केही समयअघि कक्षाकोठाभरि विद्यार्थीका अनुहार हुन्थे
अहिले ती अनुहार पातलिँदै गएका छन्
अब मैले कसलाई पढाऊँ?
म शिक्षण पेसाको एक चालक
गाडीमा दुई-चार यात्रु बोकेर
गन्तव्यको यात्रा गर्नु छ
सरकारले लाखौँ लगानी गरेको
शिक्षाको सडकमा कसरी गाडी चलाऊँ?
सरकारले खटाएको मलाई
आफ्नो दरबन्दी जोगाउन
रित्तिँदै गएका मानिसहरूको ठाउँमा
म कहाँबाट विद्यार्थी खोजेर ल्याऊँ?
म एक नेपाली विषय शिक्षक
शब्द भण्डार अन्तर्गत विद्यार्थीलाई बुझाएथेँ
विपरीत शब्दार्थ
गाउँको सहर
देशको विदेश
सुख दुःख
गरिब धनी
जित हार
आत्मनिर्भर परनिर्भर
शिक्षक विद्यार्थी (आदि)
तर विपरीत ध्रुवमा हुनुपर्ने यी कुराहरूमा
यहाँ गाउँलाई सहरले तान्यो
सहरले फेरि विदेश छान्यो।
यदि गाउँ रित्याएर सहरमा भरियौँ भने
सहर धेरै निसास्सिनेछ
गाउँको अर्थ नै हराउने छ
देश छाडेर विदेश गयौँ भने
नेपाल मातृभूमिको पहिचान सकिने छ!
सामाजिक व्यवहारमा गरिबीको उपनाम भोगेका
बालबालिकालाई सिकाएथेँ
बाबु नानी
धेरै धन हुँदैमा कोही धनी हुँदैन
जो जससँग जे कुराको अभाव छ त्यही गरिब हो
तिमीहरू सबैमा कुनै न कुनै चिज छ, त्यसैले तिमी गरिब होइनौ।
तर
आज धनी हुन र सुखी हुन जीवनयापनका लागि
धन कमाउन हरेक युवाको मन मस्तिष्कमा
देशका अगाडि ‘वि’ उपसर्ग लागेको छ
अब म ती युवा शक्तिलाई के भनेर सम्झाऊँ?
हारका खुड्किलाबाटै विजयको शिखर चुम्न सकिन्छ भनेर ढाडस दिने म
आत्मनिर्भर बन्नुपर्छ भन्दै गर्दा
मेरै पाठ्यक्रमले नै देश विकास गर्ने
मार्गचित्र कोर्न सकेन कि?
यी सब कुरा अब केका लागि सिकाऊँ?
तिमी बाहिर गएर जति पैसा कमाए पनि
तिम्रो जीवनशैली फेरिए पनि
आफ्नो जन्मभूमि नै आत्मनिर्भर बन्न सकेन भने
तिम्रो मनले कसरी मान्ला?
आफ्नै देशमा कर्म गर्नुपर्छ भनी
त्यो मनमा म कति आदर्श राष्ट्र प्रेम जगाऊँ?
तिमी शरीर भए म आत्मा
जब देह र आत्माको मिलन हुन्छ
तब न जीवनको अस्तित्व हुन्छ
प्राण नभएको शरीर निर्जीव हुन्छ काम लाग्दैन
त्यसो त विज्ञानले मन नभएका रोबर्ट पनि आविष्कार गरिसकेको छ
यद्यपि शरीर बिनाको आत्मा पनि शान्त रहन सक्दैन
अब त शिक्षक र विद्यार्थीको सम्बन्ध नै हराउँछ कि भनेर डर लागेको छ
आत्मा कहिल्यै मर्दैन भनेर बुझेको मैले
एक दिन आफ्नै अस्तित्व सकिन्छ कि
भनेर समयको त्यो उत्कर्षलाई देखिरहेछु
यो मनमा दन्किरहेको आगोको ज्वाला कहाँ गएर निभाऊँ?
अहिले म उभिरहेको धरातल जोगाउन
सगरमाथाको गौरव अझै माथि उठाउन
कलिला बालबालिकाको भविष्यमा
आफ्नै देशमा बाँच्न सकिन्छ भन्ने हिम्मत जुटाउन कोसिस गर्दै छु।
सिङ्गो देशमा रङ भर्न
जम्मा गर्दै छु
यहीँ धर्तीको हरियाली
आकाशको विराट स्वरूप
अनि सूर्यको सुनौलो प्रकाश!
म सबैलाई आह्वान गर्छु
लगातार झरी पार्ने बादललाई पहाड बनेर छेकौँ
केही समयको लागि आएको बाढीलाई बस्तीमा पर्खाल भएर रोकौँ
विद्याको मन्दिरबाट सच्चा देशभक्तको भावना भरौँ
कोरा ज्ञानका बीउ मात्र नछरौँ
सीप, उद्यम, साझेदार र मौलिकताको
पनि बीजारोपण गरौँ।