गाउँ छोडेर मात्र म सहर आएको हैन
मेरो आमाको हातको मिठो खाना
मैले गल्ती गर्दा कराउने बाबाको गाली
सँगैको दौँतरी साथी
बुढ्यौलीले छोएको वृद्ध हजुरबाको जवान बोली
सबै छोडेर आएको
केही ऋण छ तिमीप्रति
केही यो भूमिप्रति
यहीँ तिर्न वाजबी
बन्न आएको
बथानबाट छुटिएको
बाछो जस्तै
न्यानो गुँडलाई छोडेर बेमौसमी
वातावरणमा जिउने कला सिक्न आएको
मैले मात्र देखेको सपना
संसारलाई देखाउन आएको
म एकै छिन बाहिर निस्कँदा
कता गएछ यो भनेर खोज्ने आँखालाई
प्रतीक्षाको बोटमुनि
केही छिन पर्खाएर आएको
हजुरआमासँग घाँस झार्न जाने लाठे नाति
हजुरआमालाई एक्लै वनमा छोडेर आएको
दुःखलाई दूर गर्ने
दौडमा भाग लिन दूरबाटै आएको
घाम र पानी एकै चोटि आउँछ
तिमीलाई घुर्क्याए जस्तो
कहाँ सजिलो छ र आमा यहाँ
विद्याको चक्र घुमाउन
धनको चक्रले तान्नु पर्छ
अहिले व्यस्त छु म
सरस्वतीलाई बचाउन
लक्ष्मीलाई रुचाउन
एउटा हात बचाउनमा
अर्को हात रिझाउनमा
म चाहिँ परेँ घरको न घाटको बिचमा
बन्द अँध्यारो कोठामा
प्रकाश छिरेको प्वाललाई
स्पर्श गर्न हिँडेको
पात्रो हराएको विद्यालय भित्र
अन्धकार छ
समयमा केही हुँदैन
स्वर्ण सिकाले किन्न नसक्ने यो अमूल्य चिज
दिनका दिन पोखिएर जान्छ
यहाँ मतलबी बसेको ठाउँमा
कसैलाई मतलब हुँदैन
न यहाँ पढाइ राम्रो
न राम्रो भयो कमाइ
भयो त केबल दुइटा नाउमा खुट्टा
दुई दिशा तिर
च्यातियो बाटो
दूध फाटेजस्तो
ऊर्जा शक्ति सामर्थ्य पनि
म कसरी टालौँ लौ भन तिमी
यो समयको दुई धारे बाटो
धैर्यको सियोले
सिउँदै छु लुगा
यौवन ढाक्ने गरी
कर्मको फल खाँदै छु साथी
मुख टर्रो पर्ने गरी
गन्तव्य धमिलो छ
मिर्मिरे बिहान जस्तो
खोलीको माछा मर्छ कि मर्दैन
अँध्यारोमा झटारो भयो
फल झर्छ कि झर्दैन
आसै आसमा यो सार
बाँचेको छ
भविष्यको गर्वमा के छ?
खोज्दै घर छोडेको
अझ
घरको दुःख बुझेको म
फजुल खर्च गर्ने पनि हैन
एक मुखे गोजीमा
एघार मुखे प्वाल छन्
महिना भरिको पसिना महिना पुगेपछि
मैले पोख्नु पर्दैन आफै पोखिन्छ
एकमुस्ट खोला बनेर
एक छाकको सब्जी जोगाउने सोचमा
एक पाइला गाडी भाडा जोगाउँदै हिँडेर जाने म
क्याम्पस जाँदा भोकले माग्दा
साथीभाइ होटेल जाँदा
जाम न मलाई पनि भन्न मन छ
तर मेरो अगाडि बढेको पाइला गोजीले रोक्छ
यहाँ उज्यालो बत्ती किन्छु
बत्ती हालेको कोठा
पढ्नका लागि किताब किन्छु
लेख्न कलम र कापी
त्यही किनेको किताबमा
जलस्रोतको धनी देश भनेर पढ्छु
यहाँ धाराको पानी किन्छु
तताउने छान्ने सबै किन्छु
अझ पानी परेको दिन
बेसार हालेको पानी किन्छु
त कहिले अलकत्रा हालेको
हुँदै भएन भने जार किन्छु
किन्दा किन्दा किन्न सक्ने क्षमता बढाउन
म आफै विदेश बेचिने सोचमा डुब्छु
यो देशमा जन्मेका
बिरुवा सर्न चाहन्छन्
खडेरी लागेको बाँझो माटोको
कथा सुन्छ
घर घरको व्यथा सुन्छु
धेरै जसोको एउटै स्वर गुन्जिन्छ
अवस्थालाई व्यवस्थालाई
कि स्वयम बिरुवालाई
दोष कसलाई
माटोलाई
माटोको रक्षा गर्ने जिम्मेवारी पाएका
छोटे महाराज कि मालीलाई
दोष कसलाई?
संघर्षमय जीवनमा
दुःख पर्दा घर सम्झिन्छु
जिब्रो बिग्रने सब्जीको स्वादमा
आमा तिमीलाई सम्झन्छु
भातको छेउमा सँगै
पाकेको आलुसँग तिमीलाई सम्झन्छु
बिरामीले च्यापेको बेला तिम्रो काख सम्झिन्छु
यो हजारौँको भिडमा
एक्लो महसुस हुँदा तिमीलाई सम्झन्छु
तिम्रो एक शब्द खस्न नपाउँदै टिपेर फकाइहाल्ने म
तर यहाँ हजार शब्दको वर्षा हुँदा पनि
भिजेर नभिजे जस्तो गर्छु
तिमीले अह्राएको काम अटेरीले टाल्ने म
यहाँ कुनै बहानाले टालिँदैन
टालियो भने खाने मार्ग टालिन्छ
घर छोडेको विद्यार्थी जीवन
यसरी बित्दै छ।