता' बन्ने रे
छोरी अन्याय पटक्कै सहन्नन्
नेताकी बहिनी के कम, वकिल बन्ने रे
छोराछोरी हुन्, 'सेटिङ ' नगर्लान् नि
त्यसैले छोराको नेतृत्व हेर्नु छ
छोरीको न्याय सम्पादन भोग्नु छ
धेरै... धेरै कुरा गर्नु छ, देख्नु छ
भो म बेलायत आउँदिनँ।