तपाईं घरको कुन सन्तानमा पर्नुहुन्छ? जेठो/जेठी, माइलो/माइली वा कान्छो/कान्छी? अरू त ठिकै छ बीचको माइलो/माइली हुनुहुन्छ भने चाहिँ मेरो भोगाइसँग मेल खानेछ। कहिले रूवाउने त कहिले हँसाउने।
म घरकी माइली छोरी, मभन्दा माथि दिदी र तल भाइ छ। जन्मिएर यत्रो भएर हुर्किंदासम्म आफ्नो भोगाइ सुनाउने मौका नै मिलेन। लाग्थ्यो पहाडका कथा सुनिदिने रनबन छन्, सागरका कथा सुनिदिने किनार छन्, सारंगीका कथा सुनिदिने गीतहरू छन् अनि दिदीको कुरा सुनिदिने बुवा हुनुहुन्छ। अर्कोतिर भाइको कुरा सुनिदिने आमा छिन् तर मेरो कथा सुनिदिने भित्ता मात्रै थियो।
कथाको के नै कुरा भयो। घरमा सुनिदिने मान्छे नपाएर प्रतियोगितामा भाग लिनुअघि मैले कविता सुरूमा भित्तालाई नै सुनाएको थिएँ।
जन्मदेखिको कुरा गरौं न।
दिदी जन्मिँदा पहिलो सन्तान भनेर घरमा सबैले खुसी मनाइयो रे। हजुरबा-हजुरआमाले पनि बालाई आमाको ख्याल गर्न लगाए रे। सुत्केरी आमालाई घिउ खोजेर खुवाउनदेखि मासु र मसलाहरू बोकेर आउनेको त ओइरै लागेको थियो रे।
पहिलो सन्तान हेर्न आउनेको पनि भिड पनि उस्तै थियो रे। तर म जन्मिँदा छिमेकीले पनि पत्तै पाएनन् रे। छोरा जन्मेला भन्ने आसमा बसेका हजुरबा-हजुरआमाले समेत नाक खुम्च्याए रे।
तर भाइ जन्मिएको मैले पनि अलिअलि थाहा पाएकी थिएँ। घरमा सबैले मुखै उज्यालो बनाएका थिए। आँगन मान्छेले भरिभराउ थियो।
'लौ बल्ल पाल्ने छोरो जन्मियो' भन्दै बाआमालाई फुर्क्याएको सुन्थेँ। अरू त अरू दसैंमा मात्र चाख्न पाउने खसीको मासु त्यतिबेला बिना सित्ति खान पाएका थियौं।
बामे सर्दै गर्दा भाइले पाएको खेलौना हेर्दै आफू सानो हुँदा खेल्न नपाएका खिन्नताहरू मन भित्रै गुम्साएको थिएँ। बिस्तारै दिदी बासँग र भाइ आमासँग नजिक हुँदै गए। अनि म चाहिँ टौवाको खाँबोसँग। मन अमिलो भएर आउँदा त्यहिँ खाँबोलाई अँगालो हालेर रून्थेँ।
सानोमा दिदी ठूली भएका कारण देउसी खेल्न र पिक्निक जान छुट थियो। दिदी यताउता गाउँ डुलेपछि घरमा पानी ल्याउने, पँधेरा जाने, घाँस-दाउरा लिन वन जाने, लुगा धुन खोला जाने काम मेरै हुन्थ्यो। तर कहिलेकाहीँ दिदीले मलाई लुगा धुन खोला लिएर जान्थि। ऊ साथीहरूसँग जिस्किएर बस्थी अनि सबै काम मलाई लगाउँथी। तर ती सबै कुरा घरमा आएर भन्न सक्दिँनथेँ।
जब दिदीले एसएलसी पास गरी तब ठूली छोरीले बाटो देखाउँछे भनेर उसलाई काठमाडौं पठाए। तर बहिनीलाई सँगै डेरामा राखेर पढा भनेर एक बचन घरमा कसैलेे भन्न सकेनन्। म छ कक्षामा सरकारी स्कुलमा पढि नै रहेँ।तर भाइलाई भने एक कक्षामाम प्राइभ्रेट स्कुलमा भर्ना गरिदिए।
तर म भाइको नयाँ किताहरू सुघ्थेँ, एकदमै मगमग बास्ना आउँथ्यो। भाइको स्कुलको ड्रेसको टाई सुम्सुम्याउँथेँ। बेल्टको बुट्टाहरू हेरेर बस्थेँ। तर भाइको कालो जुत्तामा मैले नै पालिस लगाइदिन्थेँ। आफ्नो पहिलो क्लास हापेरै भाइलाई स्कुल पुर्याउन जान्थेँ। तै पनि दोष पाउथेँ।
भाई दिनभरी धुलोमा लडिबुडी गरेर आउँथ्यो। लुगा धोएर सुकाइदिन्थेँ। भाईलाई जबर्जस्ती दूध पिलाउँथे तर म भने भट्टको झोलमा भात निलेर उठ्नुपर्थ्यो। म कहिल्यै मोटो घाटो भइनँ, भाइ जस्तो खाइलाग्दो पनि भइनँ। अनि घरकाले छिमेकले नाम राख्दिए, लुरी माइली भनेर।
मैले एसएलसीमा स्कुल टप गर्दा पनि बा खुसी थिएनन्। मलाई अब काठमाडौं पढाउनु पठाउँदा खर्च धान्न गाह्रो हुन्छ भनेर। आमा त झनै बेखुसी। म काठमाडौं गए घरको सबै काम आफ्नै थाप्लोमा पर्छ भनेर।
तर समाजका अघि नाक मुख देखाउन भने पनि बाले मेरो काठमाडौंको टिकट काटिदिए। दिदीले प्लस-टुमा आफैले रोजेको विषय म्यानेजमेन्ट पढेकी थिई। र अष्ट्रेलिया जाने तयारी गर्दै थिई। मैले भने आँट गरेर विज्ञान पढेँ।डाक्टरी पढ्ने इच्छा थियो तर अष्ट्रेलिया जान लागेकी दिदीको लागि ऋण खोजेका बाले मेरा लागि केही गर्न सकेनन्। बरू प्लस-टुपछि कृषि पढ भनेर उक्साए। डाक्टरी पढ्ने छात्रवृत्ति कोटा थोरै थियो। तर घरकाले नै वास्ता नगरेपछि कसको के लाग्थ्यो। डाक्टर बन्ने सपना त्यागेर काठमाडौंकै सरकारी क्याम्पसमा कृषि पढ्न थालेँ।
जब भाइ पनि काठमाडौं आयो हामी तीनजना सँगै भयौं। दिदीको भिसा लागिसकेको थिएन। घरबाट घर खर्च र भाइ लागि पाकेट मनी भनेर छुट्टै पैसा सबै दिदीको नाममा आउँथ्यो।
तर मेरो लागि पठाइन्न थियो। यता न उताको हुँदै चाहिने पैसा रोइकराइ गरेर माग्नुपर्थ्यो।
दिदीमा विदेशी रौनक चढिसकेको थियो। भाइ बाइकमा अवरा बनेर हिँड्थ्यो। घरमा तरकारी ल्याएर पकाउनेदेखि लिएर फोहोर फाल्ने, पानी थाप्ने सबै काम एक्लैले गर्नुपर्थ्यो। अनि बाआमा काठमाडौँ आउँदा कोठा फोहोर राखेको भन्दै ममाथि नै रिस पोख्नुहुन्थ्यो।
सिरकले मुख छोपेर रुन्थेँ। तर पनि दिदी र भाइले ममाथि कहिल्यै साहनुभूति देखाएनन्। कहिलेकाही त माइली भएर जन्मिनु अभिशाप हो कि जस्तो लाग्थ्यो।
नमान्दा नमान्दै भाइलाई धान खाने खेत बेचेर डाक्टरी पढाए। दिदी पनि अष्ट्रेलिया गई। मैले कृषि पढ्दै गएँ। हेला गरिने विषय भए पनि त्यसैमा मास्टर्स पनि सकेँ। केही वर्ष विषय विज्ञका रूपमा विभिन्न संस्थाहरूमा काम गरेँ।अनि लोक सेवामा नाम निकालेर कृषि अधिकृतका रूपमा गाउँ नजिकै कार्यरत छु।
भाइ पनि अस्ति भर्खरै अमेरिका उड्यो। डाक्टरी भ्याएपछि यता भविष्य छैन भन्दै हिँडेको भाइलाई पुर्याउन एयरपोर्ट पुगेका बा-आमा धुरधरी आँसु झार्दै घर फर्किए। तर लोकसेवामा हजारौंलाई पछि पार्दै घर छेउमा जागिर खाएकी छोरीप्रति गर्व समेत गरेनन्।
अफसोचको कुञ्जहरू हुँदाहुँदै पनि बाआमालाई हेरबिचार गर्ने, तातो पानी तताएर खुवाउने म नै छु यहाँ। तर बालाई ठूली छोरीसँग र आमालाई कान्छोसँग भिडियोकलमा कुरा नगरी भात नै रूच्दैन। अनुहार नहेरी निन्दै पर्दैन।
विदेशबाट एक पैसा पठाउने पनि होइन न फर्किएर नेपाल नै आउँछन् तैपनि बाआमा उनीहरूलाई नै मरिहत्ते गर्छन्। कहिलेकाहीँ मुसुक्क हाँसिदिन्छु। म दोषहरू खेप्दै दुःखहरू संगाल्दै कत्ति खर्चको बोझ नउठाई घर सम्हाल्ने त माइला/माइलीहरूले नै पो रैछ कि जस्तो लाग्छ।
'यो लुरी माइलीले केही गर्न सकिनँ, हामीलाई नै स्याहारेर बस्नी भई' भनेर बाआमाले मुटु नै घोच्ने गरी भन्दा पनि गर्वले छाती धक्क फुल्छ।