अरू बेला सुस्ताए झैँ हुने शैक्षिक सुधारको कुरा
सालिन्दा झैँ यसपालि पनि
एसइई र कक्षा १२ को नतिजा प्रकाशित भएसँगै
ह्वात्तै बढेको छ,
विभिन्न शैक्षिक संस्थाहरूमा,
पत्रपत्रिकामा, सामाजिक सञ्जालमा,
चिया चौतारीमा अनि औपचारिक र अनौपचारिक मञ्चहरूमा,
दुवै तहका परीक्षामा सहभागी भएका
आधि भन्दा बढी विद्यार्थी अनुत्तीर्ण भएपछि,
यही नतिजामा टेकेर अविराम बहस चलिरहेकै छ,
शैक्षिक प्रणाली र विद्यार्थी नतिजाको सम्बन्धमा
परीक्षा प्रणाली र शैक्षिक गुणस्तरको सम्बन्धमा
र, यी अनुत्तरित प्रश्नहरूमा
'विद्यार्थी फेल भएका हुन् कि शिक्षक फेल भएका हुन्?
पाठ्यक्रम फेल भएको हो कि शिक्षा मन्त्रालय फेल भएको हो?
हाम्रो शिक्षा नीति या सरकार को फेल भएको हो?'
बहसहरूमा दोषारोपणको वर्षा छ
केवल शिक्षककै कमजोरीका कारण
विद्यार्थी फेल भएको हुन् भन्ने सङ्गिन आरोप छ
शिक्षकलाई दोषी करार गर्दै
विभिन्न उपनामले बदनाम गर्ने रङ्गिन माहौल छ
शिक्षकलाई गालीगलौज र निरुत्साहित गर्ने उपक्रम जारी छ,
शैक्षिक गुणस्तर खस्कनु र नतिजा बिग्रनुको
एक दोषी पात्र पक्कै पनि शिक्षक हो
आफ्नो भागमा पर्ने दोषबाट हामी शिक्षक उम्कन्न मिल्दैन,
तर, योभन्दा बढी शिक्षकलाई शिक्षक भएर होइन
राजनीतिक दलको बफादार कार्यकर्ता बन्न, बनाउन बाध्य पार्ने
हाम्रो राजनीतिक प्रणाली मुख्य दोषी हो,
सेवा, सुरक्षा र आत्मसम्मानमा चोट पुर्याउने
शिक्षण पेसालाई हेय नजरले हेर्ने
विभेदकारी दृष्टि पनि दोषी हो,
शिक्षकलाई गाली मात्र गर्ने
मोफसलमा रहेर समस्याको माझ पनि
शैक्षिक सुधारमा क्रियाशील रहेका इमानदार शिक्षकहरूलाई
नजर अन्दाज गर्दै निरन्तर धारे हात लाउने
अनि शैक्षिक सुधारको मार्गचित्र दिन नसक्ने
सहरिया शिक्षाविद् दोषी हो
शैक्षिक सुधारको लागि ठोस कार्य योजना ल्याउन नसक्ने
शिक्षा मन्त्रालय दोषी हो,
र, शिक्षालाई कहिले प्राथमिकता राख्न नसक्ने, नराख्ने सरकार प्रमुख दोषी हो
हामी त एकले अर्कालाई दोष लाउँदै
पानी माथिको ओभानो बन्न अभ्यस्त छौँ
दोषादोषमा समय बिताइरहेका छौँ
आफ्नो कमजोरी लुकाएका छौँ, छोपेका छौँ
डोकोले छोपेर के छोपिन्थ्यो र हाम्रा कमजोरी!
तर पनि छोपे झैँ गरिरहेछौँ।
शिक्षण पेसालाई मर्यादित होइन अपमानित नाइरहेका छौँ
मेधावी जनशक्ति होइन कमजोर जनशक्ति भित्र्याएर
हामीले विगतदेखि नै अपराध कर्म गरिरहेका छौँ
शिक्षण पेसालाई पनि जागिरे पेसा बनाएर
शिक्षकलाई पेसाकर्मी भन्दा दलका कार्यकर्ता बनाएर
हो, हामीले अक्षम्य अपराध गरिरहेका छौँ।
गुणस्तरीय शिक्षक विना गुणस्तरीय शिक्षण सम्भव हुँदैन भन्ने
धरातलीय यथार्थलाई बेवास्ता गर्दै
शिक्षालयलाई हामी राजनीतिक दलले कार्यकर्ता भर्तिकेन्द्र बनायौँ
राजनीतिक गतिविधिको घोषित स्थल बनायौँ
र दलगत झन्डा फरफरायौँ
राजनीतिक दलको छत्रछायामा रहँदा बस्दा
हामी शिक्षक पनि शिक्षण पेसाप्रति भन्दा
राजनीतिक दलको बफादार कार्यकर्ता बन्यौ, बनाइयौँ
दशकौँदेखि बिग्रिएको नेपालको सार्वजनिक शिक्षा सुधार्न
अब आरोप र प्रत्यारोप होइन
सामूहिक, सार्थक र हस्तक्षेपकारी अभियानको खाँचो छ,
त्यो भनेको राजनीति हस्तक्षेपमुक्त शिक्षा क्षेत्र हो,
आवश्यकताअनुसार विषयगत दरबन्दीको व्यवस्थापन हो,
गुणस्तरीय शिक्षक, गुणस्तरीय पाठ्यक्रम हो,
सिकारुको मनोभावलाई आत्मसात् गर्न सक्ने
एक्काइसौँ शताब्दी सापेक्ष शिक्षण सिकाइ हो,
योग्य, काबिल र अधिकार सम्पन्न प्रधानाध्यापकको व्यवस्थापन हो,
शिक्षकको पेसागत सुरक्षा, सम्मान र प्रोत्साहनसँगै
शैक्षिक सुधारको जिम्मा लिने तिनै तहको सरकारको एकीकृत प्रयत्न हो
र, विद्यालयीय शिक्षालाई व्यवस्थित गर्ने गरी
शिक्षकका जायज माग समेटिएको नयाँ शिक्षा ऐन हो
अनि शैक्षिक गुणस्तरमा सम्झौता नगर्ने,
शैक्षिक सुधारको लागि निरन्तर क्रियाशील विश्वसनीय संयन्त्र हो,
नेपाली माटो सुहाउँदो मौलिक शिक्षा प्रणाली निर्माण र कार्यान्वयन हो,
अरू त केवल केही नतिजा नदिने
र, कहिले नटुङ्गिने फगत अविराम बहस मात्र हो।