काठमाडौँको उत्तर-पूर्वी आकाशमा कालो बादल मडारिएर अँध्यारो छाएको थियो। बादल फाटेर अहिले भर्खरै पानी पार्ला झैँ गरेर मेघ गर्जिरहेको थियो। कपनदेखि माथिको तारे भिर, शिवपुरी डाँडा रिसाएर फुलेको अनुहार जस्तो देखिन्थ्यो। पानी परी हालेको थिएन।
म छाता विहीन थिएँ। त्यहीँ भएर जति सक्दो छिटो-छिटो हिँडेर म कतैबाट हाडीगाउँ हुँदै आउँदै थिएँ, आफन्तको डेरामा पुग्न। आफन्तको डेरा थियो मालिगाउँमा।
डेरा पुग्नुभन्दा अगाडि नै पानी पर्न सुरु भयो। म ओत खोज्दै दगुरेर हिँड्दै गर्दा हाडीगाउँ डबली छेउको महादेव मन्दिरमा पुगेर रोकिएँ।
रोक्न बाध्य थिएँ। किनभने मसँग छाता रेनकोट केही थिएन। घरहरू थुप्रै थिए। तर मेरो लागि सबै अनजान थिए। त्यसैले म त्यहीँ सानो मन्दिर परिसरमा ओत लाग्न उचित ठानेर उतै भित्रिएँ। ओत लाग्न प्रशस्त ठाउँ थियो।
साँझ-बिहान भजन कीर्तन गर्न, बटुवा बस्न बनाएको सत्तलले निक्कै काम दियो। त्यहाँ थिए केही मान्छेहरू। कोही ओत लाग्न छिरेका थिए। कोही स्थायी वासस्थान बनाएर बसेका थिए। त्यहाँ भएको मानिसहरू मध्य एउटी बुढी आमामा पुगेर मेरो नजर अडियो।
ती आमाको जीउ लगभग आधा भिजेको थियो। झट्ट हेर्दा ७० वर्ष उमेर कटेको जस्तो देखिन्थ्यो। कलेटी परेको ओठ, सत्र ठाउँमा मुजा परेको गाला। पावर वाला चस्माको सहाराले हेर्ने आँखा। लगभग पूरै कपाल फुलिसकेको। एक हिसाबले भन्दा वयोवृद्ध अवस्थामा पुगेको देखिन्थ्यो। तर उहाँको बोली मिठो थियो, स्पष्ट थियो। उत्साहित देखिन्थ्यो।
किन किन मलाई ती आमाको छेउमा गएर बसेर बोल्न मन लाग्यो। मनले अह्राएको आदेश मान्दै म उहाँको छेउमा गएँ र भनेँ, ‘आमा!’
एउटा अनजान आवाजमा एक्कासि आमा भन्ने शब्द सुनेर झस्कँदै मतर्फ फर्कनु भयो। बोल्नु भयो, ‘को हो बाबु? मैले चिन्न सकिनँ त!’
‘तपाईंले चिन्नु हुन्न मलाई। मैले पनि चिन्दिनँ तपाईंलाई र पनि बोल्न मन लाग्यो। त्यसैले बोलेको आमा।’
पानी पर्दै थियो झमझम। बेलाबेलामा बिजुली चम्कन्थ्यो। चट्याङ पर्थ्यो। समय मध्य दिन भए पनि पूरै काठमाडौँ सहर अँध्यारोमा हराएको थियो।
ती आमा बेलाबेलामा मन्दिर परिसरको गेट बाहिर निस्कनु हुन्थ्यो र पुनः भित्रै फर्कनु हुन्थ्यो। म आमाको गतिविधि नियालिरहेको थिएँ। पटक पटक बाहिर-भित्र किन गरेको होला भनेर बुझ्न मन लागेर म पनि बाहिर गएर हेरेँ।
आमाको सानो ठेला रहेछ। ठेलामा केही दर्जन हरियो मकै, केही केजी मकै पोल्ने कोइला ‘गोल’ रहेछ। ठेलालाई छोप्न बनाएको प्लास्टिकको पाल हुरीले उडायो कि भनेर मिलाउन बाहिर पटक पटक निक्लनु भएको रहेछ।
त्यो दृश्य देखेपछि उहाँप्रति झन् सम्मान जागेर आयो। उहाँसँग बोल्ने रहर जागेर आयो।
आमाको गतिविधि देखेर म आफैँलाई आफू देखेर लाज पो लाग्न थाल्यो। आमाको फुर्ती अगाडि मेरो जाँगर फिक्का थियो। मेरोभन्दा दुई गुणा बढी उमेर बाँचिसकेको आमाको हाउभाउ, स्फूर्तिको साथ जीवन बाँचेको देख्दा मलाई एक प्रकारको प्रेरणा जागेर आयो।
केही बेरपछि पानी रोकियो। बिस्तारै आकाश छ्याङ्ग उघ्रियो। अघिसम्म पानी बोकेको कालो बादलले ढाकेको आकाश निलो रंगमा परिणत भयो। बिस्तारै सन्नाटा छाएको रोडहरूमा चहलपहल छाउन थाल्यो। ओतमा लागेको मान्छेहरू पुनः हिँड्न थाले आ-आफ्नो गन्तव्यमा पुग्न। मन्दिरको टुँडालमा लुकेर बसेका चराहरू फेरि चिरबिर चिरबिर गर्दै उड्न थाले।
मेरो गन्तव्य नजिकै भए पनि म हिँडिसकेको छैन। किनभने मलाई केही बुझ्न मन लागेको थियो ती आमाको बारेमा। ती आमा पनि आफ्नो कर्ममा तल्लीन हुन मन्दिर बाहिर निस्केर ठेला छोपेर राखेको प्लास्टिक उठाई टकटक्याउँदै पट्याउँदै राख्नु भयो।
ठेलालाई गुडाएर अलि पर पुर्याउनु भयो, मन्दिर आडको पिपलको रुख छेउमा। कोइलाको पोका खेलेर किटको कराइ भरेर आगो लगाउनु भयो। कोइला आगो बने। त्यहीँ आगोको भुप्रोकोमा हरियो मकै बोराबाट निकालेर नङ्ग्याउँदै पोल्न थाल्नु भयो।
-बाटो हिँड्ने बटुवाहरूलाई भन्दै हुनुहुन्थ्यो- ‘मिठो ताजा पोलेको मकै। आउनुहोस् आउनुहोस्, खानुहोस् अनि जानुहोस्।’
मिठो ठट्यौली शैलीमा भाका हाल्दै मकै बिकाउन प्रचुर कोसिस गर्दै हुनुहुन्थ्यो। म ती आमाको गतिविधिले उहाँको छेउमा नगई बस्न सकिनँ।
उहाँलाई भनेँ, ‘आमा, मलाई पनि एक घोगा मकै।’
भइहाल्छ नि बाबु भन्दै तात्तातो एक घोगा पोकेको मकै त्यहीँ मकैको खोस्टामा पोको पारेर दिनु भयो। अलग्गै पिरो नुन खोर्सानीको चटनीसँगै।
मकै खाँदै आमासँग बोल्न मन लागेर बोलेँ बिना औपचारिक।
‘आमा हजुर कता बस्नु हुन्छ?’
आमाले भन्नु भयो, ‘म यतै डबली छेउ डठ्टुटोलामा बस्छु।’
पुनः प्रश्न गरेँ, ‘अनि हजुरको पुर्ख्यौली घर?’
‘पूर्व तिर हो बाबु, खै कुन्नि काफ्रे हो कि काभ्रे जिल्ला भन्छन्। मलाई त्यति धेरै थाहा छैन। तर नागरिकता बनाउने ठाउँ चाहिँ धारग्याल (तामाङ भाषामा धुलिखेल हो। त्यत्ति चाहिँ थाहा छ मलाई।’
‘अनि आमा कति भयो काठमाडौँमा बस्नु भएको?’
‘भयो बाबु धेरै वर्ष। माओवादीले दुःख दिएर आएको। खै कति वर्ष भयो थाहा भएन।’
आमाको कुराले मलाई अझै उत्साह जगाउँदै थियो। अझै धेरै कुरा सोध्न मन लागेको थियो। जिज्ञासाको हुरीले मनमा हलचल ल्याएको थियो।
आमाले मलाई पनि सोध्नु भयो, ‘बाबुको चाहिँ घर कता हो नि?’
मैले आफ्नो ठेगाना बताएँ र फेरि सोधेँ, ‘अनि आमाको परिवारमा को-को हुनु हुन्छ नि? आमाले एउटै शब्दमा जवाफ फर्काउनु भयो, कोही छैनन् मेरो त।’
बोल्दा बोल्दै भावुक हुनुभयो। ती आमाको भावुकतालाई ठेस नपुग्ने गरी सोध्ने प्रयास गरेँ आमाको बारेमा।
मेरो जिकिर सामु आमा पग्लिनु भयो। आनाकानी गर्दै आफ्नो कथा सुनाउन तयार हुनु भयो। बेलाबेलामा मकै किन्न आएका ग्राहकलाई मकै बेच्दै सुनाउनु भयो आमाले आफ्नो बारेमा।
‘बाबु, मेरो पनि निकै सुन्दर परिवार थियो। दुई छोरा र एउटी छोरी अनि श्रीमान्। पाँच जनाको सानो सुखी परिवार। खान लाउन पुग्ने जमिन जग्गा थियो। हाम्रो परिवार पूरै कृषिमा निर्भर थियौँ। पुग्थ्यो सबै कुरा कृषिबाटै। छोराछोरी स्कुल जान्थे। हामी जोई र पोइ निकै मेहनत गर्थ्यौँ खेतबारीमा। तरकारी लगाउँथ्यौँ। पशुपालन गरिन्थ्यो। हाम्रो लागि सबै कुरा राम्रो हुँदाहुँदै देशमा भने के-के जाति नराम्रो भएको भन्दै माओवादी भन्ने मान्छेहरू राति-राति हिँड्थेँ गाउँ-गाउँमा। निकै मिठा कुराहरू गर्थे। सबैलाई बराबरी अधिकार हुनुपर्छ भन्ने कुरा गर्थे।
तिनीहरूको कुरामा बिस्तारै मेरो श्रीमान् विश्वस्त हुँदै जानुभयो। एक रात छोराछोरीलाई थाहा नै नदिई श्रीमान् उनीहरूको पछि लागेर जानु भयो। मेरो लाख रोक्ने प्रयासलाई लत्त्याएर जानु भएदेखि निकै समयपछि आउनु भएको थियो, अर्कै मान्छे जस्तो बनेर। आर्मीको जस्तै लुगा लगाएर आउनु भएको थियो। दुई दिन बस्नु भयो घरमा त्यसपछि छोराछोरी र मलाई सम्झाएर जानु भयो। त्यसपछि कहिल्यै फर्केर आउनु भएन। निकै पछि उहाँ भिडन्तमा परेर सहादत प्राप्त गर्नु भयो भन्ने खबर आएको थियो।
बस् उहाँलाई सम्झेर रुनु सिवाय केही गर्न सकिनँ। उहाँको घरमा रहेको पुरानो लुगालाई उहाँ सम्झेर काजक्रिया गरियो। यसरी बाको मृत्युपछि छोराहरूमा पनि बदलाको भाव जागेर होला सायद बदला लिन्छु भन्दै लागे उतै बा हिँडेका बाटोमा।
अनेक कोसिस गरे दुई छोरालाई रोक्न। उनीहरूले मान्दै मानेनन्। गए घर छोडेर। घर मात्रै नभएर घरमा भएको आमा र बहिनीलाई छोडेर। देशको अनुहार फेर्न आफ्नो परिवारको आँखाभरि आँसु उपहार दिएर।
उनीहरू गएदेखि घरमा म र छोरी मात्रै बाँकी भयौँ। सकी नसकी चलाएँ घरलाई। छोराहरू गएदेखि कहिलेकाहीँ आउँथे घरमा, त्यो पनि गाउँ हुँदै हिँड्ने बाटो पर्दा।
पहिला केही थाहा नहुने मलाई संगतले गर्दा केही कुरा थाहा पाउने भइसकेको थिएँ जनयुद्धको बारेमा। माओवादी युद्ध चरम बिन्दुमा पुगेको थियो। पश्चिम तिरको ठुलो भिडन्तमा जेठो छोराले सहादत प्राप्त गरेको समाचार सुन्नमा आयो। बिस्तारै-बिस्तारै मेरो परिवार उजाड बन्दै थियो।
कान्छा छोरा कता छन् थाहा छैन। जिउँदै छ कि मृत्यु वरण गरिसक्यो त्यो पनि थाहा छैन बाबु! एक प्रकारले मेरो परिवारमा पीडाको पहाड खसेको थियो। त्यो पहाड वेदनाको नदी बनेर बग्दै गयो। एउटै घरको बा-छोरा युद्धमा मृत्यु भएको खबर जिल्लासम्म थाहा भएको कारणले दिनै जसो कहिले प्रहरी, कहिले सैनिक आएर केरकार गर्थे। प्रशासनको निगरानीमा परेका थियौँ हामी। हामीलाई माओवादी भनेर दुःख दिइन्थ्यो।
उता माओवादी तर्फबाट जासुसी करार गरेको थियो। प्रशासनलाई जासुस गर्यो भनेर खुब दुःख दिन्थे। भकारीको अन्न लुटेर लग्थे। खोरमा पाली बढेका खसी-बोका घिसारेर खेदाउँथे। हामी आमा छोरीलाई टिक्न दिएन त्यो बेलाको समयले आफ्नै गाउँमा।
धेरै थोक भएर पनि केही नभएको जस्तो गरी धेरै वर्ष अगाडि पसेको हो बाबु यो सहरमा। सहर पसेको केही समयपछि छोरी बिमार भई। डाक्टरलाई देखाएँ। धामीलाई देखाएँ। सक्ने जति सबै गरेँ। अन्त्यमा उनले पनि बा र दाइहरूले जस्तै गरी मलाई छोडेर गई। त्यसपछि म एक्लै छु बाबु।
पहिले पहिले बल हुँदा गाह्रो साह्रो काम गरिन्थ्यो जीवन चलाउन। अहिले सक्दिनँ गाह्रो काम गर्न। त्यसैले मकै पोलेर आफूलाई जिउँदो राख्ने कोसिस गर्दै छु बाबु।’
आमाको कथा सुनेर कतिखेर आँसुले मेरो आँखा भरिएछ पत्तै भएन। उल्टै ती आमाले छोरा मान्छेको आँखामा पनि आँसु भन्दा पो म झस्केछु।
आधा दिन भइसकेको थियो। त्यति धेरै आहत हृदय विदारक कथा सुनाउँदै गरेको आमाको मुहार उस्तै छ। जस्तो पहिला थियो।
मकै खोयाबाट रित्तिइसकेको पत्तै भएन। मकैको दाना निस्केर बनेको खोपिल्टो र आमाको दाँत निक्लेर देखिएको गिजाको खोपिल्टो झन्डै उस्तै-उस्तै देखिन्थ्यो। उमेरमा अर्कै थियो होला ती आमाको रौनक र ऊर्जा।
आमासँग झरीले जुराएको छोटो भेट अनि भेटसँगै आमाले सुनाएको आफ्नो कथा सुनेर म चकित थिएँ। अलिकति खुसी थिएँ भने धेरै दुखी।
म त्यहाँबाट निस्कने तरखरमा थिएँ। ‘कति पैसा हो मकैको?’ भन्दै पर्सबाट पैसा निकालेर उहाँतर्फ दिएँ। तर आमाले लिन मान्नु भएन। तर पनि जबरजस्ती दिएँ। आमाले लिन नमान्दा नमान्दै म हिँडेँ फेरि आउँछु आमा भनेर। आफ्नो पुग्नुपर्ने ठाउँमा पुगेँ। केही कामहरू थियो फत्ते गर्नु पर्ने।
साता दिन जतिको बसाइँमा प्रत्येक दिन भेट हुन्थ्यो ती आमासँग। केही बेर उहाँसँगै बस्दा पोलेको मकैसँगै छोडाउनु हुन्थ्यो जीवनका कुराहरू। कुराहरू निकै दर्दनाक हुन्थ्यो। केही कुराहरू रमाइलो पनि हुन्थ्यो।
एक दिन सोधेको थिएँ उहाँलाई, ‘आमा यहाँ बाटो छेउमा बसेर मकै बेच्दै गर्दा कसैले केही गर्दैनन् र?’
आमाले एकै सासमा भन्दै हुनुहुन्थ्यो, 'गर्छ नि बाबु नगर पुलिसले लम्की र झम्की गर्छ। एक दुई पटक खोसेर लगेको पनि हो। तर मैले छोडेका छैन यो काम गर्न। यदि यो काम छोडियो भने कसरी साँझ-बिहानको छाक टार्ने? पिर बडेको छ बाबु। पिर मानेर मात्रै हुँदैन रहेछ समस्याको समाधान। बुढेसकालमा साथ दिने सहाराहरू पालैपालो खोसे दैवले। अब हेर्दा जाऊँ के-के हुँदै जाँदो रहेछ।’
आमाको मन छुने कुराहरूले मन भारी बनायो। भारी मन बोकेर आमालाई भनेँ, ‘आमा, म भोलि गाउँ फर्कँदै छु नि’।
आमाले ‘ए हो र?’ मात्रै भन्नुभयो।
भोलिपल्ट साता दिनको बसाइँपछि गाउँ फर्कँदै थिएँ। ती आमा उहीँ हुनुहुन्थ्यो, अरू दिनझैँ।
‘लु आमा म लागेको। भोलिपर्सि आउँछु।’
आमा व्यस्त थिइन्। मकै किन्ने ग्राहकहरूसँग। ग्राहक होलो भएपछि मसँग बोल्नु भयो- ‘ल बाबु राम्रोसँग जानू। बाँचिरहे भोलिपर्सि फेरि भेटौँला।’
हिँड्ने बेला खाना मन नलागे पनि चार-पाँच घोगा मकै मागेँ। लागतभन्दा केही बेसी पैसा थपेर दिएँ उहाँलाई। लिन मानिरहनु भएको थिएन। कर गरेर मनाएँ। म पनि तपाईंको छोरा जस्तै हो अन्यथा नमान्नु भनेपछि बल्ल लिन राजी हुनुभयो।
त्यसपछि म आफ्नो बाटो लागेँ। म पर पुगिन्जेलसम्म हेर्दै हुनुहुन्थ्यो आमाले। बाटो मोडियो। मोडले छेकियो ती आमा र मेरो हेराइलाई।
निर्धारित समयमा बस लाग्ने ठाउँमा पुगेँ। बस चढेर गाउँतर्फ लागियो मनभरि ती आमाको मेटिन नसक्ने मिठो सम्झना बोकेर। घर पुगेर पनि परिवारसँग उहाँको बारेमा कुरा गरियो।
उहाँ जत्तिकै उमेर भएकी हजुरआमाले ‘माने हाम्रै घरमा आए हुन्थ्यो नि। मलाई पनि साथी हुन्थ्यो। उहाँलाई पारिवारिक माया। आखिर सम्बन्धको आयाम रगतले मात्रै निर्धारण गर्ने होइन क्यारे’ भन्नुभयो।
समय चल्दै थियो आफ्नै गतिमा। समयको गतिले छ महिनाको दूरी निर्माण गरिसकेछ। ती आमासँग भेट भएको आधा वर्ष भइसकेको रहेछ। त्यो बिचमा काठमाडौँसम्म आउने कामै परेन भन्दा पनि हुन्छ।
किन-किन मलाई ती आमा बारे बुझ्न मन लागेको थियो। उहाँको फोन नम्बर थियो कि थिएन सोधिनँ। सोध्न बिर्सेछु, नसोध्नु मेरो एउटा भुल थियो जस्तो लाग्छ।
छ महिनापछि त्यसै त्यसै बिना काम नै काठमाडौँ आउने निधो गरियो। परिवारमा एउटा बहाना बनाएर निस्किएँ काठमाडौँको लागि।
काठमाडौँ आइपुगेँ। लागेँ धोबिखोला तरेर हाडीगाउँ तिर। ठाउँहरू उस्तै थियो पहिला जस्तै। तर पहिला पानी परेको थियो अहिले पानी परेको थिएन। कृष्ण मन्दिर हुँदै डबली पुगियो। महादेव मन्दिर दर्शन गरियो। बाहिरी आँखाले मन्दिर, महादेवको मूर्ति,डबली देख्दै थियो। मनको आँखाले ती बुढी आमालाई खोज्दै थियो।
मन्दिरको मूर्ति उस्तै थियो। मन्दिरको सत्तल उस्तै थियो। सत्तलमा बस्ने मानिसहरू नयाँ थिए। प्रायः सबै कुराहरू दुरुस्तै उस्तै थियो। तर ती बुढी आमा थिइनन्। बुढी आमालाई देखिनँ। मनले आमालाई खोज्दै थियो। भावनाले ती आमासँग मकै किनेर खाँदै गफ गर्दै थियो।
हुन त उहाँ मेरो आफ्नो मान्छे होइन र पनि उहाँप्रति समर्पित प्रेम सत्य थियो। फनफनी घुमेर दोहोर्याई तेहेर्याई मन्दिर परिसरमा खोजेँ तर देखिनँ भेटिनँ। उहाँले चलाउने गाडा चाहिँ देखियो। एउटा टायर पन्चर भएर घोप्टिरहेको थियो।
गाडालाई पानीबाट जोगाउन ओढेको प्लास्टिक फुंग उडेको रंग बोकेर मन्दिर छेउमा अवस्थित बिजुलीको पोलबाट लत्रेको तारमा अड्केर बसेको देखियो।
केही बेर नमिठो मानेर बसे त्यहीँ मन्दिरको पटाङ्गिनीमा। अलिकति निकट विगतमा बिताएको ती बुढी आमाको सम्झनालाई मौजुदा समयको साथ घोलेर पिएँ।
जुरुक्क उठेर हिँडे पुग्नु पर्ने गन्तव्यको सडक नाप्दै। आफन्तको डेरामा एक्कासि पुगेको देखेर सबै जना अक्क न बक्क भएका थिए। उनीहरूको आशंका कतै केही राम्रो नराम्रो खबर लिएर आयो कि भनेर।
तर त्यस्तो कुरा केही थिएन उहाँहरूलाई बताउनु पर्ने। एउटा नक्कली बहाना बनाएर पेस गरेँ। म त्यहीँ कारणले आएको भनेर भनिदिएँ।
केही दिन काठमाडौँ बसेँ। बसेको प्रत्येक दिन साँझ-बिहान उहीँ ठाउँमा आँखा बिछ्याइरहेँ। कतै ती बुढी आमालाई देखिन्छ कि भेटिन्छ कि भनेर। तर कहिल्यै भेट भएन बसुन्जेल। ठेगाना सोध्न सम्भव थिएन उहाँको। किनभने उहाँलाई मात्रै भेटेको थिएँ। उहाँले भन्नुभएको डेरा भएको स्थान पनि आठ-दश पटक परिक्रमा गरेँ। केही पत्ता लाउन सकिनँ।
यहीँ निर्दयी सहरमा छन् कि गाउँ फर्किनु भयो थाह पाउन सकिनँ। यो दुनियाँमा हुनुहुन्छ कि हुनुहुन्न समेत थाहा पाउन सकिनँ। मैले जुन ठाउँमा भेटेको थिएँ ती आमा त्यो ठाउँमा थिइनन्।
त्यो घटना बेहोरेको धेरै समय भइसकेको छ। अचेल पनि संयोग बस् त्यो ठाउँमा पुग्दा रगतको नातादेखि धेरै टाढाकी बुढी आमाको सम्झना सियो बनेर मनमा चसक्क घोच्ने गर्दछ।