स्वयं संगीतको स्रोत हुँ
तर
यति पनि स्वतन्त्र छैन कि
आफ्नै धुन गुनगुनाउन सकूँ
मबाट निसृत धुनहरू
मेरो स्वत्वमाथि
निर्धक्क सलबलाउने
निरंकुश शासकजस्ता
निर्दयी औँलाहरूद्वारा निर्धारित हुन्छन्
मदारीले झैँ
स्वाधीनताको धुनमाथि
जब स्वेच्छाचारी चाबुक चलाउँछौँ
इच्छाका निजी धुनहरू दबाएर
तिम्रै धुन भुनभुनाउन थाल्छु
तिम्रा उन्मत्त औँलाहरू
बिस्मातमा पनि मैसँग खेल्छन्
खुसी हुँदा पनि मैमाथि रजाइँ गर्छन्
मेरो नाजुकता माथि
तिमी
औँला चलाउँछौ कि जादु?
ममाथि
यसरी नचाउँछौ कि औँलाहरू
तिम्रो खुसीमा
दबाएर पीडाको करुण धुन
खुसीको धुन झुनझुनाउन थाल्छु
तिमी दुखी हुँदा
गुम्साएर सारा खुसीहरू
विरहको धुन गुनगुनाउन थाल्छु
मनको आकाशमा
विरहको बादल मडारिएको बेला
भावनाका घायल तारहरूमाथि
तिमी
भैरव रागका औँलाहरू नचाउँछौ
तब
तिम्रै लागि
समर्पणको गीत गाउन अभिशप्त हुन्छु
आजसम्म
जति पनि संगीत भरेँ
ती सबै संगीतहरू
मेरो चाहनाका संगीत होइनन्
आजसम्म
जति पनि धुन सृजना गरेँ
ती सबै धुनहरू
मेरा इच्छित धुनहरू होइनन्
कुनै दिन रेट्दा रेट्दै भएँ भने खुकुलो
बज्दा बज्दै सुनिएँ भने कर्कश स्वर
तन्किँदा तन्किँदै चुँडिएँ भने झिनो तार
तिमी सजिलै नयाँ खरिद गर्छौ
र बिर्सिदिन्छौ पुरानोलाई
तर
कसरी सक्छु म तिमीलाई बिर्सिन
जब कि
तिमीले
दाबिएर छाडेका दबाब डोबहरू
यादका फ्रेट्सहरूमा दुखिरहन्छन्।