उभिएर एक बिन्दुमा
के आँटेको थिएँ
खिच्न
ऐँठनको ग्राफ चङ्गाको
कैद गर्न
अक्षहरूमा संघर्षको पिरामिड
चुँडियो चिन्तनको धागो
र पछारिएँ
उही उद्गम बिन्दुको मझेरीमा!
मलाई खुबै मन पर्छ
वक्र रेखामा
चापको लम्बाइ पाइतालाले नाप्दै नाप्दै हिँड्न
तर
जति माथि चढ्छु
उत्तिकै तल खस्छु
त्यसैले
कक्रिरहेछु अहिले
उही अक्षहरूकै आँगनीमा!
के सोचेको थिएँ
झुन्डाएर धर्मकाँटा
मनको बगैँचामा
मूल्य नाप्छु पञ्चतत्त्वको
अहँ
कहिल्यै पार्न सकिनँ
वल्लो र पल्लो काँटा बराबर
तल-माथि माथि-तल हुँदो रहेछ
सुख दुःख जस्तै!
मसक्कै आँटेको थिएँ
बढाएर
ज्ञानको आयतन
बराबर पार्छु क्षेत्रफल पनि
अनि
लेखेर आगोको मृत्युको इतिहास
फैलाउन सक्छु
निराकार आकाशमा आफ्नो नाम
प्रयास
निरर्थक भयो
डुबेँ शून्यमा!
साँच्चै!
जीवन त
यही शून्य रहेछ।