परदेश यस्तो ठाउँ हो जहाँ प्रेम र परिवार बिचको अन्तर छुट्टाइदिन्छ। देशको अवस्था नै त्यस्तै हो कि आफू नै अयोग्य भएर हो विदेशी बन्न रहर नहुँदा नहुँदै देश छाडेर हिँड्न पर्यो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म आइपुग्दा मलाई सबै कुरा सामान्य लागिरहेको थियो। जब बुवाले ‘बाबु, राम्रोसँग जाऊ है’ भन्दै खादा ओढाइदिनु भयो त्यसपछि मलाई भित्रभित्रै नदेखिएको घाउले पोले जस्तै बिस्तारै पोल्न थाल्यो।
त्यो चाउरी परेको मलिनो अनुहार, फुलेको कपाल, नमिलाएका दारी र टिलपिल गरेका आँखा अनि मलाई नरमाइलो नलागोस् भनेर छरिएको त्यो ओठको झुटो मुस्कान। बुवाका ती आँखा टिलपिलाएका देख्दा मलाई उहाँसँग झम्टेर रुने चाहना थियो। तर म त त्यही बुवाको छोरो पो जसले आफ्नो प्राणभन्दा प्यारो सन्तानलाई ६५ वर्षको उमेरमा विमानस्थलमा बिदाइको खादा ओढाउँदै गर्दा पनि रुन सक्नु भएको थिएन।
अनि म कसरी रुन सक्थेँ र?
यसरी २५ रुपैयाँको खादा काँधमा बुवाले राखिदिँदा २५ लाखको कर्जा, बुवाले २५ वर्षसम्म गरेको संघर्ष, आमाले २५ वर्षदेखि देखेका सपना बोकेर मनमा हजारौँ कुरा खेलाउँदै देश छोड्दै गर्दा दिदी-बहिनी, परिवारको अथाह माया साथसाथै ५ वर्षको प्रेम पनि आशाको त्यान्द्रो र भरोसाको लट्ठा कसेर छाडेर जाँदै थिएँ।
आमाले ‘बाबु, घिउ राखिदिऊँ कि दूधसँग खाने?’ भनेर कोठाको ढोका ढकढक्याउँदा पनि ‘ह्या खान्न म’ भन्दै थर्काउने छोरो आज सात समुद्रपारि बेलुकाको बासी रोटी र चिसो तरकारी पनि सजिलै निल्न सक्ने भएको छ। बुवाले ‘बाबु जा त आज त्यो खेतको आली खन्’ भन्दा १५ मिनेटमा अल्छी लाग्यो भन्दै झर्किने म अहिले ९ घण्टा लगातार खटिन सक्ने भएँ। प्रेमिकासँग प्रत्येक घण्टा कि कल नभए एसएमएस नहुँदा निहुँ खोज्ने म २४ घण्टामा एउटा म्यासेज आउँदा पनि निर्धक्क भएर बस्न सक्ने भएँ।
साँच्चिकै परदेशले परिपक्वता र व्यवहारिकतामा निखार ल्याउँदो रहेछ।
साथीहरूले समुद्रको किनार र सफा चिल्ला सडक अनि मन लोभ्याउने ब्याकग्राउन्डमा मुसुक्क हाँसेको फोटो खिचेर हाल्दा लाग्थ्यो- आहा! केटाहरूलाई मोज छ, म भने नेपालमै हल्लिराख्या छु! तर वास्तविकता यति तितो छ कि नेपाल बस्नेहरूले कल्पना पनि गर्न सकिँदैन; चिल्लो सडकको पछाडि लुकेको खस्रोपना, ठुलो समुद्र त देखिन्छ तर त्यो पछाडि लुकेका ठुला समस्याहरू, आइफोनले टलक्क पारेर मुसुक्क हाँसेको तस्बिर पछिका वेदनाहरू जो परदेश छ उसले मात्रै बुझ्छ। खयर यी सबै सजिलै पचाउन पनि सिकाउँदो रहेछ परदेशले।
परदेशले परिवार के हो सिकाउँछ अनि प्रेम के हो चिनाउँदो रहेछ।
९ घण्टाको लगातार काम सकेपछि थकित र गलेको शरीरले सबैभन्दा पहिला आमा खोज्दो रहेछ। ‘आमा’ लेख्दै गर्दा पनि आँखा टिलपिलाइरहेका छन्। सायद आमा छाडेर पहिलो पटक टाढा आएर होला।
विदेश आउनुभन्दा अगाडि आमालाई भनेको थिएँ ‘आमा मैले कम्प्युटर जानेको छु, अलिअलि अङ्ग्रेजी पनि जानेको छु। मेरो त अफिसमा बस्ने काम हुन्छ तपाईं नआत्तिनु है।’
आमा ढुक्क हुनुहुन्छ मेरो अफिसमा काम हुन्छ भनेर। तर यो ९ घण्टा फिल्डमा काम गरेर गलेका खुट्टा, चड्केको टाउको, दुखेको कम्मर, भोकाएको पेटले गिज्याइराखेका हुन्छन् ती आमासँग बोलेका झुटहरूलाई। सायद होमसिक भएर होला मन भक्कानिएर आउँछ। कहिलेकाहीँ त डाको छोडेर रुन पनि मन लाग्छ। आफूसँग भएका दुःख गुनासोहरू कसलाई पोखूँ, कसलाई सुनाऊँ, कोसँग रोऊँ लाग्छ।
आमासँग रुन सक्दिनँ पिर मान्छिन्। बाबालाई आफू कमजोर भएको आभास नै गराउन चाहन्नँ। परिवारलाई सबै समस्या, भोगेका पीडा, आफूलाई महसुस भएको अप्ठ्यारो, पछुतो म सुनाउन नै चाहन्नँ किनकि मेरो खुसीको लागि उनीहरू अनि उनीहरूको खुसीको लागि म हो। साथीहरूको अगाडि स्मार्ट बन्नै पर्यो।
यी सबै बाहेक एक जना हुँदो रहेछ पत्नी वा प्रेमिका जसलाई केही नलुकाई भनूँ झैँ लाग्ने। फोनमै भए पनि भक्कानिएर उसको अगाडि रोऊँ झैँ लाग्ने। उसले के सोच्दी हो! उसले दुःख देखाएर बहाना बनाउँछ भन्ने सोच्दी हो कि! सोचोस् तर मैले आमा-बुवा पछिको सबैभन्दा बढी विश्वास र भरोसा गर्ने ऊ हो। मलाई उसको अघि बच्चा जस्तै रुन मन छ, म रुन सकूँ।
बा-आमाका अगाडि थामेर राखेका आँसु उसको अगाडि पोख्न मन छ, म पोख्न सकूँ। सबैलाई खुसी मात्रै देखाउँदा खुसीसँगै पीडा पनि बुझिदिने ऊ बनोस्। संघर्षमा लडखडाइराखेका पाइला सम्हाल्न उसको सहारा मिलोस् ता कि पछि सफलतामा सहजै सँगै पाइला चाल्न सकूँ। उसले बुझोस्, भरोसा राखोस् ममाथि।
साँच्चिकै प्रेम के हो उसले आभास गराओस्। प्रेमी होस् त यस्तै होस्। यति सहन गर्न नसक्ने प्रेमी नै होइन, त्यो प्रेम नै होइन। फेरि प्रश्न आउन सक्छ- प्रेमी नै नभएका वा पति पत्नी नै नभएको ले कसलाई दुःख पोख्ने?
माथि मैले भनेको त मेरा अपेक्षा मात्रै हो। वास्तवमा आफू नै आफ्नो विश्वास हो। आफू नै खुसी हो। आफू नै दुखी हो। आफू नै सत्य हो। आफै लड्ने हो अनि आफै उठ्ने हो। प्रेम भ्रम हो अनि आफू वास्तविकता हो। परदेशले आफू, परिवार र प्रेम सबै चिन्न सिकाउँछ।