‘तपाईं पढे लेखेको हुनुहुन्छ काका अनि किन मजदुरको काम गर्नु भएको? तपाईं किन अरू सजिलो कामहरू खोज्ने प्रयास गर्नुहुन्न?’
सँगै काम गर्ने युवा मजदुरको यो प्रश्नमा बूढो हुँदै गएका राजारामले कुनै जवाफ दिएनन्। ढलान गर्नको लागि राखिएको प्लाइउडमा हथौडाले किलामा प्रहार गर्दा राजारामलाई आफैँले आफूलाई किला हानेको जस्तो महसुस भयो। यस्तो प्रश्न उसलाई काँडा झैँ बिझ्थ्यो।
बिए पास गरेपछि युवावस्थामा उसको बेग्लै प्रकारको अहङ्कार थियो। पढे लेखेको भएपछि उसले अन्य मानिसहरूलाई केही जस्तो ठान्दैनथ्यो। यही अहङ्कारमा उसले आफ्नो आमाबुवालाई पढेपछि जागिर पायो भने कहिल्यै मजदुरी नगर्ने भन्दथ्यो। उल्टै भोकै मर्नेछु तर जीवनमा कहिल्यै मजदुरी नगर्ने भन्ने गर्दथ्यो।
शिक्षित हुनुको अहङ्कारमा उसले अन्य कुनै सिप पनि सिकेन। बिहे गर्यो, सन्तान भए, त्यसपछि जीवन जिउनका लागि त केही गर्नुपर्ने बाध्यता थियो। अहङ्कार र आमाबुवाको असन्तुष्टिले गर्दा भगवानहरू पनि रिसाएको कारण होला उसले कतै पनि जागिर पाएन र अन्ततः बाँच्न मजदुरको काम पनि गर्नुपरेको थियो।
‘हेर बाबु हो, कुरा यस्तो हो, मनुष्य जीवनमा समयले जे भन्छ जे दिन्छ त्यो गर्ने हो। अहिले मेरो समयको माग भनेको मजदुरको काम गरेर आफ्नो परिवारलाई खुवाउने हो, त्यसैले म त्यही गरिरहेको छु र तिमीहरू पनि आफ्नो काममा ध्यान दिनु।’
राजारामले दार्शनिक किसिमले आफ्नो शिक्षाको प्रमाण दियो।
‘काका, दिनानाथले कति पढेको छ? उसलाई काममा किन ल्याउनु हुन्न, दिनभरि घुमिरहन्छ।’
‘त्यसलाई पनि अहंकारले छोएको छ, विदेश जान्छु तर मजस्तो काम गर्दैन रे,’ राजारामले लामो सास फेर्दै भन्यो।
‘काका उसले ठिकै त भनेको छ, यहाँ मजदुरी गर्नेको कुनै इज्जत छैन। कामको कुनै ठेगान नै हुँदैन, ज्याला समयमा पाइँदैन, त्योभन्दा पनि तपाईंले ब्याजमा यति धेरै सापटी लिनु भएको छ। हप्तामा किस्ता तिर्नुपर्छ। उसलाई विदेश पठाइदिनू, त्यहाँ केही कमायो भने तपाईंको बोझ केही हलुका हुनेछ।
पाएको ज्याला लिएर साँझमा राजाराम घरतिर लाग्दा बाटोमा दिनानाथ देखियो। बल्ल दिउँसो केटाहरूले भनेका कुराहरू छर्लङ्ग भएको थियो। सबै गाउँलेहरूको अगाडि दिनानाथलाई गाली गर्नु उसको गल्ती थियो तर आज सारा गाउँलेको अगाडि बढी नै भएको थियो।
रातको दश बजिसकेको थियो तर दिनानाथ अझै घर आएको थिएन। आमाको मन न हो चिन्ता गर्न थालिन्। बिस्तारै राजाराम पनि आत्तिन थाल्यो। बाटोमा दिनानाथलाई गाली गरेको घरमा भनेको थिएन।
राजारामको बुढाबुढी रातभर निदाएनन्। अरू बेला जे जस्तो भए पनि दिनानाथ ढिलो चाँडो घर आउँथ्यो तर यस पटक घर आएन। सबै चिन्तित। गाउँका साथीहरूबाट थाहा भयो कि उनका केही साथीहरू विदेश जान लागेका छन्। ऊ पनि राति उनीहरूसँगै थियो रे।
आमाको मन कटक्क भयो, पक्कै पनि ऊ आफ्ना साथीहरूसँग गयो। राजारामको मन भित्र मिश्रित अनुभूतिहरू घुमिरहेका थिए। डर थियो, यति सानै उमेरमा रिसाएर विदेश गयो, केही खुसी पनि थियो किनकि यहाँ डुलेर हिँड्नुभन्दा केही कमाएमा घरको हालत अलि राम्रो होला।
रेलको साधारण डिब्बाको झ्याल छेउमा बसेर दिनानाथ बिहानी पखको घामको उज्यालोमा नयाँ आशा खोज्दै थियो। जेलबाट रिहा भएजस्तो भित्र भित्रै अति नै खुसी थियो। आज उसलाई आफ्नै बुबा संसारको सबैभन्दा निर्दयी मान्छे जस्तो लागिराखेको थियो। रेलको तीव्र गतिसँगै उसको सपना पनि तीव्र गतिमा बढिरहेको थियो।
घरको परिस्थिति र बुबाको किचकिचका कारण सधैँ घरबाट भाग्न चाहन्थ्यो। सधैँ बलिउड फिल्मी दुनियाँमा हराउने दिनानाथ घरबाट भागेपछि ठुलो मान्छे नभई घर नफर्कने सोचमा थियो। ठुलो मान्छे बनेपछि आफ्नै ठुलो गाडीमा गाउँ आउने सपना देखेको छ। आफ्नो घर अगाडि ओर्लनेछ, जब बुबा दौडिएर उसको छेउमा आउँदा बुबालाई बेवास्ता गरेर आमानिर जानेछ। आज उसलाई लाग्यो कि यो उसको सपना साकार पार्ने पहिलो कदम हो। साथीभाइको सहयोगमा घरबाट भागेर आएको थियो। यो उमेर नै यस्तै हो, जुन बहावलाई समात्छ त्यतै बग्छ। समयको बहावलाई चिन्न सक्ने मान्छे कमै मात्र हुन्छन्।
यता गाउँमा बिहान सबेरै घरको वातावरण सुनसान थियो। कोही कसैसँग केही बोलिरहेका थिएनन्। सबै जना चुपचाप आफैलाई सान्त्वना दिइरहेका थिए। सबैले प्रार्थना गरिरहेका थिए कि उनीहरू जहाँ गए पनि राम्रोसँग रहून्। चार दिदी-बहिनीपछि जन्मिएको दिनानाथ परिवारको कान्छो थियो। बिस्तारै समयको प्रवाहसँगै दिनानाथ भागेको दुःख कम हुँदै गयो।
वर्षौँ बित्न लागेको थियो तर दिनानाथ गाउँ फर्किएको थिएन। एकातिर दिनानाथ घर फर्किने वा घरको लागि केही पैसा पठाउला कि भनेर आमा बुबा कुर्दै थिए भने अर्को तर्फ राजारामले लिएको ऋणको भार दिन प्रतिदिन बढ्दै थियो। दिनानाथले साथीको फोनबाट घरमा सबैसँग कुरा गर्थ्यो तर राजारामसँग कहिल्यै कुरा गरेन। बाबु छोरा दुवै एक अर्कासँग कुरा गर्न चाहन्थे तर दिनानाथ डरले बुबासँग र राजारामले अहंकारले कुरा गरेनन्।
दिनानाथलाई काम सिक्न एक वर्ष लाग्यो, यता घरको अवस्था सुध्रिएन। राजारामले गाउँमा कहिले काम पाउँथ्यो कहिले पाउँदैनथ्यो। दिनानाथलाई त्यो परदेशको वातावरण कहिल्यै मन परेन, देशको सिमाना छाडेर रेलमा आउँदा देखेको सपनाहरू ओर्लँदा सायद रेलभित्रै कतै छुटेको थियो। यहाँ हरेक पाइलामा उसले केही न केही गुमाउँदै गएको थियो।
कहिले उसले आफ्नो गाउँको मिठो सम्झना गुमाएको थियो भने कहिले उसले आफ्नो बाल्यकाल, कहिले उसको निद्रा हराएको थियो, कहिले सबैभन्दा धेरै उसले आफ्नो थकान र भोक गुमाएको थियो। कहिलेकाहीँ ऊ दुई छाक भोकै रहन सक्थ्यो। प्रविधिको यो दौडमा जहाँ धनी परिवारका बालबालिका मोबाइल/ल्यापटपको निलो किरणले समयअघि नै हुर्किरहेका छन्, त्यही दिनानाथ जस्ता किशोरको जीवन पनि काममा दौडधुप चहलपहलका कारण समयअघि नै हुर्केको थियो। अहिले एउटा कुरा उसले राम्ररी बुझेको थियो कि दुई-तीन घण्टा लामो फिल्ममा मात्र रातारात धनी बन्न सकिन्छ, वास्तविक जीवनमा होइन रहेछ।
रिसाएर ऊ साथीहरूसँग परदेश त आएको थियो तर यहाँ हरेक पाइलामा पैसा चाहिन्थ्यो; बस्ने ठाउँको भाडा चाहियो, खानाको लागि रासन चाहियो सबैमा पैसा चाहिन्थ्यो। जसरी भए पनि केही दिन टिक्यो तर यो परदेशमा कसले उसलाई बिना पैसा सधैँ साथमा राख्ने? उनका सबै साथीहरूले मिलेर उसलाई खाना र बासको चिन्ता लिनु नपर्ने ठाउँमा काम लगाइदिए। फ्याक्ट्रीमा नै बसेर काम सिक्न थाल्यो, मजदुरको नाइकेबाट पैसा पनि पाउन थालेको थियो।
दिन र रातमा छुट्टाछुट्टै सिफ्टमा कारखाना २४ सै घण्टा खुला रह्यो। हात परेको पैसाले भोक मेटाउन पर्याप्त थिएन। त्यसैले उसले भोक मेटाउन चार-पाँच वटा रोटी खानुको सट्टा दुई–तीन वटा मात्रै खान्थ्यो। किनभने बाँकी त्यही पैसाले भोलिपल्ट बिहानको खाजा खानुपर्थ्यो। जुन दिन बेलुकी पेटभरि खाना खान्थ्यो, भोलिपल्ट बिहानको खाजाको लागि पैसा बाँकी रहँदैनथ्यो।
यदि कुनै दिन नाइकेले उसको सोझोपनको फाइदा उठाएर उसलाई पैसा दिएन भने त्यो रात भोकै सुत्नुपर्थ्यो। यसरी अब उसलाई भोकै बस्न पनि बानी परिसकेको थियो। उसलाई घरको सम्झनाले धेरै सताउँथ्यो तर कुन अनुहार लिएर जाने? उसले काम सिकेर कमाउन नथालेसम्म गाउँ नफर्कने निर्णय गर्यो।
सधैँ होटेलमा खाने गर्नाले र धेरै भोकै बस्दा उसको स्वास्थ्य दिन प्रतिदिन बिग्रँदै गइरहेको थियो। तैपनि उसले काम छिट्टै सिक्यो, पहिलो तलब पाएपछि ऊ त्यही साथीहरूसँग बस्न गयो। तर पछिल्ला केही दिनदेखि उसको पेटमा अनौठो दुखाइ सुरु भएको थियो। औषधी पसलबाट औषधी लिएर जान्थ्यो। दुखाइ हट्थ्यो तर केही दिनपछि फेरि सुरु हुन्थ्यो। आफ्नै कमाइले उसको जीवन केही सहज हुन थालेको थियो। तर ऊसँग उपचार गर्ने पर्याप्त पैसा थिएन।
दिनरात मेहनत गरेपछि उसले आफ्नो लागि एउटा मोबाइल किन्यो, घर जान पैसा बचत गर्न थाल्यो। घर जान अझै केही महिना बाँकी थियो तर एक दिन पेट दुखेर उसलाई असाध्यै पीडा भयो। पीडाले पानी बिनाको माछा जस्तै तड्पियो। सबै जना मिलेर उसलाई सरकारी अस्पतालमा भर्ना गराए, हतारमा शल्यक्रिया गरियो तर दिनानाथलाई होस नआएपछि आइसियुमा राखियो।
दिनानाथभन्दा कम पढेका साथीहरूले डक्टरसँग के भएको हो सोध्न पनि सकेनन्। गाउँमा उनीहरू आफूलाई निकै बहादुर ठान्थे तर यहाँ विदेशमा कसैले मुख खोल्न सकेनन्। यहाँ एक किसिमको विभेद थियो, अस्पतालमा सबैले उसलाई अनौठो किसिमले हेर्दथे, त्यस्तै व्यवहार गर्दथे। मानौँ ऊ मानिस नभएर कुनै अछुत वस्तु हो।
दुई दिनपछि दिनानाथले जीवनको लडाइँमा हार्यो, के भएको हो कसैलाई थाहा भएन। डक्टरलाई कसरी सोध्ने र के सोध्ने? केही डक्टरहरू आपसमा कुरा गरेको सुनेँ कि पेटको आन्द्रा सुकेको थियो। कुनै अप्रिय घटना लुकाउन खोजेको जस्तो गरी डक्टरले हतारमा दिनानाथको शरीरलाई लैजान भने।
यो परदेशमा अब के गर्ने? उनका साथीहरू रनभुल्लमा परे। उनीहरू सबै अपरिपक्व थिए। गाउँमा कसरी खबर गर्ने, यही अन्तिम संस्कार गर्ने वा गाउँ लैजाने र लाने हो भने कसरी लैजाने। त्यसपछि सबैले राम्ररी सोचेर दिनानाथको मोबाइलबाट राजारामलाई फोन गरे। राजाराम र दिनानाथ दुवैसँग एक अर्काको फोन नम्बर थियो तर कहिल्यै एक अर्कासँग कुरा गरेनन्।
दिनानाथको फोन देखेर राजाराम खुसी हुने कि रिसाउने यकिन गर्नै सकेन। उसको हात काँप्न थाल्यो, मुटुको धड्कन बढ्न थाल्यो। कसरी बोल्ने, बाबुको अहंकारले बोल्ने वा मायाले बोल्ने भन्ने पनि निर्णय गर्न सकेन। यसैबिच फोन काटियो। बाबु भएको अहममा यहाँबाट फोन गर्ने कि नगर्ने सोचमा थिए।
दोस्रो पटक फोनको घण्टी बज्यो, एक पल पनि खेर नफाली राजारामले फोन उठाए। उसलाई अर्को तर्फ दिनानाथको साथीहरूले उसको बारेमा जानकारी गरायो। ऊ स्तब्ध भयो, उसको मन त पहिले देखिनै ढुङ्गा जस्तै कठोर थियो तर यस बेला कसैले त्यो ढुङ्गालाई हिउँ परेको ठाउँमा एक्लै छाडेको जस्तो भएको थियो। राजारामको आँखाबाट आँसु निस्किएनन्। लाग्दथ्यो आँसुले बाटो बिराएको थियो। उसको शरीर थरथर काँपिरहेको थियो।
‘त्यसलाई गाउँ लिएर आउनू, आवश्यक पैसा म पठाइदिन्छु’ भन्दै राजारामले फोन काटिदिए।
यो समाचारले गाउँमा प्रलय आएजस्तो वातावरण बन्यो। दिनानाथ भर्खर अठार वर्षको पनि भएको थिएन। उसको मृत्युको खबर गाउँमा जङ्गलमा लागेको आगोझैँ फैलियो। मानिसहरू सपना बोकेर परदेश जान्छन् तर फर्किँदा सपना पूरा हुनुको सट्टा दुःखद समाचार आउँदा, त्यसपछि जीवन जिउन गाह्रो हुने रहेछ। शव वाहनमा शव गाउँ ल्याउने व्यवस्था गरिएको थियो। सबै आफन्त पनि घरमा जम्मा हुन थाले।
राजाराम पानीबाट बाहिर निस्केको माछाझैँ लडिरहेको थियो। उसको पछिल्लो ६ महिनाको कमाइ छोराको लास ल्याउन खर्च भइसकेको थियो। धनीहरूका लागि सबै सम्भव हुँदो रहेछ तर गरिबको जीवनको शब्दकोशमा त्यस्ता शब्दहरू नहुँदो रहेछ, 'सम्भव' शब्द पनि तीमध्ये एक हो। टाढा परदेशबाट दिनानाथलाई समयमै गाउँमा ल्याइपुर्याउनु सम्भव थिएन।
यसैबिच राजारामको अगाडि आफ्नो जीवनका सबै गल्तीहरू घडीको सुई झैँ घुम्न थाले। दिनानाथको यो अवस्थाको लागि आफूलाई जिम्मेवार ठान्न थाल्यो। मानिसहरूले आफ्नो इच्छा पूरा गर्न के गर्दैनन्? तर मानिसलाई कहिलेकाहीँ सबै जोखिममा राखेर केही पाए जस्तो पनि लाग्छ तर जीवनसँग यति धेरै त मागेको थिएनौँ।
ठुलो गाडीमा गाउँ आउने दिनानाथको सपना पूरा भयो। तर यो मूल्यमा पूरा होला भनेर सोचेको थिएन होला। पूरा भएका सपनाहरू निकै महँगो थियो। अधुरा रहन गएका सपनाहरू जस्तै दिनानाथले गाउँ आएपछि बुवालाई बेवास्ता गर्ने सपना पूरा हुन पाएन। सधैँ झैँ राजारामले घर आउँदा दिनानाथलाई बेवास्ता गर्दथ्यो आज आफ्नो जवान छोराको शव हेर्ने हिम्मत जगाउन सकेको थिएन।